बीमा : सरेन्डर गर्ने र नवीकरण नगर्ने प्रवृत्ति रोकिनुपर्छ

नेपालमा ४ प्रकृतिका ३७ बीमा कम्पनी सञ्चालनमा छन् । जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बीमा कम्पनी दुई र लघुुबीमा कम्पनी ७ वटा (जीवन ३ र निर्जीवन ४ वटा) छन् । सबै प्रकारका बीमा कम्पनीको कार्यक्षेत्र बीमा नियमावलीले स्पष्ट तोकेको छ भने कम्पनीहरूको चुक्ता पुँजी व्यवसायअनुसार छुट्याइएको छ । जीवन बीमा गर्नु भनेको लगानीका साथै जोखिम बहन पनि हो भने निर्जीवन बीमाले सम्पत्तिको सुरक्षामा सहयोग गर्छ । पुनर्बीमा कम्पनीले जीवन र निर्जीवन बीमाले गरेका बीमाहरूको पुनः बीमा गरेर कम्पनीहरूको व्यवसायलाई सुरक्षित र जोखिमरहित बनाउन देश र विदेशमा साझेदारी गर्ने गरेको छ । पछिल्लो समय नेपालमा बीमाको पहुँच बढ्दै गएको छ । राज्यले दिएका सहुलियत र चेतना वृद्धिका कारण बीमाको पहुँच वृद्धि सम्भव भएको हो । चेतना वृद्धिकै कारण देशका कुना-कुनामा बीमा कम्पनीहरूले आफ्नो व्यवसाय फैलाउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको भदौसम्मको तथ्यांकअनुसार जीवन बीमा (म्यादी, आवधिक, वैदेशिक रोजगारी र अन्यसमेत) को पहुँच ४२.९२ प्रतिशत जनसंख्यामा पुगेको छ । तर, अझै पनि ५७.१ प्रतिशत जनसंख्या बीमाको पहुँचबाहिरै छन् । यसले बीमाको सम्भावना अझै धेरै रहेको देखाउँछ । प्राधिकरणले बीमा क्षेत्रको विकास र व्यवसायलाई व्यवस्थित गर्न ‘दोस्रो रणनीतिक योजना २०२३-२०२७’ कार्यान्वयनमा ल्याएको छ । बीमाको पहुँच वृद्धि, कम्पनीमा सुशासन तथा अर्थतन्त्र वृद्धिमा यिस क्षेत्रको भूमिकालाई रणनीतिक योजनाले महत्त्वका साथ उठाएको छ । शिथिल अर्थतन्त्रको प्रभाव पछिल्लो समयमा मुलुुकमा देखिको आर्थिक शिथिलताबाट यो क्षेत्र पनि अछुतो छैन । कम्पनीहरूको आम्दानीको मुख्य स्रोत बैंक तथा वित्तीय संस्थाले दिने मुद्दती निक्षेप (एफडी) को ब्याजदर घट्दै गएको छ । ब्याजदर घट्दा बीमा क्षेत्रको लगानी र प्रतिफल दुुवै घटिरहेको छ । अहिले वित्तीय क्षेत्रमा पर्याप्त तरलता छ । लगानीयोग्य रकम पर्याप्त भए पनि बजारमा आत्मविश्वासको कमी देखिन्छ । अधिक तरलताका कारण वित्तीय संस्थाले थप निक्षेप लिन सक्ने सम्भावना कम हुँदै गएको छ । ऋणको ब्याजदर एकल बिन्दुमा झरेको छ र लामो समयसम्म सस्तोमा ऋण पाउने अवस्था बनेको छ । यद्यपि ऋण अत्यन्तै कम गइरहेको छ । मानिसहरूको क्रयशक्ति न्यून भएका कारण ऋण कम हुँदै गएको बुझ्न सकिन्छ । ऋण बढेको खण्डमा बजारमा पैसा जान्छ । उत्पादन क्षेत्रमा लगानी हुन्छ । लगानी बढेपछि थप रोजगारी सिर्जना हुुन्छ र मानिसहरूको खल्तीमा पैसा आउँछ । खल्तीमा पैसा भएपछि मानिसहरू खर्च गर्न उत्साहित हुन्छ र यसले समग्र अर्थतन्त्रमा चलायमान बनाउँछ । बीमा क्षेत्र पनि अर्थतन्त्रकै एक पाटो हो । बजारमा माग नबढ्दा बीमाक्षेत्र पनि प्रभावित हुन पुुगेको छ । यद्यपि पछिल्लो तथ्यांकले बीमा व्यवसाय बढेकै देखाउँछ । वैदेशिक रोजगारी र म्यादी बीमालाई छोड्दा पनि समग्रमा बीमा व्यवसायको वृद्धि देखिन्छ । म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखसहित करिब ४३ प्रतिशत जनसंख्या बीमाको दायरामा आउनुु बीमा व्यवसाय वृद्धि भएको संकेत हो । पछिल्लो समय बीमालेख समर्पण (सरेन्डर) गर्ने क्रम र मात्रा (भोल्युम) बढेकाले चुनौती थपिएको छ । त्यस्तै, नवीकरण गर्नेको प्रतिशत पनि घटेको देखिन्छ । नवीकरण गराउनकै लागि संस्थाहरूले विभिन्न पुनरुत्थान कार्यक्रम (रिभाइभल स्किम) चलाइरहेका छन् । अहिले आएका चुनौतीले नयाँ व्यापारमा केही न केही संकुचन ल्याएको छ । तर, नवीकरण नगर्ने र सरेन्डर गर्नेको संख्या बढ्नुुले अर्थतन्त्रको वास्तविक चित्र देखाउँछ । बैंकको ब्याजदर बढ्यो भने बीमामा सरेन्डर गर्ने क्रम बढ्छ किनभने बीमामा गरेको लगानी झिकेर बढी ब्याज आउनेतिर मानिसहरूले पैसा राख्ने गरेको पाइन्छ । यो बेला ऋण लिने पनि बढेका हुन्छन् । अप्ठ्यारो अवस्थामा पनि बीमा कसरी अघि बढिरहेको छ भन्ने कतिपयलाई लाग्न सक्छ । तर, मानिसहरूले आफूसँग भएको पैसा कि त लगानी गर्छन् कि त वित्तीय संस्थामा बचत गर्छन् । बीमा भनेको बचत पनि हो । तर, बचतका रूपमा राखिने निक्षेपको ब्याजदर सस्तिँदा मानिसहरू पैसा के गर्ने भनेर अल्मलिएका छन् । त्यस्तै, पुँजीबजारमा आएको उतारचढावले पनि मानिसहरू केही आत्तिएको देखिन्छ । घरजग्गा कारोबार सुस्ताएको छ । बीमामा गरेको लगानी सुरक्षित हुन्छ । संस्थागत रूपमा बीमा कम्पनीले गरेको लगानीको प्रतिफल अहिले कम आउला । तर, अहिलेसम्म गरेको लगानीको पोर्टफोलियो मिसिएर औसत (एभरेजिङ) गर्दा हाल प्राप्त गरिरहेको भन्दा बढी प्रतिफल आगामी दिनमा पाउने अवस्था बन्छ । बीमा गर्दा जोखिम वहन हुनुका साथै केही बचत पनि हुने भएकाले बुझेका मानिसहरू बीमा गर्न प्रेरित हुन्छन् । बीमा र ब्याजदर बैंकको ब्याजदर कम हुँदा बीमा गर्ने बढ्छन् । तर, उनीहरूको अपेक्षाअनुसार बीमा कम्पनीले सेवा दिन सक्छन् वा सक्दैनन् भन्ने मुख्य चुनौती हुन्छ किनभने बीमाको सबैभन्दा बढी लगानी मुद्दती निक्षेपमा हुन्छ । सामान्यतः मुद्दती निक्षेपको ब्याजदर कम भएका बेला वित्तीय संस्था अधिक तरल अवस्थामा हुने भएकाले थप निक्षेप लिन खासै इच्छुक हुँदैनन् । पहिले ऋणको ब्याजदर ज्यादै बढ्दा व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याजदर अन्तर १.५ प्रतिशत थियो । पछि १ प्रतिशतमा आयो । कर्जाको ब्याजदर नै एकल विन्दुमा आएपछि संस्थागत निक्षेपलाई दिइने ब्याजदर र व्यक्तिगत निक्षेपकर्तालाई दिइने व्याजदरमा भिन्नता नहुुनुुपर्ने थियो । तर, नेपालमा फरक बनाइएको छ । बीमा कम्पनीहरूको मुख्य लगानी बैंकको मुद्दती निक्षेपमा हुन्छ । यस्तो अवस्थामा निक्षेपलाई संस्थागत र व्यक्तिगत भनेर छुुट्याइनु न्यायोचित होइन र नेपाल राष्ट्र बैंकले आफ्नो नीतिमा पुनर्विचार गर्नु आवश्यक छ किनभने छरिएर रहेको पुँजीलाई संस्थागत च्यानलभित्र ल्याउने काम बीमा कम्पनीहरूले गरेका छन् । बीमा कम्पनीमा सामान्यतः ६ प्रतिशत बोनस दरको हिसाब भइरहेको हुन्छ । त्यसैले बीमालाई दोहोरो मारमा पर्ने गरी राख्नु हुँदैन । जीवन बीमामा करको असर जीवन बीमाको कर गणना गर्ने विधिमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । बीमा कम्पनीले सुुरुकै नाफामा कर्पोरेट कर ३० प्रतिशत तिर्छन् । बीमाशुल्क (प्रिमियम) का रूपमा आएको रकमलाई लगानी गरेपछि आएको प्रतिफललाई आयका रूपमा गणना गरिन्छ । तर, बिमितलाई बीमाबापत दिइने रकम र दाबी (क्लेम) बापत दिइने रकमलाई कर गणना राखिँदैन, जबकि विकसित मुुलुकमा समायोजन गर्न दिइन्छ । नेपालमा भने करले आयलाई मात्र चिनेका कारण जीवन बीमा कम्पनीहरूलाई असर परिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ०८०/८१ मा ५३ प्रतिशतसम्म अर्थात् दुई अर्ब ५६ करोड रुपैयाँ कर तिरेको छ । कम्पनीले प्रत्यक्ष तिर्नुपर्ने ३० प्रतिशत भए पनि अप्रत्यक्ष रूपमा लाग्ने करको प्रभाव जीवन बीमा कोषमा पर्ने गरेको छ । सही हिसाबले गणना गर्ने विधि भएको भए जीवन बीमा कोषमा रकम थप हुन्थ्यो । बीमा कोष बढ्नु भनेको बीमालेख खरिद गर्नेको हित हुनु हो । बीमा कोषको ९० प्रतिशत प्रतिफल बीमालेख खरिदकर्तालाई जान्छ र १० प्रतिशत मात्र सेयरधनीलाई जान्छ । यसलाई नीतिगत रूपमै सुधार गर्नुपर्ने आवश्यकता छ । नेपाल स्रोतको कमी भएको मुलुक हो । राज्यले सामाजिक सुरक्षाको अवधारणा अगाडि सारेको छ । तर, सामाजिक सुरक्षामा कति जोडिएका छन् त ? यसमा धेरैलाई जोड्न सकिएको छैन । सामाजिक सुरक्षामा बीमाले केही हदसम्म सहयोग गरेको छ । राज्य आफैंले गर्नुपर्ने काम जनताले बीमामार्फत सेवा दिएका छन् । बीमाको पहुँच बढाउन राज्यको भूमिका ४३ प्रतिशतमा बीमाको पहुुँच पुगेको भनिए पनि यथार्थ (कोर) मा १७÷१८ प्रतिशत छ । वैदेशिक रोजगारी, लघु र म्यादी बीमालाई जोड्दा ठुलो हिस्सा देखिएको हो । यद्यपि केही वर्ष अगाडिसम्म न्यून रहेको बीमाको पहुँच वृद्धि भएको छ, त्यो सबै पक्ष आक्रामक तरिकाले प्रस्तुत भएकाले सम्भव भएको हो । बीमाको पहुँच बढाउन राज्यले दिँदै आएको प्रिमियमबापत ४० हजारसम्मको कर छुटलाई बढाएर न्यूनतम एक लाख रुपैयाँ पुर्‍याउनुपर्छ । यसले बीमाको विस्तार बढ्नुका साथै राज्यले दिन नसकेको ‘कभरेज’ बीमा मार्फत हुन्छ । जनताले आफ्नै खल्तीबाट पैसा तिरेर सुरक्षित भइरहेको हुन्छ । कारोबार बढेपछि राज्यले पनि कर्पाेरेट कर पाउँछ । बीमा बजार बढ्यो भने राज्यलाई नै फाइदा हुने हो । बीमा बजारमा वित्तीय औजारको पनि आवश्यकता छ । जीवन बीमा कम्पनीले १५ देखि २० वर्षको बचत योजना ल्याएका हुन्छन् । तर, कम्पनीहरूसँग सम्पत्ति आर्जन गरेर लगानी गर्नलाई कुनै औजार छैन । ‘इक्विटी मार्केट’ केही मात्रामा भए पनि सबै पैसा त्यहाँ राख्न सकिँदैन । राज्यको पुँजीगत खर्च भएन, उत्पादन क्षेत्रमा पैसा गएन, अरू क्षेत्रको पैसा पनि प्रविधि क्षेत्रमा गएन भनिरहेको अवस्था छ । बीमा क्षेत्रलाई विभिन्न ऋण (बन्ड) को खाँचो छ । बीमा क्षेत्रले नियमित नगद प्रवाह (क्यास फ्लो) हुने र आगामी दिनमा इक्विटीमा परिवर्तन गर्न सकिने हाइब्रिड वित्तीय औजारको आवश्यकता छ । यसले राज्यका पूर्वाधार पनि बन्छन् भने बीमा कम्पनीहरूलाई वित्तीय औजारको अवसर पनि प्राप्त हुुन्छ । बीमा क्षेत्रलाई चलायमान बनाउन र आवश्यक सहजीकरण गर्न राज्य जिम्मेवारीपूर्वक प्रस्तुत हुनुुपर्छ । नियामकले आ–आफ्नो पक्षबाट राज्यको आवश्यकताअनुसार काम गर्नुपर्छ र अफ्ठ्यारो परेको ठाउँ खुला गर्न जहिले पनि तयार हुनुुपर्छ । निष्कर्ष बीमाको पहुँच बढाउन र महत्त्व बुझाउन बीमा शिक्षालाई बालबालिकासम्म पुर्‍याउनुपर्छ । त्यसका लागि विद्यालय पाठ्यक्रममा बीमा शिक्षा हुनुपर्छ । राज्यबाटै बीमा किन चाहिन्छ भनेर बुझाउन सक्नुपर्छ । निक्षेपमा दिने ब्याजदर ‘डाइनामिक’ हुनुपर्छ । एउटा नीति लागू गरेपछि सधैं निरन्तरता दिएर हुँदैन । संस्थागत निक्षेपको अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्छ । नीति-नियम सधैं स्थिर हुनु हुँदैन । बीमा ऐनमा सहायक कम्पनीबाट लगानी गर्न मिल्ने भएकाले नेपाल लाइफले सहायक कम्पनीमार्फत लगानी विविधीकरण गरिरहेको छ । तर, यस्ता कम्पनीलाई लगाइने करमा पनि हेरफेर गर्नुपर्छ । व्यवसाय प्रवर्धन (प्रमोसन) का लागि केही वर्ष सहज अवस्था बनाउनुपर्छ । दिनानुुदिन प्रविधिको पहुँच बढिरहेको छ । प्रविधिमा आधारित सेवा विस्तारमा संस्थाहरूले ध्यान दिनुपर्छ र सरकारले पनि प्रोत्साहन गर्नुपर्छ । बजार डाइनामिक भएकाले ग्राहकले सेवा पनि त्यहीअनुसारको खोजी गर्छन् । निश्चित अवधि पुगेपछि सरेन्डर किन भइरहेको छ । सरेन्डर गर्नुपर्ने आवश्यकता हो कि अरू कुनै कारण छन् खोजीकै विषय छ । यद्यपि सरेन्डर कम गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता छ । कहिलेकाहीं बिमितले नबुझेरै सरेन्डर गरेको हुन सक्छ । बीमालेख सरेन्डर गरिरहँदा बिमितलाई भोलि त्यही मूल्यमा बीमालेख पाइँदैन भन्ने बुुझाउनुु आवश्यक छ । बीमालेख बिक्री गर्दा नै बीमा कम्पनीले यस्ता विषय बुझाउनुपर्छ । कुनै ‘लुपहोल’ का कारण बिमितलाई असर पर्ने र संस्थालाई फाइदा हुने परिस्थिति बन्नुु हुँदैन । बिमित र कम्पनीलाई असर पुर्‍याउने नीति बनाइनु हुँदैन । (पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा जीवन बिमक संघ नेपालका उपाध्यक्ष हुन् । अर्थचित्रबाट)

सूर्यज्योतिले कर्मचारीका लागि गर्‍यो साढे ७२ करोड खर्च, १३७ प्रतिशतले बढ्यो बोनस

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीले पाउने बोनस १३७ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आवको तुलनामा १३७ प्रतिशत बढी बोनस वितरण गरेको हो । कम्पनीले सार्वजनिक गरेको आव २०८०/०८१ को वित्तीय विवरणअनुसार कम्पनीले कर्मचारीहरूका लागि ११ करोड ७० लाख २८ हजार रुपैयाँ बोनस बाँडेको छ । अघिल्लो आवमा कम्पनीले ४ करोड ९३ लाख ५३ हजार रुपैयाँ बोनस बाँडेको थियो । गत आवमा कम्पनीको तलबवापतको खर्च पनि १२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको तलबवापतको खर्च १९ करोड ८९ लाख ५२ हजार रुपैयाँ थियो । गत आवको कम्पनीले तलबवापत २२ करोड २८ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । गत वर्ष कम्पनीले कर्मचारी बेनिफिटका लागि कुल ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा यस्तो खर्च ६२ करोड ६२ लाख ४१ हजार रुपैयाँ थियो । कुन शीर्षकमा कति खर्च ? भत्तावापत १८ करोड २८ लाख, पर्व भत्तावापत २ करोड ९३ लाख ९५ हजार, उपदानवापत ३८ लाख ११ हजार, बिदावापत २ करोड ९१ लाख ५२ हजार, सञ्चय कोष र सामाजिक सुरक्षा कोषका लागि २ करोड ६३ लाख ८९ हजार, उपदान खर्चवापत ९७ लाख ३९ हजार, बिदाको नगद भुक्तानीवापत १ करोड २ लाख ९८ हजार, टर्मिनेशनवापत २ करोड ३७ लाख, तालिम खर्चवापत ७२ लाख ७१ हजार, पोशाक खर्चवापत २७ लाख ९९ हजार, कर्मचारीको बीमावापत १ करोड ३९ लाख ९१ हजार र कर्मचारी कल्याणका लागि १६ लाख ६ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ । यसैगरी, कर्मचारी अनुदानवापत ८७ लाख ५८ हजार, अन्य सुविधावापत १८ लाख ८३ हजार, आउटसोर्स गरिएको कर्मचारी खर्च १ करोड ९७ लाख १९ हजार, प्रिपेड कर्मचारी लाभहरूको परिशोधनवापत १ करोड ५६ लाख ६८ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको त्रिदिवसीय ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने ‘चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम’ काठमाडौंस्थित होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरूलाई कम्पनीकी चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक् परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनोट भएका सबै अभिकर्ताहरूलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गरेकी थिइन् । उनले आर्थिक वर्ष २०८०/८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरूको अतुलनीय योगदान रहेको बताइन् । साथै उनले कम्पनीको वित्तीय सूचकहरू पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तीय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरू, बीमितहरूलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिति, व्यापक अभिकर्ता सञ्जाल आदि सबैले आउने दिनहरूमा कम्पनीले थप प्रगति गर्नेमा विश्वस्त रहेको बताइन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरू सुरू गरेको र यसबाट व्यावसायिक अभिकर्ताहरूलाई प्रत्यक्ष लाभ पुगेको बताए । साथै उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगतदेखि नै प्रयास गर्दै आइरहेको हुँदा उत्कृष्ट व्यवसाय गर्ने व्यावसायिक अभिकर्ताहरू थप उत्साहित भएको बताए । कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । यस्तै, चर्चित प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै कुनै पनि कार्यमा सफलता हासिल गर्नका लािग आफ्नो काममा विशेष फोकस गर्नुपर्ने बताए । समारोहमा आर्थिक वर्ष २०८०/८१ मा १०० वा सोभन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरू, नेशनल स्टार र नेशनल सुपरस्टार घोषित अभिकर्ताहरू, विगत १० वर्षदेखि निरन्तर चेयरपर्सन क्लबमा छनोट हुने अभिकर्ताहरू, आर्थिक वर्ष २०८०/८१ मा सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरूलाई पनि विशेष सम्मान गरिएको थियो । यसैगरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने एक जना गरी ७ जना अभिकर्ताहरूलाई सम्मान पत्र र नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । सम्मानित बिजनेस लिडरहरूले कम्पनीकी अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।