सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर सलिको, प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम सुदूरपश्चिम रोयल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) इन्स्योरेन्स पार्टनर बनेको छ । सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी सम्झौता भएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सम्झौतामा हत्ताक्षर गरे । उक्त सम्झौताअन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरूको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ । रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिकोसँगको आबद्धताले आफूहरू अत्यन्त उत्साहित भएको बताए । त्यस्तै, सलिकोका सीई‌ओ क्षेत्रीले सुदूरपश्चिम रोयल्ससँग सहकार्यको हात अगाडि बढाउन पाउँदा सिंगो सलिको परिवार अत्यन्तै हर्षित भएको कुरा बताए । क्षेत्रीले एनपीएलको यस ऐतिहासिक पहिलो संस्करणको उपाधि जित्नका निम्ति सुदूरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामनासमेत व्यक्त गरे ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई नगदसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको अगाामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बाढीको दाबी भुक्तानी : शिखरले २७ करोड भुक्तानी गर्दा २ कम्पनीले एक सुका पनि दिएनन्

काठमाडाैं । असोजको दोस्रो साता आएको बाढी-पहिरोबाट बीमा कम्पनीहरूमा १२ अर्ब २६ करोड रुपैयाँ बढीको दाबी पेश भएको छ । नेपालमा सञ्चालित १८ निर्जीवन बीम कम्पनी (लघु निर्जीवनसहित)मा उक्त रकम बराबर ३ हजार ५२९ वटा दाबी पेश भएको छ । जसमध्ये कम्पनीहरूले ७८ करोड ९३ लाख रुपैयाँमात्रै दाबी भुक्तानी दिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । हालसम्म सबैभन्दा धेरै दाबी भुक्तानी शिखर इन्स्योरेन्सले दिएको छ । शिखरले २७ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको हो । शिखरमा हालसम्म १ अर्ब १० करोड रुपैयाँ बढीको दाबी पेश भएको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २ अर्ब ५७ करोड रुपैयाँ दाबी पेश हुँदा सो कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी दिँदा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । उक्त कम्पनीहरूमा क्रमशः १ अर्ब २ करोड र १ अर्ब ३६ करोड रुपैयाँ दाबी पेश भएको छ । ७६ करोड ३९ लाख रुपैयाँ दाबी पेश भएको नेको इन्स्योरेन्सले ६ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ भने ५० करोड दाबी पेश भएको नेशनल इन्स्योरेन्सले २ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । यस्तै दि ओरिन्टल इन्स्योरेन्सले २ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । सो कम्पनीमा १ अर्ब ५३ करोड रुपैयाँ बढीको दाबी पेश भएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीम कम्पनी र ट्रस्ट माइक्रो इन्स्योरेन्सले हालसम्म एक रुपैयाँ पनि दाबी भुक्तनी दिएका छैनन । कुन कम्पनीले कति दिए दाबी भुक्तनी ?