आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट हुने भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पीटल, धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो हस्पीटलका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई माया मेट्रो हस्पीटल धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सरे, युयसजी, इको लगायतका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ । साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले माया मेट्रो हस्पीटलसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।
सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण, मंगलबार सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कल मार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । कर्मचारी मैत्री कार्यस्थल बनाउन र सम्पुर्ण टिमलाई कम्पनीको लक्ष्य पुरा गर्नको लागी व्यवस्थापन टिम सँग पङ्क्तिबद्ध भएर साथ साथ अघि बढ्न यस्तो सभाले महत्तोपुर्ण भूमिका खेल्दछ भन्ने सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलको भनाइ छ । सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने गरेको छ । कम्पनीमा कार्यरत कर्मचारीहरूले कम्पनीको संरचना तथा विभाग अनुसारको कार्य तथा अन्तरक्रिया नियमित रुपमा गर्ने गर्दछन तर कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग त्रेमासिक रुपमा प्रतक्ष्य भेट्ने, कम्पनीको प्रगती तथा योजनको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवं छलफल गर्ने अवसरले संस्थाको सवै तहमा प्रभाकारी संचार हुने तथा कर्मचारीहरुलाई एकसाथ ल्याउने यो उत्कृष्ट माध्यम हो । टाउन हल सभा सबै कर्मचारीहरुको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनितीमा एकतावद्ध हुने अवसर हो । कम्पनीले गरेको प्रगती, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताहरुको बारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर हो । कार्यस्थलमा एक स्वस्थ वातावरण स्थापना गर्ने सन्दर्भमा, टाउन हल सभाहरू कर्मचारीहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्न र सशक्त बनाउनको लागि अत्यन्त महत्त्वपूर्ण रहन्छन ।
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले गर्यो ५२ करोड आम्दानी, साढे दुई लाख बढीले लिए सेवा
भरतपुर । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा ५२ करोड ५० लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सोभन्दा १२ करोड रकम बढी भुक्तानी भएको हो । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका सम्पर्क व्यक्ति लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको अझै १० करोड रुपैयाँ दाबी गरेर पठाइएको रकम आउन बाँकी छ । अघिल्लो आवमा अस्पतालले बीमा कार्यक्रममार्फत ३० करोड ७९ लाख रुपैयाँ भुक्तानी पाएको थियो । अस्पतालको तथ्याङ्कअनुसार आठ हजार तीन सय ९६ पटक अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आएका बिरामीले सेवा लिएका छन् । यस्तै स्वास्थ्य बीमामार्फत अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामी आठ हजार रहेका छन् । राज्यको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा जति प्रत्यक्ष राहत दिने महत्वपूर्ण कार्यक्रम अन्य नदेखिएको उनले बताए । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बिरामी स्वास्थ्य बीमाबाट सेवा लिने गरेका छन् । २९ प्रतिशतले मात्रै शःशुल्क सेवा लिने गरेको उनले बताए । विसं २०७४ भदौ १ गतेदेखि अस्पतालमा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म आठ लाख पटक सेवा दिइएको छ । सेवाग्राहीको आकांक्षा र सेवा प्रदायकको कार्यक्रम समन्वय नहुनु, औषधिको उपलब्धता र गुणस्तरमा समस्या देखिनु, दाबी भुक्तानीमा समस्या देखिनु, सेवाग्राहीले सेवा लिन आउँदा आफू अपमानित भएको महसुस गर्नुजस्ता कारणले सेवामा अझै चुनौती रहेको उनले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले सङ्घीय सरकारले दिने बजेटभन्दा बीमा कार्यक्रमबाट प्राप्त दाबी भुक्तानी रकम बढी भएको बताए । कार्यक्रमलाई अझै सेवाग्राहीको चाहनाअनुरुप गर्न नसकिएको भन्दै उनले बिरामीका लागि थप संरचना निर्माण गरेर सेवा दिइने बताए । यसका लागि आवश्यक जमिनसमेत अस्पतालसँग नभएको उनको भनाइ छ । उनले आगामी दिनमा बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाएर लैजान अस्पताल लागि पर्ने बताए । अस्पतालमा एमआरआइसमेत ल्याइँदै छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा दिन सुरु गरिएसँगै रेफर भएर अन्यत्र निजी अस्पताल जानुपर्ने बिरामीको बाध्यता घटेर जाने उनको भनाइ छ । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले देशकै अस्पतालमा बीमा कार्यक्रम सबैभन्दा प्रभावकारी भरतपुर अस्पतालमा भएको बताए । यससँगै देखिएका समस्याको खोजी गरी निराकरणका लागि पहिलो पटक आजदेखि सबै विभागका कर्मचारी समावेश हुने गरी तीन दिने योजना तर्जुमा गोष्ठी गर्न लागिएको बताए । उनले भने, “अस्पतालका राम्रा पक्षलाई अघि बढाउँदै लैजाने र समस्याको निराकरण गरेर सेवाग्राहीलाई सेवा दिने काममा हामी जुटेका छौँ ।” चितवनसहित छिमेकी जिल्लाबाट समेत बिरामीले स्वास्थ्य बीमामा प्रथम विन्दु भरतपुर अस्पताललाई बनाउने गरेका छन् । रासस