नागरिक लगानी कोषले ब्याज लिन बोलायो, सोमबारदेखि वितरण सुरु
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको ब्याज लिन नागरिक एकाँकी योजनामा सहभागी कर्मचारीलाई बोलाएको छ । कोषले एकाँकी योजनाअन्र्तगत गत आर्थिक वर्षमा दिने ब्याजदर सोमबारदेखि वितरण गर्ने जानकारी दिएको छ । कोषले वचत योजनामा ६.५ प्रतिशत ब्याज दिएको छ । तर चालु आर्थिक वर्षदेखि ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुगेको छ । निजामति तथा अन्य संस्थाका कर्मचारीको मासिक तलवबाट रकम कट्टा गरी कोषमा जम्मा हुदै आएको छ । कोषले वचत वृद्धि कोषमा दिने र कर्जा सापटीमा लिने दुबैको ब्याजदर बढाएको छ । कोषले साउन १ गतेदेखि लागु हुने गरी वचत वृद्धि र कर्जा सापटीको ब्याजदर बढाएको हो । कोषले कर्मचारीको सहभागी वचतमा रहेको ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुर्याएको छ । गत असारसम्म कोषले कर्मचारी सहभागी बचतमा ६.५ प्रतिशत ब्याज दिदै आएको थियो ।
नेपाल बैंकको नाफा ९ प्रतिशत मात्र बढ्यो, गत वर्ष ३ अर्ब ३९ करोड
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ नेपाल बैंकको नाफा ९ प्रतिशत मात्र बढेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ११ करोड ७८ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैकको नाफा २८ करोड रुपैयाँ मात्र बढेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत आवमा बैंकले ब्याज आम्दानी बढाएर ६ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ५ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ थियो । एक वर्षमा बैंकले ४८ करोड १६ लाख रुपैयाँ निष्क्रिय कर्जा असुल गरेको छ । बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ४२ रुपैयाँ २७ पैसा पुगेको छ । बैंकको निष्क्रिय कर्जा २.९० प्रतिशत छ । गत वर्षको तेस्रो त्रैमाशमा यस्तो कर्जा २.९१ प्रतिशत थियो । यस्तै निक्षेप लागत बढेर २.९९ प्रतिशत पुगेको छ । गत वर्षको तेस्रो त्रैमाशमा निक्षेप लागत २.९७ प्रतिशत थियो । बैंकको सीसीडी रेसियो ६९.६३ र आधार दर ७ प्रतिशत रहेको छ । बैंकको संचित कोषको आकार ८ अर्ब ४ करोड रुपैयाँ छ । गत वर्ष बैंकले ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७९ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ ।
एनआईसी एशिया बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट उक्त इन्स्योरेन्सको बीमा पोलिसीहरु किन्न सक्नेछन् । हाल बैंकले २३२ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।