निर्जीवन बीमकले मोटर बीमा व्यवसायबाट कमाए ९ अर्ब ८२ करोड, कुन क्षेत्रबाट कति आर्जन ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको (साउन-चैत्र) सम्ममा ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जसमध्ये कम्पनीहरूले आर्जन गरेको कुल बीमा शुल्क संकलनमै मोटर बीमाको हिस्सा सबैभन्दा धेरै देखिएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार निर्जीवन बीमकले मोटर बीमाबाट ९ अर्ब ८२ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीहरूले आर्जन गरेको यो व्यवसाय कुल बीमा शुल्कको २९.९५ प्रतिशत बजार हिस्सा हो । कम्पनीहरूले दोस्रो धेरै व्यवसाय सम्पति बीमाबाट गरेका छन् । चालु आवको ९ महिनामा निर्जीवन बीमकले सम्पति बीमाबाट ८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ कमाएका छन् । कम्पनीहरूको कुल व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २४.९९ प्रतिशत रहेको छ । त्यस्तै, कम्पनीहरूले तेस्रो धेरै व्यवसाय इन्जिनियरिङ तथा ठेक्का निर्माणबाट आर्जन गरेका छन् । कम्पनीहरूले चालु आवको ९ महिनाका कुल व्यवसायको १६.९४ प्रतिशत बजार हिस्सा ओगटेको छ । यस अवधिमा कम्पनीहरूले उक्त क्षेत्रबाट ५ अर्ब ५६ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । ९ महिनाको अवधिमा कम्पनीहरूले विविध सेक्टरबाट ३ अर्ब ५७ करोड, सामुद्रिक बीमाबाट १ अर्ब ८९ करोड, हवाई बीमाबाट १ अर्ब ८१ करोड बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, कृषि बीमाबाट १ अर्ब २३ करोड र सबैभन्दा कम लघु बीमाबाट ६९ करोड ९७ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् ।
९ महिनामा जीवन बीमकको १४ प्रतिशतले बढ्यो व्यवसाय, कसको व्यवसाय कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमकहरूले १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। कम्पनीहरूले आर्जन गरेको कुल व्यवसाय १४.६२ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा कम्पनीहरूले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । चालु आवको ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले ९ महिनाको अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले आर्जन गरेको व्यवसाय गत आवको भन्दा १२.०९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । धेरै बीमा शुल्क संकलन गर्ने दोस्रो बीमा कम्पनीमा नेशनल लाइफ इन्स्यारेन्स रहेको छ । नेशनल लाइफले चालु आवको ९ महिनामा गत आवको यही अवधिको तुलनामा २.१३ प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले गत आवमा १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा चालु आवको ९ महिनामा १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, धेरै बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनी एलआईसीले चालु आवको चैत्र मसान्तसम्ममा १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवमा आर्जन गरेको व्यवसाय गत आवको तुलनामा ९.३९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । अन्य जीवन बीमा कम्पनीहरूमा हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सिटिजन्स लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स ४ अर्ब ८४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ४४ करोड, आईएमई लाइफ ३ अर्ब ७७ करोड , रिलाइबल नेपाल ३ अर्ब ६९ करोड, प्रभु् महालक्ष्मी ३ अर्ब ६७ करोड रुपैयाँ र सन नेपालले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।
सानिमा रिलायन्सको ‘मेरो मुटु बाल जीवन बीमा’ योजना सार्वजनिक, अब बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ
काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मेरो मुटु बालजीवन बीमा’ योजना सञ्चालनमा ल्याएको छ । यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमा गरिन्छ । यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ । बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ । त्यस्तै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ, जसले उसको शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पुर्याउने कम्पनीले जनाएकाे छ । अप्रत्याशित मृत्यु भएमा के हुन्छ ? बीमीतको हकमाः बीमांक रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ, त्यो रकम दिइनेछ । प्रस्तावकको हकमाः प्रस्तावकको मृत्यु हुँदा बिमांक रकम पाउने गरी अतिरिक्त बीमाशुल्क तिरेको अवस्थामा बीमांक रकम प्रधान गरिनेछ र अतिरिक्त शुल्क नतिरेको अवस्थामा बीमांक रकम प्रदान गरिने छैन । बीमा अवधि समाप्त हुनु अगावै बीमालेख चालु रहेको अवस्थामा बीमित र बीमा प्रस्तावकको मृत्यु एउटै घटनामा भएमा प्रस्तावकको मृत्युबापत बीमांक रकम र आर्जित बोनस तथा बच्चाको मृत्यु बापत बीमंकको २५% रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बिमीत बच्चाको समेत मृत्यु भएमा बीमांक रकमको २५% र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क मध्य जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ । ‘मेरो मुटु बाल जीवन बीमा’नै किन ? बालबालिकाको उच्च शिक्षा, आकस्मिक खर्च र दीर्घकालीन योजना सुरक्षित गर्न मासिक आय सुविधा सहितको बीमालेख भविष्यका लागि अनुशासित बचतको सुनिश्चितता न्यून प्रिमियममै दीर्घकालीन लाभ बच्चा जन्मिएको सुरुवाती चरणमै यो बीमा गर्दा भविष्यमा ठूलो लाभ लिन सकिन्छ । ‘जीवन बीमा आजै, अहिल्यै’ भन्ने सोंचेअनुरूप समयमै बीमालेख लिएर आफ्नो बालबालिकाको भविष्यलाई सुनिश्चित गर्न सकिने कम्पनीले जनाएकाे छ ।