सबै बैंक र बीमा कम्पनीले सूचना अधिकारी राख्नै पर्ने

काठमाडौं । अब सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले प्रवक्ता राख्नै पर्ने भएको छ । राष्ट्रिय सूचना आयोगले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सूचना अधिकारीको व्यवस्था गरि पारदर्शी रुपमा सूचना प्रवाहको व्यवस्था गर्न भनेको हो । यसँगै वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि सूचना अधिकारी राख्नै पर्नेछ ।  हाल २३७ वटा बैंक तथा वित्तिय संस्था सञ्चालनमा रहेका छन् । त्यस्तै ४० वटा बीमा कम्पनी सञ्चालनमा छन् । सूचना आयोगले १८० वटा राजनीतिक दल, ६२ वटा सार्वजनिक संस्थान र २५७ वटा आईएनजिओले समेत सूचना अधिकारी मार्फत सूचना प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपालभित्र रेमिट्यान्स काराेबार ६० हजार भन्दा बढी गर्न नपाउने

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले नेपालभित्र नगदमा हुने विप्रेषण (रेमिट्यान्स) काराेबार ६० हजारमा सीमित गरेकाे छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनीका एजेन्ट, सब एजेन्ट मार्फत हुने काराेबारलाइ निरूत्साहित गर्दै काराेबार सीमा घटाएकाे हाे। यसअघि एजेन्ट सब एजेन्टहरूले एक पटकमा एक लाख रूपैयाँसम्म भुक्तानी दिन पाउँथे । गत असारअघि यस्ताे सीमा पनि थिएन । राष्ट्र बैंककाे नयाँ व्यवस्थाले रेमिट कम्पनीकाे व्यवसायमा थप नकारात्मक असर पर्ने छ भने बैकिङ सेवा नपुगेकाे क्षेत्रमा उपभाेक्ताले थप सकर र समय व्यतित गर्नु पर्नेछ । राष्ट्र बैंकको नयाँ व्यवस्थासँग अब एक व्यक्तिले अर्को व्यक्तिलाई एकदिनमा एकपटकमा ६० हजार रुपैयाँमात्रै रकम पठाउन सक्नेछन् ।

सिभिल बैंकले बचतकर्तालाई ७ लाखकाे दुर्घटना बीमा र १ लाखको औषधी दिने

काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँबचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा निःशुल्क गराउने भएको छ । यसका साथै, अस्पताल भर्ना भई लागेको १ लाख रुपैयाँसम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ । यस योजनामा ग्राहकहरुले बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ । न्यूनतम मौज्दात शुन्य रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबीबीएस सुविधा रहेकोे कुरा बैंकले जनाएको छ ।   हाल सालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ-संस्थाले आफ्नो श्रमिक/कर्मचारीहरुलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा तथा औषधोपचार खर्चको लागी १ लाख रुपैयाँसम्मको बीमा गराउनुपर्ने नियम रहेको छ । तर यस योजना अन्तर्गत बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकोले यस योजनाबाट संघ-संस्था लगायत ग्राहकवर्गहरु लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।