मेरो माइक्रोफाइनान्सद्वारा ५ लाख बीमा रकम हस्तान्तरण
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वत्तिीय संस्थाले संस्थाका सदस्य लक्ष्मी देबि सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य लक्ष्मी सुनारको श्रीमान भक्त बहादुर सुनारको मृत्यु दावी बापत ५ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए । मेरोमाइक्रोफानान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्ण प्रसाद उप्रेती र दोधारा-चाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले लक्ष्मी देबीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए । सदस्य लक्ष्मि देबि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय दोधारा-चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध छिन् ।
एनएलजी इन्स्योरेन्सको ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभाले ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको विशेष प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको हालको जारी तथा चुक्ता पूँजी एक अर्ब ४५ करोडबाट बृद्धि गरी २ अर्ब ४२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि भइ २ अर्ब ४२ करोड पुग्नेछ । हकप्रदपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही अनुसार जारी तथा चुक्ता पूँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउनका लागि कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणले कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि प्रारम्भिक अनुमति प्रदान गरिसकेको छ । हकप्रद सेयर निष्काशन पश्चात पनि कम्पनीलाई ८ करोड रुपैयाँ अपुग हुन्छ । उक्त रकम चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर दिएर पुर्याउनेछ ।
रिलायबल लाइफले साउन २३ गतेदेखि २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २६ गते र ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।