सिटिजन लाइफको २५७ रुपैयाँमा आईपीओ बिक्री खुला, कति आवेदन दिने ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीले ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कर्मचारीका लागि र बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा सेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले असार २१ देखि २५ गतेसम्म सर्वसाधारणको लागि बिक्री गरेको आइपिओ बाँडफाँड गरिएको हो । धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो कुल पुँजीको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको थियो। जसमा कम्पनीले प्रतिकित्ता २३६।९१ रुपैयाँमा आईपीओ जारी गरेको थियो। सो आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता सेयर माग भएको र ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता सेयर सदर भएको बिक्री प्रबन्धक कम्पनीले जनाएको छ । त्यस्तै, ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता सेयर बदर भएको छ। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट आइपिओको बाँडफाँड गरिएको छ। जसमा ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु, स्वस्थ प्रतिस्पर्धाबीच कारोबार गर्ने विश्वास

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुक्रबार एक संक्षिप्त समारोहकाबीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कम्पनीले एकीकृत कारोबार नयाँ स्थान्तरित केन्द्रीय कार्यालय कमलादीस्थित गणेशथानमा रहेको भवनबाट गरेको हो । एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाकोबीच कारोबार गर्ने आशा व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफको नवगठित सञ्चालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । बीमा बजार झन् झन् प्रतिस्प्रधी हुँदै गइरहेको बताउँदै उनले मर्जरपछि दुबै कम्पनीका कर्मचारीहरुलाई मिलाएर उर्जाशील बनाउने जिम्मेवारी दुबै कम्पनीका कार्यकारी प्रमुखहरुको काँधमा आएको व्यक्त गरे । कार्यक्रममा सञ्चालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टिम पाएको कम्पनीले भविष्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे । त्यस्तै, बीमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गरेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएसँगै साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७९ असार ३० गते मर्जरको लागि सम्झौता गरेका थिए । त्यसपछि दुई कम्पनीले मर्जरको लागि अन्तिम सम्झौता गरी एक वर्षको अवधिमा एकीकृत कारोबार गरेका हुन्। २०८० जेठ २६ गतेको साधारण सभाले एकीकृत कारोबारको प्रस्ताव पारित गरेसँगै कम्पनीले नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई मर्जर कार्य सम्पन्न गरेको हो । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५०० करोड रुपैयाँ पुर्‍याउने निर्देशन जारी गरेको हो । साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ मर्जपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बाँकी पुँजी भने कम्पनीले आईपीओ जारी गरेर पुर्याउने योजना बनाएको छ । मर्जरपछि कम्पनीको कर्मचारी संख्या ४४२ र शाखा उपशाखा मर्जर र बन्द पछि ११६ वटामा झर्नेछन् । त्यस्तै, नयाँ बनेको कम्पनीको सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाएका छन् । कम्पनीको अध्यक्षको बारेमा भने हालसम्म निर्णय भइसकेको छैन । अब एकीकृत कारोबार पछि बस्ने सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष चयन गर्ने कम्पनीले बताएको छ ।