४९४ अर्ब नोट निष्कासन, सरकारको वचत १४४ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असारमा नोट निष्कासन बढाएको छ । केन्द्रीय बैंकले ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँ निष्कासन गरेको छ । कुल निष्कासन मध्ये ४ खर्ब ८६ अर्ब २१ करोड रुपैयाँ चलनचल्तिमा र ८ अर्ब १५ करोड ५८ लाख बैकिङ कार्यालयमा मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ । गत जेठको तुलनामा नोट निष्कासन बढेको हो । राष्ट्र बैंकमा सरकारको १ खर्ब ४४ अर्ब १६ करोड रुपैयाँ वचत रहेको छ । वाणिज्य बैंकको १ खर्ब ९१ अर्ब ८ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले कोषमा भएको रकम विदेशी सेक्युरिटिजमा २ खर्ब ८९ करोड ८७ लाख ९५ हजार रुपैयाँ, सरकारको सेक्युरिटीमा ७४ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ ।

साना तथा मझौला व्यवसाय गर्दै हुनुहुन्छ ? जानुस मेगा बैंक, २४ घण्टाभित्र कर्जा स्वीकृत हुन्छ

काठमाडौं । साना तथा मझौला व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ ? व्यवसाय सञ्चालन गर्नका लागि लगानीको समस्या भएको छ ?सञ्चालन गरिरहेको व्यवसायमा पनि चालु पुँजीको अभाव छ ? कर्जा लिन समय र झण्झट हुने गरेको छ ? यदी छ भने अब चिन्ता नलिनुस, मेगा बैंकले २४ घण्टा भित्र साना तथा मझौला व्यवसायलाई कर्जाको निर्णय गर्ने भएको छ । बैंकले साना तथा मझौला व्यवसाय सञ्चालनका लागि न्युनतम १० लाख रुपैयाँ भन्दा बढी कर्जा लगानी गर्ने जानकारी दिएको छ । यस्तै निर्णय भएको ७ दिनभित्र बैंकले व्यवसायीलाई कर्जा उपलब्ध गराउने भएको छ । तपाइको व्यवसायमा निरन्तर साथ भन्ने नाराका साथ आयमुलक, कृषि, स्टेशनरी र किराना पसल सञ्चालन गर्नका लागि ऋण लिने बैंकले जानकारी दिएको छ । यस्तै घर र गाडी कर्जा लिएमा पनि विशेष सुविधा दिने बैंकले जानकारी दिएको छ । ज्ञान तथा सीप र दक्षताको कदर गर्दै साना तथा मझौला व्यवसायलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

पोखरा विश्व विद्यालयबाट बीबीए, बीआइ र एमबीए उत्तीर्ण गर्नेलाई मुक्तिनाथ विकास बैंकमा इन्टर्नशीपको अवसर

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरा विश्व विद्यालयबाट बीबीए, बीआइ र एमबीए उत्तीर्ण गर्नेलाई इन्टर्नशीपको अवसर प्रदान गर्ने भएको छ । साथै, बैंकले उक्त सङकायमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने भएको छ । मुक्तिनाथ विकास बैंक र पोखरा विश्व विद्यालय, स्कूल अफ बिजनेसबीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कूल अफ बिजनेसका निर्देशक डा.रविन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा व्यवहारिक ज्ञान आदान प्रदान गर्ने भएको छ । साथै, यस सम्झौताले शैक्षिक योग्यता हासिल गरी सकेपछि देखिने बेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।