ज्योति विकास बैंकको संस्थापक सेयर बिक्री खुला

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर बिक्री खुला भएको छ । केही संस्थापकले सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बैंकले प्रक्रिया अघि बढाएको हो । बैंकले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिन भनेको छ । पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिने बैंकले स्पष्टपारेको छ । बैंकले प्रस्तावित खरिद दर पनि मागेको छ ।

प्रभु बैंकका ग्राहकलाई नेपाल मेडिसिटी हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र ललितपुरको नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) बीच प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भयो । उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ । सम्झौता पश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका उल्लेखित ग्राहकहरु नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) को उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गरी लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।  

हिमालयन बैंक र ईन्टरनेशनल फाइनान्स कर्पोरेशनबीच लगानी सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसि) बीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोकशम्शेर राणा र आइएफसिका तर्फबाट आवाशिय प्रतिनिधि एमरेहान रशिदले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार आइएफसिले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो । हिमालयन बैंकले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्ने छ ।