बीमा क्षेत्रले ११ हजारलाई दियो रोजगारी, कुन कम्पनीमा कति छन् कर्मचारी ?
काठमाडौं । पछिल्ला दिनमा बीमाको दायरा बढेसँगै कम्पनी शाखा र कर्मचारीको संख्या पनि बढिरहेको छ । केही वर्षअघि बीमा क्षेत्रमा नयाँ कम्पनी आएपछि बीमा बजार उत्तिकै तरङ्गीत पनि भएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन र नागरिकको जोखिम बहनको क्षमता बढाउन योगदान गरिरहेको नेपालको बीमा क्षेत्रले रोजगारीमार्फत हजारौंलाई आर्थिकरुपमा सक्षम बन्ने आधार समेत दिइरहेको छ । बीमाको क्षेत्रमा क्रमशः बढिरहेको दायरासँगै रोजगारी पाउनेको संख्यामा पनि बढोत्तरी आइरहेको छ । पछिल्लो तथ्यांकअनुसार, नेपालको बीमा क्षेत्रले ११ हजार बढीलाई रोजगार दिएको छ । नेपाल बीमा प्राधिकरणले दिएको जेठ मसान्तसम्मको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा क्षेत्रमा कूल ११ हजार १९९ जनाले रोजगार पाएका हुन् । जसमध्ये जीवन बीमा क्षेत्रमा ५ हजार ६६६ जना कर्मचारी आवद्ध रहेका छन् । जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका १५ वटा कम्पनीमा ती कर्मचारी आवद्ध छन् । जसमध्ये सबैभन्दा बढी कर्मचारी हिमालयन लाइफ इन्स्योरेन्समा रहेका छन् । साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ मर्ज भई बनेको हिमालयन लाइफमा कूल ८०० जना कर्मचारी छन् । उक्त कर्मचारीले कम्पनीको कूल २१८ वटा शाखामार्फत ग्राहकलाई बीमा सेवा दिइरहेका छन् । हिमालयन लाइफ पछि बढी कर्मचारीको दोश्रो सूचीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । १८२ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको इन्स्योरेन्समा कूल ६२२ जना आवद्ध छन् । त्यस्तै, जीवन बीमा क्षेत्रको विभिन्न सूचकमा अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्समा भने ६१२ जना कर्मचारी आवद्ध छन् । कर्मचारी संख्याको आधारमा भने नेपाल लाइफ सबैभन्दा बढी कर्मचारी हुने कम्पनीको तेश्रो सूचीमा देखिन्छ । समीक्षा अवधिमा कम्पनीले १८४ वटा शाखाबाट बीमितहरुलाई बीमा सेवा दिइरहेको छ । सबैभन्दा कम कर्मचारी राष्ट्रिय बीमा संस्थानमा रहेका छन् । २४ वटा शाखाबाट सेवा दिइरहेको कम्पनीले हाल १०२ जना कर्मचारीलाई रोजगार दिएको छ । यता निर्जीवन बीमा क्षेत्रमा ५ हजार ५३३ जनाले रोजगार पाएका छन् । जुन जीवन बीमा क्षेत्रको तुलनामा कम हो । सञ्चालनमा रहेका १४ कम्पनीले देशभर सो संख्यामा रोजगारी दिएका हुन् । जसमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात ६७७ जनालाई रोजगारी दिएको छ । शाखा संख्यासँगै कम्पनीको कर्मचारी संख्या पनि अन्य कम्पनीको तुलनामा बढी देखिएको हो । हाल कम्पनीको कार्यालय शाखा संख्या १२७ रहेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६५२, शिखर इन्स्योरेन्समा ६३०, युनाइटेड अजोड इन्स्योरेन्समा ५६४ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ५०७ जना कर्मचारी आबद्ध रहेका छन् । निर्जीवन बीमा कम्पनीमध्ये नेशनल इन्स्योरेन्समा सबैभन्दा कम कर्मचारी रहेका छन् । १३ वटा शाखा रहेको कम्पनीमा ६६ जना कर्मचारी आवद्ध रहेको प्राधिकरणले जनाएको छ ।
अभिकर्तालाई एकीकृत गर्न प्रभु महालक्ष्मी लाइफले गर्यो अभिकर्ता मिलन समारोह
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साउन २ गते देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकिकृत कारोबार पछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । साउन २ गते झापाको बिर्तामोड, पर्साको बीरगंज, दाङ्गको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागी गराइएको थियो । चारै ठाँउमा भएको कार्यक्रममा सय-सय जना भन्दा बढी अभिकर्ताको उपस्थिति थियो । कार्यक्रममा मर्जर पछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरु, एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो । विर्तामोडमा सोन वहादुर मगर र प्रभाकर न्यौपाने, वीरगंजमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा तथा धनगढीमा किशोर प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षक सबै जना प्रभु महालक्ष्मी लाइफ कम्पनी प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरु भएको जानकारी गराउन चाहन्छौं ।
सलिकोले उठायो साढे ४ अर्ब प्रिमियम, ग्राहकलाई विश्वसनीय सेवा दिने प्रण
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्षमा साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन गरेको छ । साविकको सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भइ बनेको सलिकोले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क अर्थात प्रिमियम उठाउन सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । हालसम्म कम्पनीले ३ लाख ११ हजार ३५८ वटा बीमालेख अर्थात बीमा पोलिसी बिक्री गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ । गत आवमा कम्पनीको नेटवर्थ ५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । कम्पनी हाल स्थापनाकालको २७औं वर्ष पार गरी २८औं वर्षमा प्रवेश गरेको छ । यो अवधिसम्म कम्पनीले देशभरका ११३ वटा शाखाका ६३७ जना कर्मचारीमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ । साथै, २७औं वर्षको अवसरमा सलिकोले आफ्ना ग्राहकहरुलाई थप सशक्त, सबल, गतिशील र विश्वसनीय बीमा सेवा दिने प्रतिवद्धता गरेको छ ।