आयात र विदेशी लगानीको लाभांश भुक्तानीले मुलुक २४ अर्ब ७३ करोड घाटामा

काठमाडौं । आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण मुलक झण्डै २५ अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्लो वर्षको ८ महिनामा चालु खाता ६ अर्ब ३१ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा भारी विस्तार भई १ खर्ब ५३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आयात र लाभांशले गर्दा अघिल्लो वर्षको ८ महिनामा ५० अर्ब २ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा रहेको छ । चालु आवमा विभिन्न एक दजर्न विदेशी लगानीमा सञ्चालित कम्पनीले ३३ अर्ब रुपैयाँ बढी लाभांश विदेश लगेका छन् । सबैभन्दा बढी लाभांश विदेश लैजानेमा मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेड रहेको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह झण्डै दोब्बर बढेर १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ८ अर्ब ३५ करोड रुपैयाँ थियो । विदेशी विनिमय सञ्चिति पनि घट्यो गत असार मसान्तको तुलनमा फागुनमा विदेशी विनिमय संचिति पनि २.८ प्रतिशत कमी आएको छ । गत असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा कमी आई १० खर्ब ४९ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

टंगालमा सञ्चालन आयो प्रभु बैंकको नयाँ शाखा

काठमाडौं । बिहीबार काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.५ टंगालमा प्रभु बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । बैंकको टंगाल शाखा कार्यालय बैंकका संचालक अम्बिका शर्मा लामिछानेद्वरा एक समारोहकाबीच उद्घाटन गरिएको हो । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको बैंकको भनाइ छ । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भइ नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बताइएको छ ।  

रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत बढेर ४७२ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विदेशबाट प्राप्त हुने  विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको फागुनमा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत बढेको छ । ८ महिनामा रेमिट्यान्स आप्रवाह बढेर ४ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ पुगेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५.३ प्रतिशत बढेको थियो । खुद ट्रान्सफर आयमा भने ०.७ प्रतिशतले कमी आई ५ खर्ब ३९ अर्ब १९ करोड रुपैयाँमा सीमित भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.४ प्रतिशतले बढेको थियो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ५.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ७.१ प्रतिशतले घटेको थियो