प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न रेटिङ गराउदै नेपाल बैंक

काठमाडौं । नेपाल बैंकले प्रिमियम मूल्य थप निष्कासन(एफपीओ) ल्याउन रेटिङ को काम सुरु गरेको छ । एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा जानुअघि बैंकले रेटिङको काम थालेको हो । रेटिङको काम सकिएपछि एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । उनले एफपीओको काम सकिएको जानकारी दिदै रेटिङको काम सकेर छिट्टै बोर्डमा जाने जानकारी दिए । उनले सकेसम्म छिट्टै एफपीओ निष्कासन गर्ने बताए । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

९ महिनामा ज्योति विकास बैंकको नाफा २२ करोड २४ लाख

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ज्योति विकास बैंकको खुदनाफा बढेको छ । गत चैतसम्म बैंकले २२ करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १९ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन सन्तोषजनक रुपमा विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.२७, निक्षेप लागत ९, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.३०, आधार ब्याजदर १२.६५ र कर्जा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) ५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकले ५३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको संचित कोष बढेर ४२ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

सनराइज बैंकको नाफा ९ करोड बढेर ९४ कराेड पुग्याे

काठमाडौं । सनराइज बैंकको नाफा ९ करोडले वृद्धि भएको छ । २०७३ चैत मसान्तमा ८५ करोड नाफा कमाएको बैंकले २०७४ चैत मसान्तसम्ममा ९४ करोड नाफा आर्जन गरेको हो । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेर ५७ अर्ब कर्जा लगानी गरेको छ । ८ अर्ब १५ करोड पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । बैंकले पछिल्लो तीन महिनामा २ अर्ब क्षिेप वृद्धि गरेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४१ करोड छ भने ब्याज खर्च ३ अर्ब ४६ करोेड रहेको छ । सनराइज बैंकको खराब कर्जा १.४५ प्रतिशत छ भने आधार ब्याजदर ११.३४ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७७.९० प्रतिशत रहेको छ । बैंकले ४१ करोड प्रोभिजन गरेको छ भने राइट ब्याकबाट ४१ करोड रुपैंयाँ नै प्राप्त गरेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.११ रुपैंयाँ रहेको छ ।