पौने १ अर्बको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दुईटै कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । कम्पनीले नेपाल पुनर्बीमाको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार नेपाल पुनर्बीमाको सेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ भने सीआईटीको प्रतिकित्ता ७८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कम्पनीले पुनर्बीमाको ५८ करोड ५ लाख ६४ हजार ८८० रुपैयाँ र सीआईटीको १८ करोड ६४ लाख ४८ हजार ८६० रुपैयाँ गरी कूल ७६ करोड ७० लाख १३ हजार ७४० रुपैयाँ उठाउने छ । कम्पनीको उक्त सेयरमा इच्छुक लगानीकर्ताहरूले आज फागुन १८ गतेदेखि फागुन २२ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आवेदन दिँदा पुनर्बीमाको सम्पूर्ण कित्ता र सीआईटीको न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीलाई विविधिकरण र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने योजनासहित सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर बिक्री गरेर उठेको रकम अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको कम्पनीको भनाइ छ । नेपाल बीमा प्राधिकरणले तोकबमोजिम कम्पनीले पुँजी पुर्याइसकेको छ । त्यसैले उक्त सेयर बिक्री गरेर प्राप्त रकमबाट सेयरधनीहरूलाई लाभांश बाँड्न पनि सक्नेछ । कम्पनीले घरजग्गामा लगानी गर्न चाहेको पनि देखिएको छ । कम्पनीले गत कात्तिक २० गते विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिदका लागि सूचना जारी गरेको थियो ।
मर्जरपछि बीमा कम्पनीहरूमा टिकेनन् डीसीईओ, यूनाइटेड अजोडमा गम्भीर समस्या
काठमाडौं । साविक प्रभु लाइफ र साविक महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको ७ महिना मात्रै भयो । तर, प्रमुख कार्यकारी अधिकृत (सीईओ), दुई जना नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)सहित १५ जनाले कम्पनी छाडेर बाहिरिए । स्रोतका अनुसार २ कम्पनीका उच्च नेतृत्वबीच ठूलै टसमस भएपछि सीईओ रमेश कुमार भट्टराई, डीसीईओ कमल पन्थी र रामेश्वर श्रेष्ठसहित १५ जना स्वेच्छिक अवकास (भीआरएस) सुविधा लिएर बाहिरिएका हुन् । यद्यपी यी सबै काम कम्पनीका लागि नियमित र सामान्य भएको बताइन्छ । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईका अनुसार मर्जपछि कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएसमा विदा गरिएको हो । ‘माथिल्लो तहमा कर्मचारी संख्या बढी भयो, डीसीईओ, सिनियर म्यानेजरहरू धेरै भयो । दुवै कम्पनीबाट आउँदा कर्मचारी बढी भए । धेरै भएपछि मिलाउन गाह्रो हुँदो रहेछ । त्यसैले भीआरएस सुविधा दिएर विदा गरेका हौं,’ उनले भने । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई गत असार २९ गते एकीकृत गरेका थिए । तर, मर्ज भएको ७ महिनामै साविक महालक्ष्मी लाइफका उच्च व्यवस्थापकहरू एकैपटक बाहिरिएका हुन् । यस्तै, गत साता हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कमल गौतमले पदबाट राजीनामा दिएर बाहिरिए । उनको राजीनामा गत मंगलबारदेखि लागू हुने गरी स्वीकृत भएको छ । यसअघि उनी एभरेष्ट इस्यारेन्सका सीईओ थिए । एभरेष्ट र हिमालयन इन्स्योरेन्सबीच मर्जरपछि उनी वरिष्ठ डीसीईओ बनेका थिए । तर, मर्जर भएको डेढ वर्ष पछि उनी कम्पनीबाट बाहिरिएका हुन् । यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सका सियिर डीसीईओ कुमार बहादुर खत्रीले राजीनामा पत्र बुझाएको २ हप्ता बढी भइसक्यो । तर, उनले बुझाएको राजीनामा स्वीकृत भएको छैन । आफूले कम्पनीमा राजीनामा पत्र बुझाएको भएपनि स्वीकृत हुन बाँकी रहेको डीसीईओ खत्रीले विकासन्युजसँग बताए । यूनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण कुमार रावलका अनुसार कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कुमार बहादुर खत्रीले राजीनामा दिएको भएपनि स्वीकृत भइसकेको छैन । उच्च पदस्थ कर्मचारी भएकाले राजीनामा स्वीकृत नगरेको उनको भनाइ छ । साथै मर्जपछि ३ जना विभागीय प्रमुखहरू बाहिरि सकेको उनले बताए । मर्जपछि एकले अर्काको कमजोरी खोतल्ने र त्रुटी औल्याउँदै उजुरबाजुरमा लाग्ने समस्या कम्पनीमा देखिएको र यसले कम्पनीभित्र गम्भीर समस्या उत्पन्न गराएको सोही कम्पनी सम्बद्ध स्रोतले बतायो । ‘दुईटा कम्पनी मर्ज भएपछि एकअर्कालाई दोस लगाउँछन् । दुईटा डीसीईओबीच गुट बनेको सुन्नमा आउँछन्, अहिले पनि बजारमा दक्ष जनशक्ति अभाव छ । राम्रो कर्मचारी अवसर पाएपछि यताउता गइरहेका छन्,’ सीईओ) रावले भने । उनका अनुसार यूनाइटेड अजोडका रिइन्स्योरेन्स (आरआई) र अण्डरराईटिङ प्रमुखले राजीनामा दिएर बाहिरिएका हुन् । अन्य कर्मचारी भने करार अवधि सकिएर नवीकरण नभएपछि बाहिरिएका उनले बताए । मर्जरपछि कम्पनीमा ओभरस्टाफको समस्या देखिएका कारण संरचनागत समस्या देखिएको बताउँछन् । दुईटा कम्पनी मर्ज भएपछि ओभर स्टाफिङको समस्या भएपनि व्यवस्थापन गरिरहेको उनको भनाइ छ । ‘इण्डष्ट्रिमा यस्ता समस्या आइरहन्छन् । एक कम्पनीबाट अर्काे कम्पनी र अर्काे कम्पनीबाट अर्काे कम्पनीमा मुभमेन्ट भइरहेका हुन्छन् । कसैलाई त्यही कम्पनी राम्रो लाग्छ भने कसैले अफ्ठ्यारो महसुस गरिरहेका छन् । कतिपय कर्मचारीले असरक्षित महसुस गर्छन्,’ उनले भने, ‘जहाँ आफूलाई कम्फर्टेबल महसुस हुन्छ, त्यहाँ जानु स्वभाविक हो । कम्पनीहरूमा धेरै मूभ भइरहेका हुन्छन् । ती विषयलाई हामीले हटाउनु पर्ने छ ।’ आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स बनेपछि सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भए । साविक प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सनियर डीसीईओ) बने । तर, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएको एक महिना नबित्दै रावल कम्पनीबाट बाहिरिए । हाल उनी युनाईटेड अजोड इन्स्योरेन्सको सीईओमा नियुक्त भएर काम गरिरहेका छन् । सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स बनेपछि सीईओ चंकी क्षेत्री नियुक्त भए । तर, मर्जरसँगै साविक लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ रहेका नूर प्रकाश प्रधान भने बाहिरिए । यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरे । मर्जरपश्चात् कम्पनीको सीईओमा साविक सिद्धार्थ इन्स्योरेन्सबाट बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भए । दुई कम्पनीको मर्जर प्रक्रिया चलिरहँदा नै साविक प्रिमियर इन्स्योरेन्सका सीईओ विश्वराम तिमिलाले राजीनामा दिएर बाहिरिए । गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स मर्ज भए । नयाँ कम्पनीको रुपमा जन्मिएको हिमालयन लाइफको सीईओमा नियुक्त भए मनोज कुमार लाल कर्ण । उनी साविक यूनियन लाइफ इन्स्योरेन्सका सीईओ थिए । तर, मर्जरपश्चात् भने साविक गुराँस लाइफका सीईओ विपिन कुमार लाल कर्ण र प्राइम लाइफका सीईओ निर्मल कुमार दाहालले राजीनामा दिएर बाहिरिए । नेपाल बीमा प्राधिकरणको पूँजी वृद्धिको निर्देशनपश्चात् २१ वटा बीमा कम्पनी मर्जरमा सामेल भए । जसमध्ये ९ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनी थिए । मर्जरमा सामेलपछि १० वटा कम्पनीमा सीमित बने । तर, मर्जरमा सामेल भएका यी कम्पनीको नेतृत्व सम्हालिरहेका अधिकांश सीईओ राजीनामा दिएर बाहिरिए भने केही सीईओ पद घटुवामै चित्त बुझाएर काम गरिरहेका छन् । मर्जरले भविश्यमा कम्पनीको समग्र बिजनेसमा टेवा पुगे पनि यो इन्डष्ट्रीबाट केही अनुभव, सीप र ज्ञान भएका व्यक्तिहरु पलायन भएको बीमा जानकार बताउँछन् । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल मर्जरपछि बीमा कम्पनीमा समस्या आएको स्वीकार गर्छन् । साथै, मर्जरपछि कम्पनीहरूमा संरचनागत रूपमा समस्या देखिएको उनको भनाइ छ । हाल कम्पनीको उच्च तहमा पुगेका व्यवस्थापकहरू मार्केटिङ तहबाट आएकाले ससम्मान विदा गर्न प्राधिकरणले अनौपचारिक आग्रह गरेको उनी बताउँछन् । ‘युनाइटेड अजोड, हिमालयन एभरेष्ट, प्रभु महालक्ष्मी लाइफमा समस्या देखिएको छ । यी कम्पनीहरू विभिन्न कल्चरबाट हुर्किएर आएका हुन् । सबै आआफ्नो सिस्टममा चलेका थिए । अब त्यसलाई समाधान गर्न जरूरी छ,’ उनले भने ।
सेजनले सबै सदस्यको गरिदियो १६ करोडको स्वास्थ्य बीमा, फागुन ४ बाटै लागू
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो । बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आश्विन पराजुलीलाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन् । यद्यपि पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बीमाको अवधि एक वर्षको हुने छ। पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धिबाहेक सुरक्षाको लागि समेत संस्था गम्भीर रहेको बताए । त्यसैक्रममा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको उनले जानकारी दिए । ‘हामीले आफ्ना सबै सदस्यको क्षमता अभिवृद्धि लगायत काम गर्दै आएका छौं, जुन सधै कायमै रहन्छ’ उनले भने , ‘सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बीमा गरेका छौं ।’ सदस्यको हितमा काम गर्नु संस्था र आफ्नो दायित्व भएको अध्यक्ष ओलीले बताए। सम्झौता कार्यक्रममा इन्स्योरेन्सका सीईओ शाहले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बीमा गर्न पाउनु निकै खुसीको विषय भएको बताए । उनले सबै नेपाली बीमामा जोडिन आवश्यक रहेको समेत बताए । बीमाको महत्वबारे अझै नागरिकलाई बुझाउन नसकिएको शाहको भनाइ छ । बीमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण नभएको उनको भनाइ छ । आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बीमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने उनको आग्रह थियो ।