इप्पान र बीमक संघबीचको विवाद तत्काल साम्य, हाइड्रोको प्रिमियम दर तोक्न अध्ययन समिति

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पुनर्बीमा कम्पनीले हाइड्रोपावर कम्पनीको पुनर्बीमा गर्न नमान्दा समस्या आएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र बीमक संघबीच भएको जलविद्युत आयोजनाको प्रिमियबारे छलफलमा अध्यक्ष क्षेत्रीले यस्तो बताएका हुन् । ऊर्जा क्षेत्रको विकास होस भन्ने चाहना आफ्नो पनि रहेको तर अहिलेको प्रिमियमा बीमा गर्दा लागत पनि नउठ्ने उनको भनाइ छ । ‘पुनर्बीमा कम्पनीले नेपाली हाइड्रोपावरको पुनर्बीमा गर्नै नमान्दा गाह्रो भएको हो, ऊर्जा क्षेत्रको विकास होस भन्ने चाहना मेरो पनि छ तर, अहिलेको प्रिमियमा बीमा गर्दा लागत पनि उठ्दैन,’ उनले भने । इप्पान अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले गर्ने व्यवसायमा नाफा खोज्नुपर्ने तर, कति नाफा राख्ने भन्ने कुरामा स्पष्ट हुनु पर्ने बताए । उनका अनुसार बीमा कम्पनीले एकातिर प्रिमियम बढाउने अर्को तिर जोखिम क्षेत्र घटाउँदै जाने हो भने स्वीकार गर्न सकिँदैन । कार्कीले भने, ‘हामी बढी प्रिमियम तिर्न पनि तयार छौं तर, भनेको बेला दाबी भुक्तानी पाउने, धेरै भन्दा धेरै कुराको जोखिम बहन गर्ने पोलीसी ल्याउनुस ।’ इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले पुरानै प्रिमियमलाई प्रवद्र्धकले अस्विकार गरेको बेला नयाँ प्रिमियम दरलाई प्रवद्र्धकले कुनै पनि हालतमा नस्वीकार्ने बताए । इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले ६० लाखको गाडी किनेर व्यवसाय गर्ने व्यवसायीले दुर्घटनामा मान्छे नै मारेपनि ढुक्कसँग बस्न सक्ने गरी सम्पूर्ण जोखिम बीमा कम्पनीले लिए जस्तै जलविद्युतमा पनि सबै जोखिम ट्रान्सफर गर्न चाहेको बताएका थिए । उनले अहिले बीमाको प्रिमियम बढाउन खोजेपनि दाबी परेपछि भुक्तानी पाउने न्युनतम वा अधिकतम समय स्पष्ट हुनु पर्ने बताए । यसअघि प्रतिहजारको २ रुपैयाँ मात्र रहेको जलविद्युत बीमाको प्रिमियम दर अहिले ७.५ रुपैयाँसम्म पुर्याउने प्रस्ताव बीमा प्राधिकरणमा पेश गरिएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । एकैपटक २ रुपैयाँबाट साढे ७ रुपैयाँ प्रिमियम र्पुयाउँदा जलविद्युत प्रवद्र्धकलाई पनि मर्का पर्ने उनको भनाइ छ । उनका अनुसार हाललाई साढे ५ रुपैयाँसम्म कायम गरेर जान सकिन्छ । प्रिमियमको विश्वव्यापी ट्रेण्ड विश्लेषण गरेर दर तोक्न एक समिति बनाएर अघि बढ्नु पर्ने उनको धारणा छ । हाललाई प्रति हजारको २ रुपैयाँ प्रिमियम लिने गरी बीमा पोलीसी किन्न इप्पानसँग उनले आग्रह गरे । प्रवद्र्धकहरुले भने समितिले दिएको प्रतिवेदन अनुसार बढेपनि घटेपनि प्रिमियम तिर्न तयार हुनु पर्ने शर्त राखे । प्रिमयमको विवादले धेरै आयोजनाले बीमा नविकरण नगरेपछि बीमक संघका पदाधिकारीहरु इप्पानसँग छलफल गर्न बुधवार इप्पान सचिवालयमा पुगेका हुन् । बीमक संघसँग भएको छलफलमा बीमाको वैज्ञानिक प्रिमियम दर कायम गर्न दुवै पक्षबाट ३/३ जना र २ जना विज्ञ सदस्यसहितको समिति बनाउने सहमति भएको छ । उक्त समितिले सिफारिस गरेको प्रिमियम अहिलेको भन्दा घटि वा बढी भएपनि संघ र इप्पान दुवैले स्वीकार गर्ने बताएका छन् ।

क्रेस्टको लघु जीवन बीमा सेवा सुरु, तल्लो तहसम्म बीमा सेवा पुर्याउने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पु¥याउन कम्पनीलाई सुझाए । प्राधिकरणले नियमन र सहजीकरण दुवैलाई समानान्तर रुपमा लैजाने पनि उनले बताए । समारोहका सभापति तथा कम्पनी अध्यक्ष ऋषिराज मोरले भच्र्युअल सम्बोधनमार्फत समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिए । परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका उक्त वर्गलाई न्यून बीमा शुल्कमा स–सानो बीमांकको बीमालेख जारी गरी उनीहरुको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य कम्पनीको रहेको उनले बताए । कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी दूरदराजका गाउँबस्तीसम्म आफ्ना बीमालेख पु¥याउने पनि बताए । लघु जीवन बीमाको माध्यमबाट देशमा छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्रको पुँजी निमार्णमा योगदान गर्न सकिने धारणा अध्यक्ष मोरले व्यक्त गरे । कम्पनीमा चुस्त दुरुस्त संस्थागत सुशासन तथा पारदर्शिता कायम राखी प्रभावकारी काम कारबाहीमार्फत कम्पनीको प्रतिष्ठा उकास्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष मोरले कम्पनी स्थापनाको क्रममा प्राप्त सहयोगका लागि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीबारे जानकारी दिए । कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमा शुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको जानकारी दिए । कम्पनीले प्रस्तुत गर्ने कम बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्ग आर्थिक रुपमा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । विद्यमान र आगामी दिनमा आउन सक्ने चुनौतीप्रति लक्षीत गर्दै उनले भने, ‘प्रतिष्ठित र स्थापित ठूला जीवन बीमा कम्पनीहरुबाट आउने चुनौतीलाई स्पष्ट उद्देश्य, बलियो मनोबल र संकल्पले अवसरमा परिवर्तन गर्न सकिन्छ ।’ उनले लघु बीमाको तथ्यांकलाई सही विश्लेषण र व्यवस्थापन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीको जनशक्तिमा लगानी गर्नुका साथै प्रोत्साहित गर्ने, निरन्तर सिक्ने तथा कारोबारको आकार बढाउने संस्कारलाई प्रोत्साहित गरेर प्रभावकारी समूह निर्माणमा आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  

मर्जरमा गएका कम्पनीभन्दा एग्रेशिभ बन्दै प्रभु, शिखर र नेशनल इन्स्योरेन्स, बढाए बिजनेश ग्रोथ

काठमाडौं । अधिकांश निर्जीवन बीमा कम्पनीहरु मर्ज भइरहँदा मर्जरमा नगएका कम्पनीहरु थप एग्रेशिभ बन्दै गएका छन् । गत आर्थिक वर्षको बीमा कम्पनीहरुको तथ्यांकले मर्जरमा गएका भन्दा मर्जरमा नगएका कम्पनीहरु व्यवसाय वृद्धिदरमा थप आक्रामक बन्दै गएको पुष्टि गरेको हो । निर्जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार प्रभु, शिखर र नेशनल इन्स्योरेन्सले मर्जर बिनानै व्यवसाय वृद्धिदर बढाएका छन् । मर्जरमा गएका केही कम्पनीहरुको व्यवसाय खस्कँदा नगएका कम्पनीहरुको भने सामान्य प्रतिशतले भनेपनि बिजनेस बढेको छ । अघिल्लो आर्थिक वर्ष(आव) २०७८/७९ को तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा निर्जीवन बीमा व्यवसाय ३.५९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बराबरको बिजनेस संकलन गरेका कम्पनीहरुले गएको आवमा ४० अर्ब ५७ लाख ५२ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । समीक्षा अवधिमा प्रभु इन्स्योरेन्स बिजनेस बढाउनमा सबैभन्दा बढी एग्रेशिभ भएको देखिन्छ । आर्थिक मन्दीको बेलामा पनि इन्स्योरेन्सले अघिल्लो वर्षभन्दा गत वर्ष २२.१९ प्रतिशतले बिजनेस बढाएको छ । अघिल्लो आवमा एक अर्ब ३५ करोड रुपैयाँ बराबरको बिजनेस गरेको प्रभुले गत आवमा एक अर्ब ६५ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । प्रभुपछि सानिमा जीआईसी इन्स्योरेन्स एग्रेशिभ देखिएको छ । मर्जरमा गएकै वर्ष कम्पनीले आफ्नो व्यवसाय १९.४८ प्रतिशतले बढाएको छ । जुन मर्जरमा गएका कम्पनीको तुलनामा सबैभन्दा बढी हो । अघिल्लो वर्ष एक अर्ब क्लबमा रहेको सो कम्पनीले गएको वर्ष दुई अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा परेको छ । अर्थात कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । त्यसपछि नेशनल इन्स्योरेन्स कम्पनीको बिजनेस १२.३२ प्रतिशतले बढेको छ । मर्जर बिनै कम्पनीको बिजनेस सो मात्राले बढेर एक अर्ब बढी प्रिमियम संकलन भएको छ । अघिल्लो आवमा करोडको क्लबमा रहेको कम्पनी गएको आवमा भने अर्बको क्लबमा पर्न सफल भएको छ । नेशनल पछि शिखर इन्स्योरेन्सको बिजनेस वृद्धिदर बढी छ । निर्जीवन बीमा क्षेत्रकै नम्बर वान कम्पनी शिखरले समीक्षा अवधिमा १०.२४ प्रतिशतले आफ्नो व्यवसाय वृद्धि गर्दै आफ्नो ताज कायमै राखेको छ । अघिल्लो आवमा ५ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको शिखरले गत आवमा ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । कुन कम्पनीको कतिले बढ्यो ? शिखरलाई पछ्याउँदै अघि बढी रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले समीक्षा अवधिमा ४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । रकमको आधारमा दोश्रो स्थानमा रहेपनि कम्पनीको बिजनेस भने अघिल्लो आवको तुलनामा घटेको छ । हालै साविकको सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बिजनेस अघिल्लो आवको तुलनामा सामान्य अर्थात २.९५ प्रतिशतले घटेको छ । त्यस्तै, मर्ज भइ बनेको सिद्धार्थ प्रिमियरको पनि बिजनेस ५.०८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको बिजनेस गरेको कम्पनीले गत आवको असार मसान्तसम्ममा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यससँगै सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियर एक अर्काको प्रतिस्पर्धीको रुपमा देखिएका छन् । त्यसैगरी समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको पनि व्यवसाय घटेको छ । कम्पनीको व्यवसाय अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी अर्थात १०.३८ प्रतिशतले घटेको छ । मर्जरमा गएका कम्पनीमध्ये व्यवसाय वृद्धि गर्नेमा सानिमा जीआईसी पछि आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । यी कम्पनीको क्रमशः ९.१४, ६.५३ र २.११ प्रतिशतले बिजनेस बढेको तथ्यांकले देखाउँछ ।