बैंक अफ काठमाण्डूका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने निश्चित

काठमाडौं । बैंक अफ काठमाण्डूका सेयरधनीले कम्पनीको गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश पाउने निश्चित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेसँगै कम्पनीका सेयरधनीले सो मात्राको लाभांश पाउने भएका हुन् । साधारणसभाले चुक्तापुँजीकाे १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । गत पुस २९ गतेसम्म नेप्सेमा कारोबार गर्ने बैंकका सेयरधनीहरुले उक्त लाभांश पाउनेछन् । ७ अर्ब ७ करोड रहेको बैंकको चुक्ता पूँजी बोनस पछि ८ अर्ब ६ करोड रुपैयाँ कायम हुनेछ ।

ग्लोबल आइएमईद्धारा मुसिकोट नगरपालिकालाई ५० प्रतिशत व्याज अनुदान

काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैंकलाई भुक्तानी गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरे पश्चात बैंक नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग गर्न पाउने छ । हाल बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्गसेवा मार्फत आफ्ना ग्राहकहरुमाझ सेवाप्रदान गर्दै आइरहेको छ ।

रुपन्देहीको मानपकडीमा गण्डकी विकास बैंक

काठमाडौं । गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीेमा नयाँ शाखाको उद्घाटन भएको छ । प्रमुख अतिथि प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सीप्रसाद चौधरीले सो शाखाको उद्घाटन गरेका हुन् । बैंकका सञ्चालक वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरी , शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री पुण्यराम गौतम एवंम समाजसेवी शिवराम न्यौपानेले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए । बैंकका प्रबन्धक मिलनकुमार पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने उक्त कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी आविष्कार खनालले गरेका थिए । हाल बैंकका ७७ वटा शाखा कार्यालय मार्फत विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस, एटिएम, सि एएसविए, आईपिएस, मोबाइबाट बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आएको छ ।