रिलायबल लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेको आईपीओमा आवेदन दिने आज अन्त्मि दिन रहेको छ । कम्पनीले साउन २३ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज साउन २६ गतेसम्म आवेदन दिन सक्ने छने । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारी र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
आईएमई लाइफले सम्पन्न गर्याे सातै प्रदेशमा १३ स्वास्थ्य शिविर
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आसन्न छैठौं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा स्वास्थ्य शिविर आयोजना गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै सबै प्रदेशका विभिन्न १३ स्थानमा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको हो । आईएमई लाइफ इन्स्योरेन्सले भाद्र १ गते छैठौं वार्षिकोत्सव मनाउँदै छ । कोशी प्रदेशको बिर्तामोड, बुधबारे, इनरुवा, धनकुटा तथा ओखलढुंगामा आँखा शिविर र धनकुटामा दन्त शिविर आयोजना भएको थियो । त्यस्तै, मधेश प्रदेशको बारा, जीतपुर कलैयामा जनरल स्वास्थ्य शिविर सञ्चालन गरिएको कम्पनीले बताएको छ । बागमती, प्रदेशको चापागाउँ स्वास्थ्य चौकीमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको समन्वयमा आँखा शिविर आयोजना भएको थियो । गण्डकी प्रदेशको शुक्लागण्डकी ११ मा जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको थियो । लुम्बिनी प्रदेशको गुल्मी तथा कर्णाली प्रदेशको तातोपानी गाउँपालिका जुम्लामा दन्त शिविर संचालन गरिएको कम्पनीले बताएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टिकापुरमा जनरल स्वास्थ्य जाँच शिविर, धनगढीमा दन्त शिविर र बेलौरीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर संचालन गरिएको कम्पनीले बताएको छ ।
गार्डियन र क्रेष्ट माईक्रो लाइफको पहिलो महिना : कसले कति उठाए प्रिमियम ?
काठमाडौं । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न अनुमति पाएका दुई इन्स्योरेन्सले पहिलो महिनामा २ लाख ५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असारदेखि कारोबार शुरु गरेका गार्डियन माईक्रो र क्रेष्ट माईक्रो लाइफले सो मात्राको बीमाशुल्क अर्थात प्रिमियम संकलन गरेका हुन् । जसमध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी अर्थात एक लाख ४१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले असार महिनामा मात्रै १२७ वटा बीमालेख बिक्री गरेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ६४ हजार रुपैयाँ बराबरका प्रिमियम संकलन गरेको छ । जसले असार महिनामा मात्रै ९२ वटा बीमा पोलिसी बिक्री गरेको प्राधिकरणले जनाएको छ । दुई कम्पनीले छोटो अवधिमै सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् । दुई इन्स्योरेन्समध्ये गार्डियन माइक्रो लाइफले गत असार २२ गतेदेखि र क्रेष्ट माइक्रो लाइफले गत साउन १० गतेदेखि औपचारिक रुपमा व्यवसाय सञ्चालन गरेका हुन् । त्यस्तै, गार्डियनको केन्द्रीय कार्यालय कोशी प्रदेशको विराटनगरमा छ भने क्रेष्ट माइक्रो कणाली प्रदेशको विरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको छ ।