१ सय रुपैयाँमै एनएलजी इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज माघ २० गतेदेखि अवितिरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । अर्थात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको २९ हजार ९७७ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५ कित्ता गरी कुल ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको सेयर माघ २७ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको उक्त सेयरमा लगानीकर्ताले एनएलजी इन्स्योरेन्सको विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर मूलय प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । सर्वसाधारण सेयरमा कम्तिमा १ सय कित्ता र संस्थापक सेयरमा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
कानुनको धज्जी उडाउँदै बीमा कम्पनी, स्थापना कालदेखि नै छैनन् ‘डीसीईओ’, नियामक मौन
काठमाडौं । कुनै पनि बीमा कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को पद ३ महिनाभन्दा बढी रिक्त राख्न पाउँदैनन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० अनुसार कुनै पनि कम्पनीको डीसीईओ पद रिक्त भएको ३ महिनाभित्र पदपूर्ति गरिसक्नु पर्ने छ । ‘उपकार्यकारी प्रमुख पद रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिसक्नु पर्नेछ,’ निर्देशिकाको दफा २८ को उपदफा ३ मा लेखिएको छ । यसरी कानुनमा नै उल्लेख भएको व्यवस्थालाई बीमा कम्पनीहरूले वेवास्ता गर्दै आएका छन् । नियमनकारी निकायले पनि एक्सन लिन नसक्दा कम्पनीहरूले कानुनको लक्ष्मणरेखालाई मिच्दै आएका छन् । कानुनमै यस्तो व्यवस्था भए पनि यहाँ केही कम्पनीमा एक वर्षसम्म पनि डीसीईओविहीन छन् अनि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण मौन रहेको छ । हाल नेपालमा ३७ वटा बीमा कम्पनीहरू रहेका छन् । १४ जीवन, १४ निर्जीवन, २ पुनर्बीमा र ७ वटा लघु बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये ८ वटा कम्पनीमा डीसीईओको पद रिक्त रहेको छ । केही कम्पनीमा महिनौंदेखि डीसीईओ पद रिक्त रहेको छ भने केही कम्पनीले स्थापनादेखि नै डीसीईओमा पदपूर्ति नै गरेका छैनन् । कुन-कुन कम्पनीमा छैनन् डीसीईओ ? सन् नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेटलाइफ, नेशनल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टीमा माइक्रो लाइफ इन्स्योरेन्समा डीसीईओ पद रिक्त रहेको छ । सन् नेपाल लाइफ ७औं वर्ष पार गरेर अहिले ८औं वर्षमा चल्दै छ । ८ वर्षमा प्रवेश गरेको कम्पनीले हालसम्म डीसीईओ पदमा कसैलाई नियुक्त नै गरेको छैन । अर्थात ८ वर्षसम्म कम्पनी डीसीईओ विहीन छ । यद्यपि कम्पनीले अबको १ महिनाभित्र डीसीईओ पाउने निश्चित भने छ । आईएमई लाईफको निवर्तमान सीईओ कवि फुँयाल सो कम्पनीमा डीसीईओ बन्दै छन् । स्रोतका अनुसार उनी अबको १ महिनाभित्रै सो कम्पनीको डीसीईओमा नियुक्त हुनेछन् । कुनै पनि कम्पनीको सीईओ भएपछि अर्काे कम्पनीमा आवद्ध हुनका लागि ६ महिना कुलिङ पिरियड लाग्नेछ । सोही कुलिङ पिरियड कुरेर बसेका छन् फुँयाल । उनी आईएमई लाइफबाट गत भदौ ७ गते बाहिरिएका थिए । फागुनको ७ गते उनको कुलिङ पिरियड सकिँदै छ । कुलिङ सकिएपछि उनी सनको डीसीईओ बन्ने बुझिएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स विगत ५ महिनदेखि डीसीईओ विहीन छ । गत भदौ २८ गते तत्कालिन डीसीईओ नवीन सुवेदीले राजीनामा दिएर बाहिरिएसँगै कम्पनीमा डीसीईओ पद रिक्त रहेको छ । सो कम्पनीले पनि अबको केही दिनमा नै डीसीईओ पाउने निश्चित रहेको छ । सानिमा जीआईसीकी उपमहाप्रवन्धक रहेकी रेना रिजाल यूनाईटेड अजोडमा डीसीईओ बनेर जाँदै छिन् । उनी सानिमा जीआईसीबाट बिदाई पनि भएकी छिन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स पनि विगत ५ महिनादेखि डीसीईओ विहीन रहेको छ । कम्पनीको तत्कालीन डीसीईओ अन्जु श्रेष्ठ गते भदौ ३० गते सीईओमा नियुक्त भएसँगै कम्पनीमा डीसीईओ पद रिक्त रहेको छ । विदेशी स्वामित्वको कम्पनीहरू मेटलाइफले डीसीईओ पदको संरचना नै बनाएको छैन । प्राधिकरणले केही महिनाअघि डीसीईओ नियुक्त गर्नु भन्दै पठाएको पत्रको जवाफमा कम्पनीले डीसीईओ सरहकै काम गर्ने पद कम्पनीमा रहेको उल्लेख गरेर जवाफ पठाएको थियो । यस्तै, विदेशी स्वामित्वको अर्काे कम्पनी नेशनल इन्स्योरेन्स कम्पनी पनि विगत लामो समयदेखि डीसीईओ पद रिक्त रहेको छ । लघु बीमा कम्पनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टीमा माइक्रो लाइफले स्थापनका कालदेखि नै डीसीईओ पद सृजना गरेका छैनन् । यी दुवै कम्पनीले गत वर्षदेखि कारोबार सुरु गरेका हुन् । सूर्यज्योति लाइफ इन्स्योरेन्समा विगत २ महिनादेखि डीसीईओ पद रिक्त रहेको छ । कम्पनीको तत्कालीन डीसीईओ पवनकुमार खड्का आईएमई लाइफको सीईओ बनेपछि कम्पनीमा डीसीईओ पद रिक्त भएको छ । भलै कम्पनीले डीसीईओ नियुक्त गर्ने समय एक महिना बाँकी नै छ । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले प्राधिकरणले जारी गरेको निर्देशिका सबै कम्पनीहरूले पालना गरेर डीसीईओ नियुक्त गर्नुपर्ने धारणा व्यक्त गरे । डीसीईओ पद भविष्यमा कुन मान्छेले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पोस्ट लिन सक्छ भनेर सृजना गरिएकाले यो सबै कम्पनीले डीसीईओ पदपूर्ति गर्नेुपर्ने उनको धारणा छ । यसले कम्पनीलाई मजबुद गराउने उनको भनाइ छ । उनले भने, ‘कतिपय कम्पनीले डीसीईओ पद सृजना नगरे पनि कर्मचारीको दोस्रो वरीयताको पद सृजना भने गर्नै पर्दछ ।’ प्राधिकरण भन्छ- ‘कारबाही गर्छौं प्राधिकरणका निर्देशक कमल रेग्मीले तोकिएको समयभित्र डीसीईओ पदपूर्ति नगर्ने कम्पनीलाई कारबाही गर्ने जनाएका छन् । कानुन तथा नियमन महाशाखाका प्रमुख समेत रहेका रेग्मीले विगतमा पनि सचेत गराएको उल्लख गर्दै ३ महिनाभन्दा धेरै अवधि डीसीईओ पद रिक्त रहेका कम्पनीलाई कारबाही गर्ने चेतावनी दिए । ‘हामीले केहि महिनाअघि पनि कम्पनीहरूलाई डीसीईओ नियुक्त गर्नु भनेर पत्र पठाएका थियौं,’ उनले भने, ‘कम्पनीहरूले अटेर गरेको देखियो । अब हामी कारबाही गछौं ।’ के कारबाही गर्नुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘कानुनअनुसार कारबाही हुन्छ । हामी फेरि पत्र काट्छौं, स्पष्टीकरण लिन्छौं अनि कानुन बमोजिम कारबाही गछौं ।’
‘जीवनका लागि न्यानो साथ’ अभियानमा सूर्यज्योति, विभिन्न प्रदेशमा सिरक तथा न्यानो ज्याकेट वितरण
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सूर्यज्योतिको ‘जीवनको लागि न्यानो साथ’ अभियान सञ्चालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । ज्योतिले देशभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो । उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागि विभिन्न सावधानीका उपायहरू अपनाउन अनुरोध पनि गरेको छ । मधेस प्रदेशअन्तर्गत कलैयामा स्थित अमृता अनाथ आश्रम कलैयाका बालबालिकाहरूका लागि २२ वटा ज्याकेट र जनकपुरस्थित श्री नारायण बाबा दलित जनजाति स्कुलका विद्यार्थीहरूका लागि ४६ वटा गरि ६८ वटा न्यानो ज्याकेट वितरण गरेको छ । बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लामा अवस्थित पाटन सामुदायिक पुन:स्थापना संस्थाको सहकार्यमा अपाङ्गता समस्या भएका बालबालिका तथा युवाहरूका लागि ५० वटा न्यानो ज्याकेट वितरण गरेको छ । त्यस्तै, गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको काठेखोला गाउँपालिका ५, बिहुदहपानी अवस्थित बालग्राम आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि ८५ वटा न्यानो ज्याकेट वितरण गरेको छ । त्यस्तै, लुम्बिनी प्रदेश,कपिलवस्तु जिल्लाअन्तर्गत महाराजगञ्ज नगरपालिका वडा नं. १०, हदौना क्षेत्रका अति विपन्न ५ सय परिवारहरूलाई ५ सय वटा न्यानो सिरक वितरण गरिएको छ ।