साना किसान ऋण पाउनबाट वञ्चित

काठमाडौ । सस्तो ब्याजदरमा रकम नपाएका कारण परम्परागत रुपमा चिया खेती गर्न बाध्य छन्, किसानहरु । झण्डै ६४ प्रतिशत किसानले चिया खेती परम्परागत रुपमा सञ्चालन गर्नुपरेको बताएका छन् । नेपाल व्यावसायिक चिया खेती सर्वेक्षण– २०७५ मा ३२ प्रतिशत किसानले चिया खेती विस्तार गर्ने बताए पनि २ प्रतिशतले कम गर्ने र ०.८ प्रतिशतले चिया खेती अफापसिद्ध भएको उल्लेख गरेका हुन् । झन्डै एक दशक अर्थात विसं २०५० देखि ०६० सम्म चिया उत्पादनमा किसानको उत्साह रहेको तथ्यांकमा उल्लेख छ । सो दशकमा ६४ प्रतिशतले चिया खेतीबाट आफूहरु सन्तुष्ट रहेको उल्लेख गरेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक शेषकान्त गौतमले तथ्यांकलाई सुक्ष्मरुपमा अध्ययन गर्दै जाँदा नेपाली चिया उत्पादक किसान सहुलियतपूर्ण ऋण प्राप्त हुनुबाट बञ्चित भएका कारण क्रमशः उनीहरूमा निरासाको संकेत देखिएको बताए। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागले झन्डै एक वर्ष लगाएर तयार पारेको चिया खेती सर्वेक्षण–२०७५ मा चिया निर्यातमा प्रचुर सम्भावना भए पनि व्यावसायिक खेती गर्न सर्वसुलभ र उचित ब्याजदरमा रकम नपाएकै कारण चिया खेतीमा उत्साह घट्दै गएको उल्लेख छ । सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहेको कृषि विकास बैंकले नेपालको चिया खेतीमा १४ प्रतिशत ऋण लगानी गरेको छ । तर, सोही उद्देश्यका लागि विभिन्न सहकारी संस्थाले भने ४८ प्रतिशत लगानी हुनुले साना किसान सस्तो ब्याज प्राप्त गर्नबाट बञ्चित छन् भन्ने संकेत मिल्छ । विसं १९९२ बाट चिया खेती शुरु भएको इतिहास छ । नेपालको १४ जिल्लामा दुई लाख ४१ हजार ३४० रोपनी जग्गामा शुरु भएको व्यावसायिक चिया खेतीमा साना किसानको संख्या नौ हजार १२७ र ठूला किसानको संख्या १०८ छन् । नेपालमा सबैभन्दा धेरै चिया खेती झापा जिल्लामा एक लाख ४३ हजार ९०३ रोपनीमा र सबैभन्दा कम मोरङ जिल्लामा पाँच सय रोपनीमा हुन्छ । साना तथा ठूला किसानलाई लक्षित गर्दै अन्य बैंक तथा वित्तीय संस्थाले २३ प्रतिशत, व्यक्तिगत ३.९ र अन्य समूहसँग ९ प्रतिशत कर्जा प्रवाह भएको जनाएको छ । विशेषगरी, सीटीसी, अर्थोडक्स र ग्रिनटी नेपालका मुख्य उत्पादित चिया हुन् । देशका ७७ मध्ये १४ जिल्लामा व्यावसायिकरुपले चिया खेती गरेको पाइएको छ । ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरुङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछाप चिया खेती भइरहेका जिल्ला हुन् । चियाको हरियोपत्ती उत्पादनमा संलग्न साना किसान ९८ प्रतिशतले भन्दा ठूला किसान १ प्रतिशत सस्तो ब्याजदरमा ऋण लिएको पाइन्छ । उनीहरूले चियाका ठूला बगान सञ्चालन गरेका छन् । ठूला बगान हुनेलाई बैंकले सजिलै कर्जा लगानी गर्ने गरेको बताइन्छ । कृषि पेशामा ठूलाभन्दा साना किसानको आवद्धता धेरै देखिन्छ । त्यसैले ५९ प्रतिशत कृषक व्यवसायीले परम्परागत रुपमा एक लाख ७६ हजार ७६० रोपनी जमिनमा चिया खेती गरेको देखिन्छ । ३० प्रतिशतले ४२ हजार ५८० रोपनी क्षेत्रफलमा प्राङ्गरिक उन्मुख खेती गरेको पाइन्छ । केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले चिया खेती गर्न मेरो जग्गा छैन भन्ने अवस्थाका किसानको संख्या पाँच प्रतिशत रहेको बताउनुभयो । ९५ प्रतिशत किसानले आफ्नै जग्गामा चिया खेती गरेको भए पनि शुद्ध प्राङ्गरिक चिया खेती गर्ने किसानको संख्या ११ प्रतिशत छ । नेपालमा विशुद्ध प्राङ्गरिक चिया खेती २२ हजार रोपनीमा हुन्छ । जीवनको आधार चियाबाहेकका अन्य पेशा नगरेका किसानको संख्या ५३ दशमलव शून्य पाँच प्रतिशत अर्थात् चार हजार ९४१ छ । व्यावसायिक चिया खेती भन्नाले अर्थोपार्जनका उद्देश्यले पहाडी तथा हिमाली जिल्लामा कम्तिमा एक रोपनी र तराईका जिल्लामा कम्तिमा एक कट्टा १० धुर क्षेत्रफलमा हरियो चियापत्ति उत्पादन गरी बिक्री वितरण गर्ने व्यक्तिलाई सर्वेक्षणमा परिभाषित गरिएको छ । व्यावसायिक चिया खेती गर्ने कृषकमध्ये २० रोपनीभन्दा कम क्षेत्रफलमा खेती गर्ने किसानको संख्या सात हजार ६०१ जना २० रोपनीभन्दा माथि दुई सय रोपनीभन्दा मुनी चिया खेती गर्नेको संख्या एक हजार ५२८, र २०० रोपनीभन्दा माथि चिया खेती गर्ने किसानको संख्या ५४ रहेका छन् । कृषक र व्यवसायीले जम्माजम्मी ११ हजार ४१ बगानमा चिया खेती गरेको देखिन्छ । सबैभन्दा बढी बगान इलाममा छ हजार ९९५ र सबैभन्दा कम सिन्धुपाल्चोकमा आठ रहेका छन् । कृषक र व्यवसायीले हरियोपत्ति बिक्रीबाट गत वर्ष १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३६५ प्राप्त गरेका छन् । रासस

ग्लोबल आइएमई बैंकले ल्यायोे स्मार्ट सेवा, खाता नभएका व्यक्तिले पनि प्रयोग गर्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल मै पहिलो पटक नयाँ रुपमा मोबाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट सेवा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि शुक्रबार(आज)देखि उक्त सेवालाई परिमाजन गरेको हो । अद्यावधिक गरिएको मोबाइल बैंकिङ्ग कारोबारको सहजताको लागि व्यक्तिगत क्यिूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ । यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप मार्फत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ । बैंकको नयाँ ग्लोबल स्मार्ट सुबिधा अन्तर्गत ग्राहक स्वयंले बैंकमा नगइकन आफैँ उक्त सेवा सुचारु गर्न सक्ने (सेल्फ रजिस्ट्रेशन) सुबिधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिनेछ । त्यसैगरि, फोनिपेको नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने विशेषता थप गरिएको छ । थप गरिएका अन्य विशेषताहरुमा अकाउन्ट ड्यासबोर्ड र क्यालेण्डर इन्ट्रिगेशन सुबिधा पनि रहेको छ । यसअघि पनि ग्राहकले ग्लोबल स्मार्ट मार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आइएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शूल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्ने तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटिएम पत्ता लगाउन, आफु रहेको स्थानको लोकेशन म्याप हेर्न र बैंकको सेवा सुबिधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुबिधा रहेकोमा यि सम्पूर्ण सुबिधालाई नयाँ रुपमा ग्राहक सामू प्रस्तुत गरेको छ । यो सेवा मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । ग्राहकहरुले गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करण लाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्नेछन् । विज्ञान प्रबिधिले नयाँनयाँ आयामहरु भित्राइरहेको अहिलेको समयमा आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै बैंकले समय समयमा आफ्ना सुबिधाहरु परिमार्जन गर्दै आइरहेको बैंकले जनाएको छ ।

४९४ अर्ब नोट निष्कासन, सरकारको वचत १४४ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असारमा नोट निष्कासन बढाएको छ । केन्द्रीय बैंकले ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँ निष्कासन गरेको छ । कुल निष्कासन मध्ये ४ खर्ब ८६ अर्ब २१ करोड रुपैयाँ चलनचल्तिमा र ८ अर्ब १५ करोड ५८ लाख बैकिङ कार्यालयमा मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ । गत जेठको तुलनामा नोट निष्कासन बढेको हो । राष्ट्र बैंकमा सरकारको १ खर्ब ४४ अर्ब १६ करोड रुपैयाँ वचत रहेको छ । वाणिज्य बैंकको १ खर्ब ९१ अर्ब ८ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले कोषमा भएको रकम विदेशी सेक्युरिटिजमा २ खर्ब ८९ करोड ८७ लाख ९५ हजार रुपैयाँ, सरकारको सेक्युरिटीमा ७४ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ ।