प्रभु बैंक लिमिटेडद्वारा कम्प्युटर हस्तान्तरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आइरहेको छ । बुधबार एक कार्यक्रमवीच काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई बैंककोतर्फबाट ५ थान कम्प्युटर हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले विभिन्न क्रियाकलापअन्तर्गत भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई, वृक्षारोपण लगायतका सामाजिक कार्यहरुमा प्रत्यक्ष सहभागीता जनाउँदै आएको जानकारी गराएको छ ।

राष्ट्र बैंकले दियो २० अर्ब, बैंकले लिए ७ अर्ब ९० करोड, बिहीबार १० अर्ब बजारमा पठाउदै

काठमाडौं । बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ७ अर्ब ९० करोड रुपैयाँ मात्र उठाएका छन् ।  बैंकिङ प्रणालीमा तरलताको अवस्था कम भएर अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले बुधबार रिपो वित्तीय उपकरणमार्फत बजारमा २० अर्ब रुपैयाँ पठाउदा ९ बैंकले मात्र सो रकम मात्र उठाएका हुन् । जसमा २ विकास बैंक र ७ वाणिज्य बैंक रहेका छन् । रिपोमार्फत केन्द्रीय बैंकले बिहीबार पुनः बजारमा १० अर्ब रुपैयाँ पठाउदै छ । केन्द्रीय बैंकले अल्पकालिन तरलताको समस्या समधान गर्न रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता कम भई अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजार हस्तक्षेप गर्न सो रकम पठाउन लागेको हो । राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि थप रकम बजारमा पठाएर हस्तक्षेप गर्दै आएको छ । रिपोको अवधि २ साताको हो । चालु आर्थिक वर्षको आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ ।

गरिमा विकास बैंकको नाफा २८ करोड १५ लाख

काठमाडौं । गरिमा विकास बैंकले ३ महिनामा १० करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले गत चैतसम्म २८ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आवको चैतमा बैंकले २४ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको ब्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गत चैतसम्म बैंकले ६९ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी गत पुसमा ४३ करोड ७९ लाख रुपैयाँ थियो । ३ महिनामा बैंकले ब्याज आम्दानी मात्रै ३० करोड रुपैयाँ बढाएको छ । पुसको तुलनामा बैंकको निष्क्रिय कर्जा बढेर ०.७८ प्रतिशत पुगेको छ । गत पुसमा बैंकको निष्क्रिय कर्जा ०.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ८.७५, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.९३, आधार ब्याजदर १२.१७ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ६ प्रतिशत छ । बैंकको संचित कोष बढेर ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै समीक्षा अवधिमा बैंकले १८ अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरी १७ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।