सोभनदेवको उदारता, कोरोना कोषमा व्यक्तिगत कमाइबाट साढे ५ लाख सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकरी अधिकृतले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा एक महिनाको तलव ५ लाख ५१ हजार ४१३ रुपैयाँ ९४ पैसा बुझाउने घोषणा गरेका छन् । उनकाे याे निर्णयसँगै अरू बैंकका प्रमुख कार्यकारी अधिकत लगायत उच्च अाय भएका मानिसहरूलाइ काेराेना काेषमा पैसा हाल्न नैतिक दवाव पर्ने देखिएकाे छ । देश लकडाउन सँगै दैनिक ज्यालादारीमा काम गर्नेहरुको हालत खराव भएको तर्फ उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । ज्यालादारीहरु र वेरोजगारहरुको दैनिकी चलाउनको लागि यतिबेला कर्पोरेट क्षेत्रले विशेष ध्यान दिनुपर्नेमा उनको भनाई छ । विश्व स्वस्थ्य संगठनले बैंकहरुसँग संस्थागत सामाजिक उत्तरदाहित्व शिर्षकमा धेरै पैसा हुने गरेको र त्यो पैसा कोरोना संक्रमणले ल्याएको संकटका सामनाका लागि खर्च गर्न जोड दिएकोले नेपाली बैंकहरुले यसमा ध्यान दिनुपर्ने उनले बताएका छन् । महामारी र लकडाउनको समयमा बस्तु तथा सेवा आपूर्तिमा ठूलो समस्या आउने भएकोले बैंकहरुले ऋणिहरुलाई कारोबार सहज बनाउन कर्जा सीमामाअतिरिक्त १० प्रतिशत चालु पुँजी उपलब्ध गराउनु पर्नेमा उनले जोड दिएका छन् ।

१० दिनमा ११ अर्ब रुपैयाँ निकाले जनताले

काठमाडौं । पछिल्लो १० दिनमा सर्वसाधारणले बैंकबाट ११ अर्ब रुपैयाँ निकालेका छन् । नोटबाट कोरोना संक्रमणको जोखिम बढी हुने सन्देश सञ्चार माध्यमबाट आउन थालेपछि भने अनलाइन पेमेन्टमा वृद्धि आएको नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले बताए । चेकको कारोबारमा भने उच्च गिरावट आएको छ । विहीबार करिव २ अर्ब रुपैयाँ बराबरको चेक कारोबार भएको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिए । सामान्य अवस्थामा दैनिक औषत ३५ अर्ब रुपैयाँ बराबरको चेक भुक्तानी हुने गरेको उनले बताए । आर्थिक कारोबार सुस्त भएकोले आइपीएसबाट पनि साढे दुई अर्ब रुपैयाँ मात्र कारोबार भएको छ । गत फागुनमा आइपीएसबाट दैनिक १२/१३ अर्ब रुपैयाँको कारोबार हुने गरेको प्रधानले बताए । त्यस्तै, गत फागुनमा कनेक्ट आईपीएसबाट दैनिक दुई अर्बको कारोबार हुन थालेको छ । पछिल्लाे समय यस्ताे काराेबार पनि निकै भएकाे छ । आईपीएसबाट संस्थागत कारोबार हुने तर कनेक्ट आईपीएसबाट व्यक्तिगत तवरमा साना कारोबार हुने भएकोले आईपीएसको कारोबार धेरै भएको उनले बताए । ६३ अर्ब अधिक तरलता नेपाल राष्ट्र बैंकको अनुशन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका प्रवक्ता डा. भट्टका अनुसार चैत १२ गते साँझसम्ममा बैंक तथा वित्तीय संस्थामा ६३ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकले जुनसुकै बैंकको एटीएमबाट पैसा सेवा शुल्क विना नै झिक्न पाउने सुविधा भएपछि एटीएमको कारोबार वृद्धि भएको बैंकर्सहरुले बताएका छन् । बैंकबाट पैसा निकाल्ने क्रम वृद्धि भईरहदा बैंकमा नोट अभाव हुने जोखिम कति छ ? भन्ने प्रश्नमा डा भट्टले नोटको अभाव नहुने बताए । सामान्य अवस्थामा भन्दा दशैंको बेलामा ४० देखि ५० अर्ब नोट बैकिङ प्रणाली वाहिर जाने गरेको जानकारी दिदै १०/१२ अर्ब रुपैयाँ बाहिर जाँदैमा शंका गर्नु नपर्ने उनकाे भनाइ छ । डा भट्टका अनुसार हाल ५३९ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ । आवश्यककता पर्दा राष्ट्र बैंकले नोट सर्कुलेशन वृद्धि गर्न सक्छ ।

नविल बैंकका सीईओ अनिल केशरी शाहको घरमा भाटभटेनीको पहिलो होम डेलिभरी

काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहको घरमा भाटभटेनीले सामान होम डेलिभरी गरेको छ । सरकारले विभिन्न व्यावसायीहरुलाई सामान अभाव भएको ग्राहकबाट अर्डर आएलगत्तै होम डेलिभरी गर्न निर्देशन दिएसँगै भाटभटेनीले सीईओ शाहको घरमा पहिलो हाेम डेलिभरी गरेको हो । शाहले बिहिबार सामाजिक सञ्जालमा एक भिडियो अलोड गर्दै भाटभटेनीले आफ्नो घरमा सामान डेलिभरी गरेको जानकारी दिएका छन् । याे लक डाउनकाे समयमा घरमा दैनिक उपभाेग्य सामानकाे अभाव हुने भएकाेले सामान कहाँबाट ल्याउने भन्ने कूरामा आफ्नो परिवार चिन्तामा रहेको कूरा भिडियाेमार्फत उल्लेख गरेका छन् । तर, अहिले अनलाइनबाट अर्डर हुन सुरु भइसकेपछि आफु धेरै नै खुशी भएको शाहले बताएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै उनले भनेका छन्,‘घरमा बस्ने क्रममा हामी हाम्रा दैनिक खाद्यान्नहरू चामल, तेल, फलफूल, तरकारी, दूध, अण्डाहरू कहाँबाट ल्याउने र कहाँ जाने भनेर चिन्तित थियौं, अहिले भाटभटेनी सुपरस्टोर्सले अनलाइन अर्डर गर्न सुरु गरेपछि हामीलाई सजिलो भयो, धन्यबाद भाटभटेनी ।’ उनले घरमा सामान अभाव भएकाहरुले भाटभटेनीमा अर्डर गर्न पनि सबैलाई अनुरोध गरेका छन् । अहिले गृह मन्त्रालयले ग्रोसरीहरुलाई डेलिभरी भ्यानमार्फत् खाद्यान्न तथा तरकारी घरघरमा पुर्याउन निर्देशन दिएपछि भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएपबाट कल र म्यासेजमार्फत् यो सुविधा सुरु गरेको छ। काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोरी एवम् बिक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन गृह मन्त्रालयले आज निर्देशन दिएको हो। आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने व्यवस्था गरेपछि भाटभटेनीले ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ फोन मार्फत् अर्डर गर्ने व्यवस्था गरेको हो।