नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी बिहीबार ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरिएको छ । नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफावाट कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बीमा कोषमा ७१ अर्बको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८/०७९ बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको सहर्ष जानकारी गराउछौं । कम्पनीको शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको छ । ११७ शाखा कार्यालय संख्या र ५०० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् । कम्पनीले स्थापनाकाल देखि २०८० साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी १०२ अरब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कूल ३७ अरब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ । यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । कम्पनी संचालनको ३७ औं वार्षिकोत्सवका अवसरमा हामी प्र्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहकहरु, कर्मचारी साथीहरु, अभिकर्ताहरु एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गरेको छ ।

सिटिजन लाइफका २० जना लिडर सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको ल्यान्डमार्क होटलमा दुइ दिने ‘एम.डी.आर.टी., २०२४ (मिलियन डलर राउण्ड टेबल)’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको उद्देश्य उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने थियो । कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्दा थिए । उनी मनोक्रान्ती संस्थाका संस्थापक र गुरु समेत हुन् । उनले संसार परिवर्तन गर्नुछ भने पहिले आफूलाई परिवर्तन गर्नुपर्छ’ भन्ने प्रसँग जोड्दै आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बढ्नुपर्ने बताए । इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर महजोडीले यस संस्थामा आवद्ध भएका कर्मचारीहरुले एक अर्कलाई समाजको उन्नति र आफ्नो कार्यप्रति सकारात्मक सोच राख्नका लागि प्रोत्साहान गर्दै आएको बताए । कार्यक्रममा ‘एम.डी.आर.टी’ मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरु (१९ जना एम.डी.आर.टी. क्वालिफायर र १ जना सि.ओ.टी. (कोर्ट अफ द टेबल) क्वालिफायरलाई पुरस्कारसहित कम्पनीले सम्मान गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताए । साथै, उनले कम्पनीको सबैभन्दा ठुलो शक्ति, कर्मचारीहरुको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिने कुरामा जोड दिए ।

जलविद्युत बीमा शुल्क खुला गर्ने प्राधिकरणको तयारी, मूल्य वृद्धि हुन सक्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जलविद्युत आयोजनाको बीमा शुल्क दर (प्रिमियम)लाई खुला छाड्ने तयारी गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा शुल्कलाई नन ट्यारिफमा लैजान सार्वजनिक रूपमा नै निर्देशन दिएपछि प्राधिकरणले यस्तो तयारी थालेको हो । नेपाल बीमा प्राधिकरणले जलविद्युत क्षेत्रमा न्यूनतम बीमा शुल्क तोकेकोमा उर्जा व्यवसायीहरूले विरोध गर्दै आएका थिए । उनीहरूले खुला अर्थतन्त्रको मान्यता विपरित सरकारले बीमा पोलिसीको मूल्य तोकेको र २ रुपैयाँ बीमा शुल्कलाई वृद्धि गरी ८ रुपैयाँसम्म पुर्‍याएको भन्दै विरोध गर्दै आएका थिए । गत शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले सोही आवाज उठाएका थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान प्राधिकरणलाई निर्देशन दिएका थिए । अर्थमन्त्री डा.महतको उक्त निर्देशनलाई बीमा प्राधिकरणले आत्मसाथ गरेको र मन्त्रीको निर्देशन अनुसार नीतिगत संशोधन गर्ने तयारी सुरू भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । ‘अर्थमन्त्रीज्यूले जलविद्युत बीमा पोलिसीको दर घटाउन निर्देशन दिनु भएको छ, यस विषयमा छलफल गर्न बीमा सल्लाहाकार समितिको बैठक बोलाएका छौं,’ उनले भने, ‘यसअघि पनि जलविद्युत व्यवसायको बीमा पोलिसी नन ट्यारिफमा नै थियो, पछि बजारको अवस्थालाई ध्यान दिएर ट्यारिफ तोकेका थियौं, अब त्याे व्यवस्था हट्छ ।’ अब प्रयाप्त पुनर्बीमाको सुनिश्चितता गरेर मात्रै जलविद्युत व्यवसायको बीमा गर्न पाउने व्यवस्था गर्न लागिएको उनको भनाइ छ । बीमा शुल्क दर खुला गर्दा जलविद्युत बीमाको शुल्क घट्ने व्यवसायीहरूको विश्लेषण छ । तर, बीमा व्यवसायीहरू भने बीमा शुल्क खुला गर्दा झन् मूल्य वृद्धि हुने बताउँछन् । ‘हामीले यसअघि न्यूनतम बीमा शुल्क तोकेका थियौं, अधिकतम होइन । बीमा दर खुला गर्दा मूल्य बढ्न सक्छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘जलवायु परिवर्तनले जलविद्युत कम्पनीहरू धेरै जोखिममा छन्, जलविद्युत कम्पनी पनि उच्च जोखिममा छन् । यसले बीमा कम्पनीहरूलाई कठिनाई परिरहेको छ । विदेशी पुनर्बीमा कम्पनीहरूले पनि जलविद्युत बीमालाई उच्च जोखिममा राखेका छन् ।’ एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तका अनुसार अब सबै प्रडक्टहरूमा एक्चुरीबाट प्राइसिङ गर्ने व्यवस्था लागू हुँदैछ । साउन १ गतेदेखि एनएफआरएस १७ लागू गर्ने निर्णय भइसकेको छ । ‘अब प्रत्येक प्रडक्टको प्राइसिङ एक्चुरीबाट हुनेछ, त्यो बेलामा प्राइसिङ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तोकिनेछ,’ उनले भने, ‘त्यो अवस्थामा बीमा शुल्क वृद्धि हुने सम्भावना हुन्छ ।’ खुला अर्थतन्त्र भन्दैमा जलविद्युत बीमा शुल्कलाई खुला छोड्न नहुने बल्लभको तर्क छ । ‘जलविद्युत बीमा प्रडक्ट चाउचाउ, चुरोट, घ्यू, तेल बिक्री गरे जस्तो होइन, बीमा भनेको जोखिम हस्तान्तरण गर्ने माध्यम हो भनेर बुझ्न जरूरी छ,’ उनले भने । सम्बन्धित सामाग्री जलविद्युत बीमाको कारोबार चाउचाउ र चुरोट जसरी हुन्न