मुक्तिनाथ विकास बैंकको नाफा ४२ करोड ७५ लाख, खराव कर्जा शुन्य

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा मुक्तिनाथ विकास बैंकको नाफा बढेको छ । गत चैतसम्म बैकले ४२ करोड ७५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३५ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो । यो वर्ष ७ करोड रुपैयाँ नाफा बढेको बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १ प्रतिशत भन्दा कम रहको जनाएको छ । निक्षेप लागत बढेर ८.७५, आधार ब्याजदर १२.३१, स्प्रेड दर ६.४९ प्रतिशत छ । यस्तै प्रतिसेयर आम्दानी २२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकले समीक्षा अवधिमा निक्षेप परिचालन साढे ६ अर्ब रुपैयाँ बढाएर २४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप १५ अर्ब १४ करोड रुपैयाँ थियो । गत चैतसम्म कर्जा लगानी पनि साढे ६ अर्ब विस्तार भई २१ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी १४ अर्ब १७ करोड रुपैयाँ थियो । बैंकको चुक्तापुँजी २ अर्ब ५९ करोड र संचित कोषमा ८० करोड ४६ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

संचय कोषको प्रशासकमा तुलसीप्रसाद गौतम नियुक्त

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा राष्टिय योजना आयोगका प्रवत्ता तुलसीप्रसाद गौतमलाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रिक्त प्रशासक पदमा गौतमलाई नियुक्त गरेको हो । छनौट समितिमा पहिलो नम्बरमा रहेका गौतमलाई सरकारले कोषको प्रशासक बनाएको हो । कोषका नायवप्रशासक दीपक रौनियार र  राजेन्द्र काफले प्रतिस्पर्धामा थिए । गौतम राष्टपति विद्यादेवी भण्डारीसगै अध्ययन गरेका र अर्थमन्त्री डा. युवराज खतिवडा निकट रहेका छन् ।

एनएमबी र सिटिजन्स बैंकको प्रिमियम मूल्य एफपीओ आउदै, हेर्नुस कसको कति

काठमाडौं । दुई वाणिज्य बैंकले प्रिमियम मूल्यमा १ करोड १८ लाख ७८ हजार कित्ता थप निष्कासन (एफपीओ) गर्ने भएका छन् ।एनएमबी बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपीओ निष्कासन गर्न लागेका हुन् । एनएमबीले चुक्तापुँजी बढाउन र सिटिजन्सले लगानी संरचना परिवर्तन गर्न एफपीओ निष्कासन गर्न लागेका हुन् । एनएमबीले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कास गर्न लागेको हो । बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छ । उसले एफपीओ निष्कासन गर्न गत जेठ २० गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले अझै १ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन बाँकी छ । बैंकले आउदो असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । यस्तै सिटिजन्स बैंकले प्रिमियम मूल्यमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासन गर्नका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि एफपीओ निष्कासन गर्ने बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १४५ रुपैयाँ प्रिमियम थप गरी २४५ रुपैयाँमा एफपीओ निष्कासन गर्ने बैंकको डेपुटी सीईओ गणेशराज पोखरेलले जानकारी दिए । उनका अनुसार एफपीओबाट बैंकले कुल ११ करोड ३६ लाख ३७ हजार रुपैयाँ प्राप्त गर्नेछ । बैंकले प्रिमियम आम्दानी मात्र ६ करोड ७२ लाख रूपैयाँ आम्दानी हुनेछ । संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ बनाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयर ५१ प्रतिशत अलि बढी भएपछि यसलाई सीमामा झार्न एफपीओ निष्कासन गर्न लागेको पोखरेलले जानकारी दिए । एफपीओलाई इक्रा नेपालले ३ रेटिङ गरेको छ । बैंकको चुक्तापुँजी बढेर ८ अर्ब २ करोड रुपैयाँ नाघेको छ ।