कालीकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

कालीकोट । कालीकोटमा स्वास्थ्य बीमा लागु भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराएका मध्ये १७ हजार ६ सय १२ जनाले शुल्क तिरेका छन् । एकतीस हजार ८४ अति गरिब, एक हजार सात सय चार अपाङ्ग, एक सय ५५ एचआइभी सङ्क्रमित, ३० कुष्ठरोगी, दुई हजार एक सय ४७ ज्येष्ठ नागरिक, एक सय ७३ महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक सर्पराज रोकायाले जानकारी दिए । ‘महिला स्वास्थ्य स्वयमंसेविकाले बीमा रकममा ५० प्रतिशत छुट पाउने व्यवस्था छ,’ उनले भने । हाल जिल्ला महिला स्वास्थ्य स्वयमंसेविकाको सङ्ख्या दुई सय ९८ रहेको छ । जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भए पनि ९२ हजार एक सय ५३ अर्थात् ६३ प्रतिशत नागरिकले सो कार्यक्रमबाट अझै लाभ लिन सकेका छैनन् । सरकारले अपाङ्ग, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित र ज्येष्ठ नागरिकको निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरेको संयोजक रोकायाले बताए । ‘आर्थिक अवस्था कमजोर भएकालाई बीमाबाट लाभ हुने भए पनि त्यसबारे जानकारी नहुँदा सेवाबाट वञ्चित छन्,’ उनले भने, ‘गाउँघरमा स्वास्थ्य बीमाबारे जानकारी दिन जरुरी छ ।’ सरकारले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिए । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ ।

साविक ज्योति लाइफको लक इन पिरियड सकिँदै, कारोबारमा आउँदै साढे एक करोड कित्ता सेयर

काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्सको सेयरको लक इन पिरियड चैत २० गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको इन्स्योरेन्सले जनाएको छ । संस्थापक समूहको, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको र कर्मचारीहरुलाई सुरक्षित गरिएको गरि कूल सो मात्राको सेयरको लक इन अवधि समाप्त भई कारोबारमा आउन लागेका हुन् । जसमध्ये संस्थापक समूहको एक करोड एक लाख ७५ हजार, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार र कर्मचारीहरुलाई सुरक्षित गरिएको २ लाख ९९ हजार कित्ता सेयर रहेका छन् । उक्त सेयर साविक सूर्या लाइफसँग मर्जर भएपश्चातको कायम हो । साविकको ज्योति लाइफ इन्स्यारेन्स साविक सूर्या लाइफ इन्स्योरेन्ससँग गाभिई सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट २०७९ पुस ७ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिसकेका छन् ।