काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्याउन सकस परेको छ । सम्पत्ति बेचेर पुँजी पुर्याउने विकल्प रोजेको नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सलाई बिक्रीमा रहेको घर जग्गा नबिकेपछि प्राधिकरणको निर्देशनअनुसारको पुँजी थप्न सकस देखिएको हो ।
हाल कम्पनीले आफ्नो स्वामित्वमा रहेको विभिन्न ठाउँको घरजग्गा बिक्रीमा राखिरहेको छ । इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको स्वीकृति अनुसार नै काठमाडौंको न्यूरोडको भवन, भरतपुर, वीरगञ्ज र विराटनगरको जग्गा हाल बिक्रीमा राखेको छ । जुन बिक्रीमा रहेको करिब एक महिना हुँदा पनि बिक्री हुन नसकेको इन्स्योरेन्सको भनाई छ ।
सूचना जारी गरेको एक महिना बित्दा पनि घरजग्गा बिक्न नसकेपछि इन्स्योरेन्सले दोहोरो पटक सूचना जारी गरेको छ । इन्स्योरेन्सले काठमाडौं, मोरङ्ग, पर्सा र चितवन गरी चार वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्न गत असार २५ गते नै पहिलो पटक एक सूचना जारी गरेको थियो । जुन सूचना कम्पनीले साउन १९ गते पुनः प्रकाशन गरेको छ ।
दोश्रो पटक प्रकाशित भएको सूचनामा भने इन्स्योरेन्सले १५ दिनको समय तोकेर उक्त सम्पत्ति गोप्य शिलबन्दी प्रकृयाबाट बिक्री गर्दै छ । जसमा इच्छुक व्यक्ति, संघ संस्था जो कसैले तोकिएको समय अर्थात आगामी भदौ १ गते दिउँसो तीन बजेभित्र आवेदन पेश गर्न सक्ने समेत इन्स्योरेन्सले जानकारी गराएको छ ।
पछिल्लो समय देशमा आर्थिक मन्दी लागेसँगै कम्पनीको घरजग्गा बिक्री हुन सकस परेको देखिन्छ । पुँजी पुर्याउन अन्य कुनै पनि विकल्प नदेखेपछि सम्पत्ति बिक्री गर्ने विकल्प रोजेको कम्पनीलाई समयमा घरजग्गा बिक्री नहुँदा तोकिएको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन हम्मेहम्मे परेको छ ।
यता बीमा प्राधिकरणले चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई कारवाही गर्ने तयारी गरिरहेको छ । तोकिएको समयमा पुँजी नपुर्याउने कम्पनीको बीमा योजना रोक्नेदेखि नगद जरिवाना गर्नेसम्म प्राधिकरणको चेतावनी छ । प्राधिकरणले कम्पनीहरुलाई पुँजी पुर्याउन गत असार मसान्तसम्मको समय सीमा दिएको थियो । उक्त समय सीमा कटिसक्दा पनि प्राधिकरणले हालसम्म कुनै एक्सन भने लिएको छैन तर पुँजी पुर्याउन नसकेका कम्पनीहरुलाई भने अनौपचारिक रुपमा चेतावनी दिइरहेको छ ।
यससँगै प्राधिकरणको कारवाहीमा पर्न सक्ने कम्पनीमध्येमा नेपाल इन्स्योरेन्स पनि एक हो । मर्जरमा जान्छु भनेर सहमति गरेर पनि नगएको र त्यसपछि पुँजी वृद्धिको लागि कुनै पनि प्रयास नगरेका नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स प्राधिकरणको विशेष निगरानीमा देखिन्छन् । जसलाई केन्द्रित गर्दै प्राधिकरणले पुँजी पुर्याउन थप तीन महिना (बैशाखदेखि असारसम्म)को समय पनि दिएको थियो ।
हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १ अर्ब ९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २ अर्ब ५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ ।
पुँजी थप्न अधिकांश बीमा कम्पनीले मर्जरको बाटो रोज्दा नेपाल इन्स्योरेन्सले भने छुट्टै अर्थात घरजग्गा बेच्ने योजना बनायो । उक्त योजनाअनुसार बिक्री राखिएको कम्पनीको उक्त सम्पत्ति पछिल्लो एक महिनासम्मममा पनि बिक्री हुन नसकेको कम्पनीले जानकारी गराएको छ । दोश्रो पटकको सूचनासँगै अब भने तोकिएको समयभित्रै सम्पत्ति बिक्री हुनेमा कम्पनी विश्वस्त छ ।
यदि दोश्रो पटक सार्वजनिक गरिएको सूचना अनुसार अबको १५ दिनभित्रमा उक्त सम्पत्ति बिक्री नभएमा कम्पनी प्राधिकरणको कारवाहीमा पर्ने करिब निश्चित छ । जसमा बीमा योजना रोकिदिने, नगर जरिवाना गरिनेदेखि फोर्सफुल मर्जर गराउनेसम्मको मनसाय प्राधिकरणको छ ।