
जानकी । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नं ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागू गर्न लागेको हो ।
बाक्लो बस्तीका घर तथा जोखिमयुक्त घर वडा नं ३ र ७ मा बढी भएको हुँदा सुरुआती चरणमा यिनै वडालाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । ‘नगरभित्र अन्य वडाका घर जोखिममा नभएका होइन तर हामीले सुरुआती चरणमा ३ र ७ लाई लिएका छौं, बीमा शुल्कबापत नगरले १५ लाख रुपैयाँसम्मको रकम उपलब्ध गराउनेछ,’ उनले भने ।
सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडामा २० टोलमा सहरी विपद् र भूकम्पको बुझाइको अवस्था थाहा पाउन लक्षित समूह छलफललगायतका क्रियाकलाप गर्दै अगाडि बढेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।
‘अहिले अनुमानित रुपमा आठ सय घर मात्र लिएका छौं, यो सङ्ख्या बढ्न पनि सक्छ,‘रिजालले भने,‘ घनत्व बढी भएका भवन आचारसंहिताभन्दा अघि बनेका घर तथा भवनको विद्युत् आचारसंहिता नभएका घरलाई पहिलो प्राथमिकतामा राखेका छौं ।’
जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागू गर्न लागिएको हो । रासस