बोनस सेयर सूचिकरणमा गडबढी भेट्टिएपछि लुम्बिनी फाइनान्सको सेयर कारोबार बन्द

काठमाडौं, २ कात्तिक । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयर कारोबार बन्द गराएको छ । सिडिएसले मंगलबार नेप्सेलाई पत्र लेख्दै उक्त फाइनान्सको कारोबार बन्द गराएको हो । स्रोतका अनुसार उक्त फाइनान्स कम्पनीको बोनस सेयर सूचिकरणको क्रममा गल्ती भेटिएपछि कारोबारमा रोक लगाएको हो । उक्त गल्ती कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटलबाट भएको हो । बोनस सेयर सूचिकरणको क्रममा केही सेयरधनीको बोनस सेयर हुनु पर्नेभन्दा कम विवरण बुझाएको स्रोतले बतायो । सामान्य प्राविधिक कारणले सेयर कारोबार रोकिन गएकोले त्यसलाई सच्याएर तत्काल सेयर कारोबार खुलाउन पहल भएको लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले बताए । एक दुई दिनमा नै सेयर कारोबार खुला हुने उनले बताए ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक चाँडै संसद्मा पेस गरिने

काठमाडौं, २ कात्तिक । बैंकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेस गरिने भएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको मंगलबारको बैठकले उक्त विधेयकलाई व्यवस्थापिका–संसद्को बैठकमा चाँडो पेस गर्ने गरी समितिबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो । समितिका सभापति प्रकाश ज्वालाले समितिको आगामी बैठकमा विधेयकमाथि दफाबार छलफल गरेर अन्तिम रुप दिने र त्यसका लागि अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर एवम् पूर्व अर्थमन्त्रीसँग अनौपचारिक छलफल गरेर निष्कर्षमा पुग्ने बताए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैठकमा लामो छलफल भई धेरै समस्याको समाधान भइसकेको अवस्थामा चाँडो विधेयकलाई अगाडि बढाउन समितिलाई आग्रह गरे । वर्षौंसम्म विधेयकलाई रोक्न नहुने उनको भनाइ थियो । “सबै विषय ऐनमा नै हुनुपर्छ भन्ने भन्दा पनि नियम तथा निर्देशनबाट समेत नियमनका काम गर्न सकिन्छ त्यसतर्फ ध्यान दिँदै जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्छ,” उनले भने । त्यसैगरी बैठकमा सहभागी पूर्व अर्थमन्त्री एवम् सांसद डा रामशरण महतले कानुनले सबै व्यवस्थापन गर्न खोज्नेभन्दा पनि त्यसका लागि अन्य उपाय अवलम्बन गरी चाँडो विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बैठकमा सांसदहरु शक्ति बस्नेत, इच्छाराज तमाङ, उदयशमशेर राणा, विमल केडिया, जगदिशनरसिंह केसी, सुवोध पोखरेल, दीपक कुइँकेल र शेरबहादुर तामाङले आ–आफ्नो धारणा राखेका थिए । यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्था निजीभन्दा पनि जनताको निक्षेप सङ्कलित सार्वजनिक संस्था भएकाले बैंकको सुरक्षाका लागि नियमन निकायलाई सबल बनाउनुपर्नेमा जोड दिए । अर्थसचिव डा शान्तराज सुवेदीले बैंक तथा वित्तीय संस्था जनताको विश्वासमा चल्ने भएकाले त्यसलाई कायम राख्नका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ऐन तयार गरिनुपर्ने बताए । त्यसैगरी राजस्व सचिव राजन खनालले बैंक डुब्दा जनताको लगानी जोखिममा पर्ने र बैंक तथा वित्तीय संस्थाबाट जनताको रकम नोक्सानी भएमा सरकारले व्यहोर्नुपर्ने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए। रासस

एभरेष्ट बैंकद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना

काठमाडौं, १ कात्तिक । बाइसौं वार्षिकोत्सवको अवसर पारेर एभरेष्ट बैंकले कार्तिक १ गते आफ्नो मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त कार्यक्रममा लगभग २५० व्यक्तिले ग्रयाण्ड अस्पतालका चिकित्सक टोलिबाट परामर्शरउपचार पाएका छन् । शिविरमा ई.एन.टि., दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका सेवाहरू उपलव्ध थिए । शिविरको उद्देश्य विभिन्न स्वास्थ्य समस्याहरुको प्रारम्भिक निदान कसरि गर्ने भन्ने बारे थियो, जसमा चिकित्सक टोलिले ती समस्यासंग सम्बन्धित सतर्कता र समाधानका उपाय बताएका थिए ।