नेपाल माइक्रो इन्स्योरेन्स र बालाजु अटो वर्क्सबीच बीमा सहकार्य सम्झौता

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुनेगरी अग्नि समूह अन्तर्गत बालाजु अटो वर्क्ससँग बीमा सहकार्य गर्ने भएको छ ।  बिहीबार आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।  दुवै पक्षबीच महिन्द्रा ब्राण्डको सवारी साधनको बीमा तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनिलराज गिरी र बालाजु अटो वर्क्सको तर्फबाट नायव महाप्रबन्धक शिवसुदन श्रेष्ठले हस्ताक्षर गरे ।  उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रबन्धक सुशन थापा र नायव प्रबन्धक अमृत अधिकारी तथा बालाजु अटो वर्क्सका सहायक महाप्रबन्धक सन्तोषकुमार अधिकारी समेतको उपस्थिति रहेको थियो। 

उत्कृष्ट बीमा अभिकर्ता बन्दै सुकुना अधिकारीले पाइन् एक तोला सुन

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको छ । उत्कृष्ट अभिकर्तालाई समान तथा पुरस्कार वितरण र प्रडक्ट लन्च कार्यक्रममा कम्पनीले सम्मान गरेको हो । ३ हजारभन्दा बढी अभिकर्ताबाट कम्पनीले उत्कृष्ट छनोट गरेको हो । उत्कृष्ट सुकुना अधिकारी शिवाकोटीले ५४ अंक ल्याई एक तोला सुन पुरस्कार पाएकी छिन् । यसैगरी, मनकुमारी निरौलाले ४६.३८ अंक ल्याइ द्वितीय भइन् । उनले प्रमाणपत्रसहित दुई तोला चाँदी पाइन् । अन्य बाँकीले पनि प्रमाणपत्रसहित दुई तोला चाँदी प्राप्त गरे । प्रदेशबाट उत्कृष्ट भएकाहरूले भने ३ तोला चाँदी पाएका छन् । बीमा कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत महेश रिमालले कम्पनी सधैं अभिकर्ताको साथमा रहने बताए । उनका अनुसार अहिलेका कम्पनीहरू अभिकर्तामैत्री बन्दै गएको छ ।  उनले अभिकर्ता अभिन्न अंग रहेको जानकारी दिए । 'हामीले अभिकर्तालाई कर्मचारीसरह सम्मान गर्नुपर्छ । उनीहरू अभिन्न अंग हुन्,'रिमालले भने । उनका अनुसार कम्पनीले अहिले अनलाइनबाटै बिमालेख सुविधा ल्याइसकेको छ ।  उत्कृष्ट दश अभिकर्ता : १. सुकुना अधिकारी शिवाकोटी २.मनकुमारी निरौला ३. बद्रीप्रसाद उप्रेती  ४. लीलाबहादुर श्रेष्ठ ५. विशिश्वर अधिकारी ६. धर्मराज जोशी  ७. टीका खड्का ८. शान्ति महर्जन ९. बाशुजंग पाण्डे १०. विश्वनाथ प्याकुरेल

आईएमई लाइफ र मेडिसिटी अस्पतालबीच सहकार्य : बीमित, अभिकर्ता र कर्मचारीलाई १० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मेडिसिटी हस्पिटलबीचको सहकार्यपछि अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अस्पतालको सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । साथै, हेल्थ चेकअप प्याकेजमा पनि विशेष सहुलियत प्रदान गरिनेछ । छुट सुविधा प्राप्त गर्न बीमितले आईएमई लाइफको मोबाइल एपमा उपलब्ध 'प्रिभिलेज कार्ड' देखाउनुपर्नेछ । अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीद्वारा जारी आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधा लिन सक्नेछन् । कम्पनीले उक्त सहकार्यलाई आफ्नो सेवाग्राहीप्रतिको प्रतिबद्धता तथा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिएको बताएको छ । यो पहलले कम्पनी र अस्पतालबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउनुका साथै सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।