पुँजी वृद्धिकै समयमा नेपाल रिबाट बाहिरिँदै आइएमई ग्रुप, अर्ब बढीको सेयर बिक्रीमा
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित विभिन्न चार कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका छन् । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, ग्लोबल आइएमई क्यापिटल, हाथवे इन्भेष्टमेन्ट नेपाल र आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको पौने ३६ लाख कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २० लाख कित्ता, ग्लोबल आइएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता, हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता र आइएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता गरी कुल ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा चारै कम्पनीले १ अर्ब ४४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेका हुन् । कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले फागुन ८ गतेदेखि फागुन १२ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नेपाल रिमा भएको आफ्नो कूल स्वामित्वको केही प्रतिशत सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको इन्स्योरेन्स स्रोतले बताएको छ । एउटै कम्पनीमा धेरै सेयर स्वामित्व भएपछि लगानी विविधिकरण गर्न खोजेको कम्पनीको भनाइ छ । ‘अन्य कुन क्षेत्रमा लगानी गर्ने भनेर एकिन निर्णय भएको छैन तर लगानी एउटै ठाउँमा धेरै भएकाले त्यो बेचेर अन्य क्षेत्रमा लगानी गर्न खोजिएको हो,’ स्रोतले भन्यो । साविक आइएमई जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएपछि नेपाल रिमा कम्पनीको सेयर स्वामित्व बढ्न पुगेको हो । नेपाल रिइन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार साविक आइएमई जनरलको १८ लाख ८५ हजार १६५ र साविक प्रुडेन्सियल इन्स्योरेन्सको १८ लाख ८५ हजार १६५ कित्ता सेयर गरी कूल ३७ लाख ७० हजार ३३१ कित्ता सेयर स्वामित्व छ । यस्तै, आइएमई लिमिटेडको १४ लाख ९ हजार ११ कित्ता सेयर स्वामित्व थियो । रिइन्स्योरेन्सले बोनस सेयर वितरण गरेको हुँदा उक्त सेयर संख्या वृद्धि भएको हुन सक्छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीलाई पुँजी वृद्धिको लागि निर्देशन दिएको छ । यही समयमा आइएमई ग्रुप लगायत सेयरधनी नेपाल रिबाट बाहिरिरहेका छन् ।
सानिमा र आइएमई प्रतिस्पर्धामा, नेपाल लाइफलाई पछ्याउँदै हिमालयन
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको नाफा २०.५१ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरूले ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । कम्पनीहरूले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५५ करोड ९० लाख रुपैयाँ नाफा गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूले ५२ करोड ५१ लाख रुपैयाँ बढी नाफा गरेका हुन् । समीक्षा अवधिमा २ वटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै सानीमा रिलायन्स लाइफको नाफा बढेको छ । यस कम्पनीको नाफा ९६.४७ प्रतिशत बढेर २१ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, आइएमई लाइफको ९६.१३ प्रतिशत बढेर २३ करोड ४७ लाख रुपैयाँ पुगेकाे छ । नाफा बढाउनका लागि सानिमा र आइएमई लाइफबीच प्रतिस्पर्धा देखिएको छ । सूर्यज्योति लाइफको ६३ प्रतिशत प्रतिशत बढेर २३ करोड ६६ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)नेपालको ५९.७८ प्रतिशत बढेर १३ करोड ६६ लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीको ४४.१४ प्रतिशत बढेर १ करोड ४२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३६ प्रतिशत बढेर १७ करोड ६४ लाख रुपैयाँ, मेट लाइफको ३३.५३ प्रतिशत बढेर १९ करोड ३८ लाख रुपैयाँ, नेशनल लाइफको १६.९१ प्रतिशत बढेर २५ करोड ५१ लाख रुपैयाँ नाफा गरेका हुन् । बढी नाफा गर्नेमा भने नेपाल लाइफ नै अगाडि देखिएको छ । नेपाल लाइफपछि हिमालयन लाइफ देखिएको छ । नेपाल लाइफको १२.८९ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपैयाँ र हिमालयन लाइफको ८.२३ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ कायम भएकाे छ । यस्तै, एशियन लाइफको ११.४५ प्रतिशत बढेर १५ करोड ९८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ४.९६ प्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ, सिटिजन लाइफको २.७३ प्रतिशत बढेर १२ करोड ३६ लाख रुपैयाँ नाफा गरेका छन् । पुस मसान्तसम्म २ जीवन बीमा कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको छ । हिमालयन लाइफकाे ८.२३ प्रतिशत र सन नेपाल लाइफको ७.२२ प्रतिशत नाफा घटेकाे छ ।
कुमारी बैंकले ल्यायो बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको जनाएको हो । न्यूनतम मौज्दात रकम एक हजार रुपैयाँ रहेको यस खातामा बैंकले वार्षिक ६.०१ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै २० हजार रुपैयाँ सम्मको स्वास्थ्य बीमा सुविधा र निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउने जनाएको छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले २० हजार रुपैयाँ सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउदै जाने प्रतिवद्धता जनाएको छ । बैंकले उपलब्ध गराएको यो बचत खाता नेपाल बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरुमा पर्ने विश्वास बैंकले लिएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई विगत २२ वर्षदेखि निरन्तर रुपमा बैंकिङ सेवा दिदै आइरहेको छ ।