काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापार २३.३१ प्रतिशतले बढेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले जेठ मसान्तसम्ममा ३९ अर्ब ५९ करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका हुन् ।
अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए ।
जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नयाँ व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा १० अर्ब १६ करोड ६८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ७ अर्ब ९१ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नयाँ व्यापार २८.५१ प्रतिशतले बढेको छ ।
दोस्रोमा धेरै नयाँ व्यापार भित्र्याउने नेशनल लाइफ इन्स्योरन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ७० करोड ३५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको नयाँ व्यापार १९.८४ प्रतिशतले बढेको छ ।
तेस्रोमा धेरै नयाँ व्यापार भित्र्याउने कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) रहेको छ । एलआइसीले २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४१ करोड ६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नयाँ व्यापार २४.०२ प्रतिशतले बढेको छ ।
जेठ मसान्तसम्ममा सूर्यज्योति लाइफले २ अर्ब ८० करोड ५६ लाख रुपैयाँ नयाँ व्यापार भित्र्याएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ नयाँ व्यापार आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नयाँ व्यापार १९.०५ प्रतिशतले बढेको छ ।
त्यस्तै, जेठ मसान्तसम्ममा सिटिजन लाइफले २ अर्ब ४५ करोड २० लाख रुपैयाँ, आइएमई लाइफले २ अबृ २६ करोड ५६ लाख रुपैयाँ, हिमालयन लाइफले २ अर्ब २४ करोड ८३ लाख रुपैयाँ र एसियन लाइफले २ अर्ब १२ करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ८२ करोड ३ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ९० लाख रुपैयाँ नयाँ व्यापार आर्जन गरेका छन् ।
अघिल्लो आवको तुलनामा सिटिजन लाइफको ४१.५४ प्रतिशत, आइएमई लाइफको ७९.१९ प्रतिशत, हिमालयन लाइफको ३.७३ प्रतिशत र एसियन लाइफको ३३.४५ प्रतिशत, रिलायबल नेपाल लाइफको ३७.७० प्रतिशत, सानिमा रिलायन्सको २१.९८ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको २९.३४ प्रतिशतले वृद्धि भएको छ ।
जेठसम्ममा मेट लाइफले १ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ११ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ७ करोड ८७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा मेट लाइफको १४.८८ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १६.४१ प्रतिशत र सन नेपाल लाइफको १७.०३ प्रतिशतले नयाँ व्यापार बढेको छ ।
