सिटिजन्स बैंकले पायो ‘बेष्ट प्रिजेन्टेड यानुअल रिपोर्ट अवार्ड’, वार्षिक प्रतिवेदन उत्कृष्ट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘बेष्ट प्रिजेन्टेड यानुअल(बीपीए) रिपोर्ट अवार्ड २०१७’ पाएको छ । बैंकलाई मंगलबार द इन्सिटिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल(आइक्यान) ले उक्त अवार्डबाट पुरस्कृत गरेको हो । आइक्यानले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखाप्रतिवेदनलाई मूल्यांकन गरी यो पुरस्कार वितरण गर्दै आएको छ । आइक्यानले बैंकको संस्थागत सुशाशन, बैंकको उद्देश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखाविवरण तथालेखा सम्बन्धि टिप्पणी तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गर्ने गर्दछ । यस अगावै पनि बैंकको वार्षिक प्रतिवेदनलाई बेष्ट प्रिजेन्टेड यानुअल रिपोर्ट २०१५ बाट पुरस्कृत गरिएको थियो । साथै, बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकरले भने– सेयर बजारमा आईपीओ नबिक्ने अवस्था आयो, राष्ट्र बैंकले सम्बोधन गरोस

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेर साधारण सेयर (आईपीओ) समेत बिक्री हुन नसक्ने अवस्थमा पुगेको भन्दै बैंकरले चिन्ता व्यक्त गरेका छन् । नेपाल बैंकर्स इन्टिच्युटले बुधबार राजधानीमा आयोजना गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति विषयक अन्तरक्रियामा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले आईपीओ, एफपीओ र हकप्रद सेयर पनि बिक्री नहुने अवस्था आएको भन्दै यसलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकको ध्यानकर्षण गराएका थिए । “नेपाल बैंकको एफपीओ बिक्री हुन सकेको छैन, एनएमबी बैंकको बलतल्ल बिक्री भयो, हकप्रद सेयर त बिक्री नभएर धमाधम लिलामी भइरहेका छन” ढुङानाले भने “१०० रुपैयाँमा पनि हकप्रद सेयर बिक्री नहुनु बजारमा ठुलो समस्या हो ।” यता राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले सेयरको मार्जिन कलको सीमा १० बाट २० प्रतिशत पुर्याएको बताए । कुल लगानीको २ प्रतिशत अर्थात ४२ अर्ब रुपैयाँ सेयरमा लगानी भएको जानकारी दिए ।

लुम्बिनी विकास बैंकको सीईओमा बोहरा

काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । नवनियुक्त सीईओ बोहराले बुधबार(आज)बाट कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बोहरालाई बैंकको सीईओ पदमा नियुक्त गरेको हो ।