९ प्रतिशत बीमाशुल्क सरेण्डर, प्राधिकरणले जनचेतना जगाउन नसकेको अभिकर्ताको आरोप
काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बढीको बीमा सरेण्डर भएको छ । चालु आवको कार्तिक मसान्तसम्म ३५ हजार ९८५ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर गरेका हुन् । अर्थात् बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमाशुल्कको ९ प्रतिशत रकम सरेण्डर भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार कार्तिक मसान्तसम्म ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका थिए । उक्त बीमाशुल्कको ९.०४ प्रतिशत रकम अर्थात् ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ सरेण्डर भएको प्राधिकरले जनाएको छ । प्राधिकरणका अनुसार सरेण्ड भएर सबैभन्दा धेरै रकम लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)बाट बाहिरिएको छ । एलआईसीबाट १० हजार ४८ जना बीमितले १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बढीको सरेण्डर हुँदा नेपाल लाइफ इन्स्योरेन्सबाट १ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बढीको सरेण्डर भएको छ । नेपाल लाइफका ८ हजार ४०८ जना बीमितले सरेण्डर गरेका छन् । यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीबाट ३ हजार ८७५ जना बीमितले सरेण्डर गर्दा ३७ करोड ४१ लाख, नेशनल लइफबाट १ हजार ९७९ जना बीमितले सरेण्डर गर्दा २९ करोड ३१ लाख, , एशियन लाइफका २ हजार ६२३ जना बीमितले सरेण्डर गर्दा २७ करोड ९६ लाख, सूर्यज्योति लाइफका १ हजार ९१० जना बीमितले सरेण्डर गर्दा २३ करोड ११ लाख, हिमालयन लाइफका २ हजार ४९८ जना बीमितले सरेण्डर गर्दा २२ करोड र मेट लाइफका १ हजार २४५ जना बीमितले सरेण्ड गर्दा १३ करोड रुपैयाँ बाहिरिएको छ । कुन कम्पनीबाट कति सरेण्डर ?सरेण्डर रोक्न के गर्ने ? पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारप्रसाद अधिकारीले पछिल्लो समय भएको सरेण्डरलाई लिएर चिन्तित भएको बताए । उनले सरेण्डर हुने स्वाभाविक प्रक्रिया रहेको भएतापनि पछिल्लो समय अत्यधिक सरेण्डर भएकोमा आफू चिन्तित भएको उल्लेख गरे। उनले पछिल्लो समय सरेण्डरको ग्राफ बढ्नुको मूख्य कारण आर्थिक मन्दि भएको बताए । आर्थिक मन्दीका कारण मानिसहरूमा देनिकी चलाउन रकम अभाव हुने गरेको र सरेण्डर गरेको अध्यक्ष अधिकारीको भनाइ छ । सरेण्डर हुनुको अन्य कारणहरूमा अस्वथ्य प्रतिस्पर्धा र जनचेतनाको अभाव रहेको उनको दाबी छ । उनका अनुसार अभिकर्ताले पनि कुनै एक कम्पनीमा बीमा गरेका व्यक्तिलाई आफ्नो कम्पनीमा तान्न उक्त कम्पनीबाट बीमा सरेण्डर गर्न प्रोत्साहन गरेको हुनसक्ने उनले आँकलन गरे । ‘अर्को कम्पनीका बीमितलाई आफ्नो कम्पनीमा तान्न अभिकर्ताले नै सरेण्डर गराउन लगाएको अवस्था पनि हुन सक्छ,’ अध्यक्ष अधिकारीले भने, ‘आफ्नो कम्पनीमा बीमा गर्दा फाइदा रहने तर्क दिएर अन्य कम्पनीबाट बीतिलाई सरेण्डर गराएको पनि हुनसक्ने मेरो आँकल छ ।’ यसका साथै उनले बीमितहरूमा जनचेतनाको अभावका कारण पनि सरेण्डर बढेको उनको भनाइ छ । बीमितलाई बीमाको बारेमा राम्रोसँग बुझाएमा सरेण्डर केही हदसम्म कम हुने उनको धारण छ । अध्यक्ष अधिकारीले प्राधिकरणले बीमासम्बन्धी जनचेतनामा प्रभावकारी कार्य नगरेको भन्दै उनले बीमा भविष्यका लागि टेक्ने लौरीको रूपमा मानिसलाई चेतना जगाउनुपर्ने बताए । उनका अनुसार प्राधिकरणले दिने जनचेतनाका कार्यक्रमहरू अझै प्रभावकारी बनाउनु पर्छ । यसका साथै विभिन्न टुल्सको प्रयोग गरेर चेतना विस्तार गर्नु पर्छ । अध्यक्ष अधिकारीले भने, ‘प्राधिकरण त्यति धेरै फण्ड भएको नियामक हो । जसले विभिन्न रेडियो, टेलिभिजन, सडक नाटक, पत्रपत्रिका लगायत माध्यमबाट चेतना जगाउँदा राम्रो हुन्थ्यो । यो विषयमा प्राधिकरणले खर्च गर्नुपर्यो ।’ प्राधिकरणले बीमितहरूलाई बीमा गरौं गरौं लाग्नेगरी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।
ठूलो विपतमा पनि सर्भेयरले काम पाएनन्, स्वतः अपग्रेट हुने व्यवस्था गलत छ : अध्यक्ष ढकाल
काठमाडाैं । भइपरि आउने जोखिम हस्तान्तरणका लागि मानिसहरूले आफ्नो धन सम्पत्तिको बीमा गर्छन् । सम्पत्तिको बीमा गरेर बीमितले जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् । कुनै कारणले त्यो सम्पत्तिमा क्षति भएपछि सर्भेयरको काम सुरु हुन्छ । बीमा कम्पनीले त्यो क्षतिको मूल्याङ्कन गर्न सर्भेयर खटाउँछ र सर्भेयरले क्षतिको मूल्याङ्कन गर्छन् । सर्भेयरको सोही मूल्याङ्कनको रिपोर्टका आधारमा बीमा कम्पनीहरूले बीमितलाई क्षतिपूर्ति अर्थात् दाबी भुक्तानी गर्छन् । नेपालमा हाल १३ सयको हाराहारीमा सर्भेयरहरू रहेका छन् । जो बाढी-पहिरो होस् या भूकम्प नै किन नहोस् ज्यानलाई दाउमा राखेर घटनास्थलमा पुगेर क्षतिको मूल्याङ्कन गर्छन् । विगत तीन दशकदेखि सर्भेयरको काम गर्दै आएका बीमा सर्भेयर्स एसोसिएसनको अध्यक्ष मोहनपुरुष ढकालसँग विकासन्यूजका लागि लक्ष्मण लम्सालले कुराकानी गरेका छन् । सोही कुराकानीको सम्पादित अंश : सर्भेयर बन्ने प्रक्रिया के हो ? सर्भेयरले कसरी काम गर्दछन् ? नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा लिन्छ । सो परीक्षा पास गरेपछि प्राधिकरणले सर्भेयरको लाइसेन्स दिन्छ । त्यो लाइसेन्स पाएपछि सर्भेयरसम्बन्धि काम गर्न सकिन्छ । यसरी लाइसेन्स पाएपछि सर्भेयरले बीमा कम्पनीहरूमा सूचीकृत गर्न जान्छन् । कम्पनीहरूले सर्भेयरको रोस्टममा लिस्ट राख्छन् । कतै केही कारणले धनसम्पत्तिको क्षति भएको अवस्थामा बीमा कम्पनीहरूले सोही लिस्टबाट सर्भयरलाई घटना भएको ठाउँमा खटाउँछन् । कम्पनीले खटाएको ठाउँमा गएर सर्भेयरले काम गर्छन् । सर्भेयरको काम एकदमै सेन्सेटिभ हो । क्षति भएपछि बल्ल सर्भेयरको काम सुरु हुन्छ । क्षति भएपछि बीमितलाई पीडा भएको हुन्छ । मानिसहरू पीडाको समयमा खुलेर बोल्दैनन्, सर्भेयरले क्षतिको मूल्याङ्कन गर्दा पीडित बीमितसँग सबैकुरा सोधपुछ गर्नुपर्ने हुन्छ । अर्थात् उनीहरूसँग भिज्नु पर्ने हुन्छ । त्यो कठिन काम हो । बीमा गर्दाको बखतको कागजात, क्षति भएको सम्पत्ति (बीमा गरिएको सम्पत्ति) सबै कागजात सर्भेयरले हेर्नुपर्ने हुन्छ । यसरी सबै काजगात संकलन गरेर भएको क्षतिको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । त्यस अवस्थामा बीमितसँग एकदमै नजिक रहेर काम गनुपर्ने हुन्छ । कम्पनीले सर्भेयरलाई खटाएदेखि सर्भेयरले त्यो क्षतिको रिपोट कम्पनीलाई बुझाउँदैमा सर्भेयरको काम सकिँदैन । बीमितले दाबी भुक्तानी पाएपछि मात्र सर्भेयरको काम सकिन्छ । सर्भेयरको वर्गीकरण कसरी गरिएको छ ? वर्गीकरण र अपग्रेटसम्बन्धी कस्तो व्यवस्था छ ? प्राधिकरणले क, ख, ग र घ गरी सर्भेयरलाई ४ वर्गमा छुट्याएको छ । कुनै पनि एक व्यक्ति तथा संस्थाले सर्भेयरको लाइसेन्स लिँदा सुरुमा घ वर्गको लाइसेन्स पाउँछ । हरेक ५ वर्षमा सो सर्भेयरको अपग्रेट हुने कानुनी प्रावधान छ । कसैले यो वर्ष सर्भेयरको घ वर्गको लाइसेन्स लियो भने ५ वर्षपछि उसले कुनै काम नै नगरे पनि अपग्रेड भएर ग वर्गमा उक्लिन्छ । सोही क्रमअनुसार क र ख वर्गमा सर्भेयर अपग्रेड हुन्छ । सर्भेयरले के कति काम गर्यो ? कस्तो काम गर्यो भनेर केही मूल्याङ्कन नै हुँदैन । ५ वर्ष पुगेपछि स्वतः अपग्रेट हुने व्यवस्था छ । त्यसले गर्दा काम नै नगरेका सर्भेयर पनि अपग्रेट हुने गर्दछन् । यो व्यवस्थालाई प्राधिकरणले पुनरावलोकन गर्नुपर्ने देखिन्छ । यसैगरी, प्राधिकरणले सर्भेयरको वर्गअनुसार काम गर्ने अपर लिमिट (अधिकतम सीमा) रकमका आधारमा तोकिदिएको छ । तर, लोअर लिमिट (न्यूनतम सीमा) भने तोकिदिएको छैन । अर्थात् कुनै घ वर्गको सर्भेयरले ५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । ग वर्गकोले १५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । तर, क वर्गकोले पनि सोही ५ लाख रुपैयाँको पनि सर्भे गर्न पाउँछ । यस व्यवस्थाले ५ लाखको सर्भे कले पनि गर्न पाउँछ, घले पनि गर्न पाउँछ । न्यूनतम सीमा तोकिएको भए क वर्गले ५० लाख रुपैयाँमुनिको नपाउने वा १० लाख मुनिको नपाउने व्यवस्था गरेको ५ लाखसम्मको काम घ वर्गले मात्रै पाउँथ्यो । त्यसैले पनि सीमा तोक्नुपर्छ । नेपालको भौगोलिक अवस्था प्राकृतिक विपतको दृष्टिकोणले जोखिमपूर्ण नै छ । जलवायु परिवर्तनले हिमताल फुटेर हुने क्षति, बर्सेनि आउने बाढी-पहिरो र भूकम्पको दृष्टिले पनि जोखिम नै मानिन्छ । बेला-बेखत हुने यस्ता विपतले अहिले भएको सर्भेयरको संख्याले काम गर्न सकिरहेको छ ? यस विषयमा केही वर्षअघि बीमा प्राधिकरणमा एउटा छलफल पनि भएको थियो । त्यस पटकको छलफलमा बीमा कम्पनीका सीईओहरूले सर्भेयरको संख्या पर्याप्त छैन । सर्भेयर उत्पादन गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि सर्भेयर उत्पादन गरेर अहिले १३ सयको हाराहारीमा पुर्याइएको छ । तर, प्राधिकरणको व्यवस्थाअनुसार एउटा व्यक्तिगत सर्भेयरले ५ वटा भन्दा बढी र संस्थागत सर्भेयरले १० वटा भन्दा बढी काम लिन नपाउने व्यवस्था छ । अर्थात् उसले ५ वटाबाट एउटा काम सकेपछि ४ वटा बाँकी हुन्छ । फेरि उसले एउटा काम थप्न पाउँछ । कानुनमा यस्तो राम्रो व्यवस्था भएपनि त्यो व्यवहारमा लागू भएको छैन । असोजमा गएको बाढी-पहिरोपछि केही सर्भेयरले ५ वटा पनि काम नपाएर बसेका छन् भने केहीले काम नै नपाएर पनि बसेका छन् । केही सर्भेयरले यति धेरै काम पाएका छन् कि उनीहरूलाई काम गर्न भ्याईनभ्याई छ । उनीहरूले तोकिएको सीमाभन्दा धेरै काम लिएको अवस्था छ । यति ठूलो क्षति हुँदा पनि कसैले काम नै नपाउने अवस्थाको सिर्जना कसरी भयो ? बीमा कम्पनीहरूले व्यक्तिगत सम्बन्धका आधारमा सर्भेयरको छनौट गर्ने गर्दछन् । धेरै सम्बन्ध भएका सर्भेयरले धेरै काम पाउँछन् । सम्बन्ध नभएकाहरूले जतिसुकै ठूलो क्षतिको अवस्थामा पनि काम नै नपाउने अवस्था छ । जबसम्म एउटा सीईओले त्यो सर्भेयरको बारेमा जानकार हुँदैन, तबसम्म उसले त्यो सर्भेयरलाई पब्लिक दायित्व जिम्मा लगाउन सक्दैन । त्यो कुरोलाई नकारात्मक तरिकाले लिनु पनि हुँदैन । विगतदेखि नै यस विषयमा ध्यान दिइएको भए विपतका बेला सबैले काम पाउँथे । सर्भेयरले सर्भे रिपोट समयमा नबुझाउँदा बीमितहरूले समयमा दाबी भुक्तानी पाउन नसकेको अवस्था छ । सर्भेयरले समयमा रिपोर्ट बुझाउन नसक्नुको कारण के हो ? सर्भेयरले सर्भे गर्दा क्षति भएको सम्पत्तिको सबै कागजात अध्ययन गर्नुपर्ने हुन्छ । सर्भेयरलाई यस्तो कागजात जुटाउन समय लाग्छ । यहाँ बीमा कम्पनीले इनीसीएसन लिन आवश्यक छ । क्षति भएको अवस्थामा बीमा कम्पनीका अभिकर्ताले कागजात संकलनमा सहजीकरण गर्दा सर्भेयरलाई काम गर्न केही छिटो हुने गर्थ्यो । केही अवस्थामा सबै कागजाग संकलन गर्न बीमितलाई पनि समय लाग्छ । धेरैजसो अवस्थामा सम्पत्तिको कागजाग सम्पत्तिको मालिकसँग भन्दा पनि उसको अडिटरसँग हुन्छ । त्यो कागजात खोज्नु पर्यो । केही कागजात सरकारको निकायबाट माग गर्नुपर्ने हुन्छ । मैले काम गर्दा पनि यस्तो अवस्था भोगेको छु । कागजात जुटाउन बीमित स्वयंलाई ४० दिन लाग्यो । यस्तै विविध कारणले समय लाग्छ । प्राधिकरणले रिपोर्ट बुझाउन १५ दिनको सीमा दिएको छ । यो सीमा पनि व्यावहारिक छैन । यसलाई रिभ्यू गर्न आवश्यक छ । सर्भे रिपोर्ट बनाएर बीमा कम्पनीमा बुझाएपछि सर्भेयरलाई कम्पनीहरूले बीमितसँग मिलेर रकम बढाएर रिपोर्ट बनाएको आरोप पनि लाग्ने गरेको छ, तपाईं यस्तो आरोप कतिको भोग्नु पर्यो ? कम्पनीले सर्भेयर व्यक्तिगत सम्बन्धका आधारमा छनौट गर्छन् । कम्पनीले कसैलाई काम दिनुको मतलब कम्पनीले उसलाई विश्वास गरेर हो ।तर, कहीं कतै कम्पनीले क्रस भेरिफिकेसन गर्न सक्छन् । यसमा हाम्रो आपत्ति छैन । केही सीईओहरूले कहिलेकाहीं यसमा केही रिभ्यू गर्ने पर्छ कि भनेर पनि सोध्नुहुन्छ । बीमितको पक्षबाट यस्तो आरोप कतिको आउने गर्छ ? बीमितले यस्तो भन्नु स्वाभाविक पनि मान्न सकिन्छ । किनकि सर्भेयरलाई बीमा कम्पनीले काममा लगाएका हुन्छन् । बीमितको नजरमा सर्भेयर कम्पनीको मान्छे हो । त्यस कारण उनीहरूले यस्तो आरोप लगाउनु स्वाभाविक हो । बीमितलाई सर्भेयरले हामी बीमा कम्पनीको मान्छे होइन भन्ने बुझाउन जरुरी हुन्छ । हामी सर्भेयर भनेको मध्यस्थकर्ता मात्रै हौं । बीमितले यहाँले गरेको काम ठीक छ भनेर खुसी भएको ३० वर्षको करिअरमा एक पटक मात्र भेटें । उहाँको नाम भने बिर्सिएँ । हवाईजहाजहरू दुर्घटना हुँदा नेपालका सर्भेयरले काम गर्न पाउँदैनन् । नेपालका सर्भेयरसँग नागरिक उडड्यन सर्भे गर्ने क्षमता नभएर हो या सम्बन्धित निकायले तपाईंहरूको क्षमतामा नजरअन्दाज गरेको हो ? यहाँ खुट्टा तान्ने प्रवृति व्याप्त छ । पोखरामा प्लेन क्र्यास भएपछि यहाँका सर्भेयरलाई काममा लगाउनका लागि बीमा कम्पनीका सीईओ र प्राधिकरणका कार्यकारी निर्देशकलाई अनुरोध गरेको थिएँ । पोखराका अभिकर्ता साथीहरूलाई तयार रहन पनि भनेको थिएँ । तर, उहाँहरूबाट सहयोग भएन । मैले सार्वजनिक कार्यक्रममा पनि यस विषयको उठान गरेको थिएँ । तर, कम्पनीहरूले हामीले भनेर हुँदैन भन्नु भयो । बाहिरबाट नै सर्भेयर पठाउने अभ्यास छ । बाहिरका पुनर्बीमा कम्पनी, पुनर्बीमा ब्रोकर कम्पनीहरूलाई नेपालको कामको गुणस्तरको बारेमा थाहा छैन, त्यसैले बाहिरबाट नै आएर सर्भे गर्ने काम हुने गरेको छ । नेपालका सर्भेयरलाई पनि एभिएसनको सर्भेको काम गराउन पहल गर्न प्राधिकरणका प्रवक्तासमेत रहेका निर्देशक सुशीलदेव सुवेदीले केही सहजीकरण गर्नु भएको छ । हेरौं, अब केही हुन्छ कि ? सर्भेयरको पारिश्रमिकको विषयमा पनि धेरै चासो हुन्छ, कति पाइन्छ पारिश्रमिक ? हाम्रो दुई किसिमको पारिश्रमिक छ । एउटा मोटर भेइकल पारिश्रमिक । जुन बीमितले माग गरेको इष्टिमेट रकमको आधारमा हामीले पारिश्रमिक पाउँछौं । जस्तो कुनै बीमितले क्षतिको इष्टिमेट ५ लाख रुपैयाँ भनेर माग गरेको अवस्था र ४० लाख रुपैयाँ भनेर बीमितले क्षतिको माग गरेको अवस्थामा त्यसको पारिश्रमिक फरक-फरक हुन्छ । अर्काे, एक्सेप्ट द मोटर । यसमा बीमितले जति माग दाबी गरे पनि सर्भेयरले पेस गर्ने रिपोर्टमा उल्लेख भएको रकमका आधारमा हामीले पारिश्रमिक पाउँछौं । अर्थात्, कुल नोक्सानीका आधारमा हामीले पारिश्रमिक पाउँछौं । ३० किलोमिटर भित्रको काम गर्दा पारिश्रमिक जे हो, त्यही आउँछ । ३० किलोमिटरभन्दा टाढा जानु पर्यो भने भत्ताको पनि सुविधा हुन्छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ह्विल चेयर हस्तान्तरण
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटड लहान शाखाको तर्फबाट पदमोदय फाउन्डेसनलाई १० थान ह्विल चेयर हस्तान्तरण गरेको छ । कम्पनीले विश्व अपाङग दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहामा आयोजित एक कार्यक्रम मार्फत अपाङग भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।