यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १८ गते मंगलबार बैठकले गौतमलाई कम्पनीको सीईओमा नियुक्त गरेको हो । उनको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिन बाँकी रहेको छ । प्राधिकरणबाट स्वीकृति पाएपछि उनले कम्पनीको सीईओको पदभार सम्हाल्नेछन् । यसअघि साबिक एभरेष्ट इस्यारेन्समा सीईओको भूमिका निर्वाह गरिसकेका गौतम साविक एभरेष्ट र साविक हिमालयन इन्स्योरेन्स मर्जरपछि नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)  बनेका थिए । उनले गत २०८० फागुनमा हिमालयन एभरेष्टबाट राजीनामा दिएर बाहिरिएका थिए । साविक एभरेष्ट इन्स्योरेन्स समस्यामा थियो । तर, गौतमको व्यवस्थापकीय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाइमा पुर्‍याएका थिए । नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमसँग हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक र इन्फ्रान्स्ट्रक्चर डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । बैंकिङ र बीमा गरी तीन दशक बढी अनुभवी गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । गत कात्तिक ८ गते श्रवण रावलको निधन भएपछि यूनाइटेड अजोड इन्स्योरेन्समा सीईओ पद रिक्त थियो । रावलको हृदयघातका कारण निधन भएको थियो ।

प्रभु महालक्ष्मी लाइफबाट एकैपटक ५ जना संस्थापक बाहिरिँदै

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पाँच संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका पाँच जना संस्थापक सेयरधनीहरूले करिब १ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । कम्पनीका अनुसार शशि रञ्जन कलवारको स्वामित्वमा रहेको ४५ हजार कित्ता, भिम बहादुर गौचनको १० हजार कित्ता, मोहनराज जोशीको २० हजार कित्ता, मोक्ष राज्यलक्ष्मी देवि प्रधानको १८ हजार कित्ता र गणेश कुमार घिमिरेको ५ हजार ४९० कित्ता गरी कुल ९८ हजार ४९० कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र उक्त सेयर खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सिटिजन एनुअल बिज्नेस रिट्रिट २०८१ सम्पन्न, देशभरका अभिकर्ता सहभागी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले  ‘सिटिजन एनुअल बिजनेस रिट्रिट’ पोखरामा सम्पन्न गरेको छ । मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखरामा सम्पन्न भएको यस कार्यक्रममा देशभरिबाट २५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाको उपस्थिति रहेको थियो । प्रशिक्षक झाले सिटिजन लिडर्सहरूको क्षमता तथा आत्मविश्वास अभिवृद्धिलाई मध्यनजर गर्दै बिक्री कला विकास, व्यक्तित्व विकास, सञ्चार, पेशाप्रति आत्मविश्वास, व्यक्तिगत प्रस्तुतिलगायत किन आवश्यक छ ? जस्ता विभिन्न कुराहरूको प्रशिक्षण दिएका थिए । कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल एवं कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भुषण रिमाललगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।