बीमा कम्पनीमा दाबी भुक्तानी दिन नपरोस् भन्ने नियत देखिएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा कम्पनीहरुमा प्रिमियम लिने तर, भुक्तानी भने दिन नपरोस् भन्ने नियत देखिएको बताएका छन् । शुक्रबार इप्पानको आयोजनामा सञ्चालित ‘जलविद्युत, बीमा नीति र दृष्टिकोण’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले प्रिमियम लिएर भुक्तानी नगर्दा समस्या आउने बताए । ‘बीमा कम्पनीलाई प्रीमियम लिन मात्रै परोस् दिन नपरोस् भन्ने नियत देखिएको छ, प्रीमियम लिएर दाबी भुक्तानी नगर्दा दीर्घकालीन समस्या निम्त्याउँछ । तत्काल भुक्तान दिन कम्प्रमाइज गर्नु हुँदैन’, उनले भने । उनले बढी बीमा शुल्क लिएको सन्दर्भमा ट्यारिफ र ननट्यारिफलाई खुला छोड्नुपर्ने बताए । ‘बजारले निर्धारण गरेको मूल्यलाई तोक्नु पर्छ, जोखिमभन्दा रेट बढि भयो भने समस्या आउछ’, उनले भने, ‘जोखिम नलिनका लागि बीमा गरिन्छ, जसलाई जोखिम परेको छ तेसलाई दाबी भुक्तानी गर्न ढिलाइ हुनुहुँदैन ।’ नेपालको उर्जाप्रतिको आकर्षण बढेको भन्दै उनले पछिल्लो समय जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताले पनि चासो देखाएको बताए । साथै २०४६ सालपछि जलविद्युत क्षेत्रले ठूलोफड्को मारेको भएपनि यस क्षेत्रमा समस्या रहेको अर्थमन्त्रीले बताएका छन् । वनसँग जोडिएका समस्या समाधानका लागि मन्त्रालयसङ्ग छलफल भैरहेको उनले बताए । क्षति भएका जलविद्युत कम्पनीलाई सामाग्री ल्याउदा कर छुटका लागि छलफल गर्ने भन्दै उनले क्षति भएका कम्पनीको सूची माग्दा क्षति नभएका समेत गरेर डेढ सय कम्पनीको सूची आएकाले छुट दिन नसकिएको बताए । साथै उनले जलविद्युत कम्पनीहरुको पुनःकर्जाको लागि राष्ट्र बैंकसँग छलफल गर्ने लगानीकर्ताहरुलाई आश्वासन दिएका छन् ।

उर्जा व्यवसायीहरूले दुई वर्षदेखि बीमाको दाबी भुक्तानी पाएका छैनन् : अध्यक्ष कार्की

काठमाडौं । उर्जा व्यवसायीहरुले दुई वर्षदेखि बीमा दाबी भुक्तानी नपाएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताएका छन् । शुक्रबार इप्पानको आयोजनामा सञ्चालित ‘जलविद्युत, बीमा नीति र दृष्टिकोण’ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । नेपाललाई समृद्ध बनाउन पहिलो उर्जा र दोस्रो कृषि क्षेत्र भएको तर, आफूहरुले दुई वर्षदेखि बीमा कै दाबी भुक्तानी नपाएको उनले बताए । ‘यदि देश साच्चै बनाउने हो भने पहिलो उर्जा हो र दोस्रो कृषि क्षेत्र हो, तर उर्जा व्ययसायीहरुले बीमा दावी भुक्तानी नपाउदा समस्या परेको छ, दुई वर्षदेखि दाबी भुक्तानी पाएका छैनौं’, उनले भने । साथै बीमामा २ रुपैयाँको प्रीमियमलाई ८ रुपैयाँ तिर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको उनले बताए । अर्थमन्त्रीले भुक्तानीको लागि कम्पनीहरुलाई निर्देशन दिँदापनि कार्यान्वन नभएको उनको भनाइ छ । ‘मन्त्रीज्यूले निर्देशन दिएपनि कार्यान्वयन हुन सकेको छैन, नेपालका बीमा कम्पनीले बीमा गर्न नसक्ने भए विदेशका कम्पनीबाट बीमा गर्न पाउनुपर्छ’, उनले भने, ‘४६ खर्बको विद्युतको बीमा गर्न नसक्ने अवस्था आएपछि हामी विदेशी बीमा कम्पनी बाट बीमा गर्न तयार छौं’, अध्यक्ष कार्कीले भने । उनले अहिलेसम्म विद्युत कम्पनीहरुले ७ अर्ब बढीको बीमा भुक्तानी नपाएको भन्दै बीमाको दाबी भुक्तानी नदिने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरे । साथै, स्थानीय तहले बारम्बार पत्र पठाएर जलविद्युत कम्पनीलाई रोयल्टी बुझाउन ताकेता गरिरहेको भन्दै उनले सो विषयले जलविद्युत कम्पनी ठूलो मारमा परेको बताए । पीपीए गरेका कम्पनीहरुले पनि बैंकबाट ऋण नपाएको उनको भनाइ छ । ‘३६ सय मेगावाट पीपीए भएर बसेका छन् तर, बैंकमा जादा पैसा पाउन सकेका छैनौं, रास्ट्र बैंकलाइ पनि अर्थमन्त्रीले पुर्नकर्जाको लागि निर्देशन दिनुपर्यो’, अध्यक्ष कार्कीले भने ।

आईजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको साढे ७ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयरहरूमध्ये ७ लाख ६६ हजार ५९३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य तोकिएको छैन । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।