नबिल र अजोडबीच बीमा सेवा सम्झौता
काठमाडौँ । नबिल बैंक लि. र अजोड इन्स्योरेन्स लि.बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट रिटेल व्यावसाय प्रमुख निरज शर्मा र अजोड इन्स्योरेन्स लि का तर्फवाट सहायक महाप्रबन्धक श्री महेश राज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।
ओम डेभलपमेन्ट बैँकको सहयोगमा दृष्टिबिहीनलाई कम्प्युटर शिक्षा
काठमाडौँ । ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको तालिमको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरेका हुन् । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यानइन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो । यसअघि बैंकले खैरेनी मा.बि. खैरेनीटार तनहुंको पुस्तकालयलाई पुस्तकहरु हस्तान्तरण गरेको थियो भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मावि नदिपुर पोखरालाई भौतिक सामाग्री तथा हरिहर आश्रम देबघाटलाई कम्प्यूटर हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।
मेगा बैंकको शाखारहित बैंकिङ सेवा चितवनको खैरहनीमा
काठमाडौं । मेगा बैँक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नम्वर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रवन्धक भीम पोखरेलले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका हुन् । खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । वडाध्यक्ष तिमिल्सिनाले खैरहनीका बासिन्दाहरुले मेगा बैकसँग वित्तीय कारोबार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा सुरु गरेकोमा मेगा बैंकलाई आभार व्यक्त गरेका थिए । ग्रामिण भेगका बासिन्दाहरुलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय समावेशिता प्रदान गर्न लागिपरेको बताए । शाखारहित सेवा सुरु भएपछि कुमरोज, खैरहनीका बासिन्दालाई वित्तीय कारोबार निकै सहज हुने र अब घरदैलोबाटै मेगा बैंकमा बचत, ऋण तथा रेमिट्यान्स कारोबार गर्न जोड दिनु पर्ने बताए ।