विन्ध्यवासिनी हाइड्रोपावरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २५ लाख कित्ता आईपीओ जारी गर्दै
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न उक्त क्यापिटलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावरका तर्फबाट संचालक भरतबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागी १५ लाख कित्ता गरि जम्मा २५ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।
नेपाल बैंकको एफपीओ आधा बिकेन, कर्मचारी संचय कोषले गर्यो १ अर्ब लगानी
काठमाडौं । नेपाल बैंकको थप सेयर निष्कासन (एफपीओ) ५५ प्रतिशत मात्र बिक्री भएको छ । अझै ४५ प्रतिशत बिक्री हुन बाँकी छ । अन्तिम दिन २३ हजार ७०० आवेदकले २ अर्ब ७१ करोड रुपैयाँको एफपीओ माग गरेका छन् । अझै २ अर्ब २४ करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । कर्मचारी संचय कोषले थप १ अर्ब रुपैयाँ लगानी गरेपछि बैंकको एफपीओ ५५ प्रतिशत बिक्री भएको हो । शुक्रबारसम्म बैंकको ६९ लाख २८ हजार रुपैयाँ बराबरको मात्र एफपीओ बिक्री भएको थियो । साँझसम्म डाटा इन्ट्रि हुने भएकाले एफपीओको आवेदन अझ बढ्ने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंक प्रमुख सुजन अधिकारीले बताए ।बिक्री हुन बाँकी रहेको एफपीओको विषयमा निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । बिक्री नभएको एफपीओ ८ वटा मर्चेन्टले बैंकले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् । सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले गत वर्ष ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
हकप्रद सेयर पाउने आशामा लगानीकर्ता एचआईडीसीएमा झुम्मिए, आइतबार सबैभन्दा बढी सेयर कारोबार
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएपछि लगानीकर्ता झुम्मिएका छन् ।आइतबार एचआईडीसीएलको सबैभन्दा बढी सेयर कारोबार भएको छ । प्रतिकित्ता १७७ रुपैयाँमा १ करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एचआईडीसीएलले पुँजी दोब्बर बढाएर २० अर्ब रुपैयाँ पुर्याएको छ । कम्पनीको १० अर्ब रुपैयाँ पुँजी थियो । पुँजी बढाएपछि एचआईडीसीएलले थप २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेपछि लगानीकर्ताले बढी सेयर किनेका हुन् । गत आर्थिक वर्षमा कम्पनीले ८० करोड रुपैयाँ नाफा गरेको छ । लगानीकर्तालाई कम्पनीले न्युनतम ५ प्रतिशत लाभांश दिने छ । थप २ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्नका लागि प्रक्रिया सुरु गरिसकेको र यो आर्थिक वर्ष्भित्र ल्याउने तयारी भएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताएका छन् । यसअघि एचआईडीसीएलले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा सरकारको ८० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । थप १० अर्ब रुपैयाँ मध्ये ५ अर्ब रुपैयाँ सरकारले बिहीबार एचआईडीसीएललाई दिएको छ । जसअनुसार अर्थ मन्त्रालयले २ अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिंचाइ मन्त्रालयले १ अर्ब, कानून तथा न्याय मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रकको कार्यलयले १ अर्ब रुपैयाँ थप लगानी गरेका छन् । यस्तै कर्मचारी संचय कोषले १ अर्ब, नागरिक लगानी कोषले १ अर्ब र राष्ट्रिय बीमा संस्थाले १ अर्ब रुपैयाँ लगानी गर्नेछन् । उनिहरुबाट थप लगानी आउन बाँकी रहेको उनले केही वर्ष्भित्र कम्पनीको पुँजी बढाएर ३० अर्ब रुपैयाँ पुर्याउने जानकारी दिए ।