गभर्नरमा अधिकारीकाे पदबहाली, दुबै डेपुटीले गरे प्रशंशा
काठमाडाैं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले चैत २५ गते(आज) पद बहाली गरेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ चैत २४ गतेको निर्णय अनुसार अधिकारी बैंकको रिक्त गभर्नर पदमा नियुक्त भएका हुन् । पदबहालीअघि उनले आजै सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ मा बैंकको गभर्नरले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ। गभर्नर अधिकारीको पदबहालीपछि उनको स्वागतमा बैंक परिसरमा एक संक्षिप्त स्वागत कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता समेत जनाएका छन्। कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको धारणा गभर्नर अधिकारीले राखे । कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पुयाउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चनौतीलाई सम्बोधन गर्नको निम्ति नेपाल राष्ट्र बैंकले आवश्यक पहल गर्ने धारणा उनले राखे । नेपाल राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वान समेत गरेका छन् । कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको उल्लेख गर्दै गभर्नर अधिकारीको सफल कार्यकालको निम्ति शुभकामना दिए । त्यस्तै डेपुटी गभर्नर शिबराज श्रेष्ठले सक्षम, इमान्दार र वित्तीय प्रणालीलाई बुझेको व्यक्तिलाई सरकारले गभर्नर नियुक्त गरेको उल्लेख गर्दै शुभकामना दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका कार्यबाहक अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमबहादुर बल्छौडीले नवनियुक्त गभर्नर अधिकारीलाई सफल कार्यकालको निम्ति शुभकामना दिए। काे हुन् अधिकारी ? अधिकारी नेपाल राष्ट्र बैंकको सत्रौं गभर्नर हुन् । पूर्वी पहाडको खोटाङमा जन्मिएका अधिकारी वि.सं. २०४२ मा राष्ट्र बैंकको सेवा २०७६ साल चैत २५ गते, मंगलबार प्रवेश गरेका हुन्। उनी बैंकको उप-निर्देशक, निर्देशक, कार्यकारी निर्देशक हुँदै २०६७ पुसदेखि २०७२ पुससम्म बैंकको डेपुटी गभर्नरको जिम्मेवारीमा रहेका थिए भने गभर्नरमा नियुक्त हुनुपूर्व उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । उनले सन् १९९३ मा भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पुरा गरेका छन् ।
गभर्नर नियुक्तिमा सरकारकाे सानदार निर्णय
काठमाडौं । सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेकोमा बैंकरले खुसी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकको नियमन र सुपरीवेक्षण विभागमा लामो समय विताएका पूर्व डेपुटी गभर्नर अधिकारीले केन्द्रीय बैंक बुझेको र अहिलेको संकट समाधानको लागि उपयुक्त विकल्प दिन सक्ने भन्दै बैंकरले खुसी व्यक्त गरेका हुन् । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले अधिकारीको नेतृत्वमा राष्ट्र बैंकले अहिलेको समस्या समाधान गर्न सक्ने र बैंकिङ क्षेत्रलाई अझ परिष्कृत र भरोसायोग्य बनाउन सक्ने भन्दै खुसी व्यक्त गरे । ‘सिफारिस समितिले गभर्नरका लागि सिफारिस गरेका सबै जना योग्य र काबिल व्यक्तित्व हुनुहुन्थ्यो, राष्ट्र बैंकको नियमन र सुपरीवेक्षण विभागमा बसेर लामो समय काम गरिसक्नु भएका पूर्व डेपुटी गभर्नरलाई नै गभर्नरको रुपमा पाउँदा हाम्रो कुरा सहजै सुनुवाइ हुने र हाम्रा समस्या समाधान गर्न सहज हुने अपेक्षा गरेका छौं,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले भने । नेपाल राष्ट्र बैंकको १७औं गभर्नरमा महाप्रसाद अधिकारी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पनि अधिकारीले गभर्नरको रुपमा अहिलेका समस्या समाधान गर्न प्रभावकारी काम अघि बढाउन सक्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेर कार्यकारी निर्देशक समेत भइसकेका पूर्व डेपुटी गभर्नर तथा राष्ट्र बैंकबाट बाहिर आएपछि लगानी बोर्ड जस्तो महत्वपूर्ण निकायमा बसेर लगानी प्रबर्धन गर्न प्रभावकारी काम गरेको अनुभवले उनलाई गभर्नरको जिम्मेवारी वहन गर्न अझ सहज हुने प्रमुख कार्यकारी अधिकृत केसीको अपेक्षा छ । ‘लामो समय राष्ट्र बैंकमा काम गर्नुभएका अधिकारीले डेपुटी गभर्नरको रुपमा नीति निर्माणको तहमा बसेर पनि काम गर्नुभएको छ, राष्ट्र बैंकबाट बाहिर आएपछि लगानी बोर्डमा बसेर राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्तासँग नजिक सम्बन्ध बनाएर काम गर्नुभएको छ, यी दुबै अनुभवले उहाँलाई जिम्मेवारी वहन गर्न अझ सहज भएको छ, नेपालको बैंकिङ क्षेत्रका लागि उहाँको नेतृत्वमा राम्रो र प्रभावकारी काम हुने अपेक्षा गरेको छु,’ प्रमुख कार्यकारी अधिकृत केसीले भने । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल राष्ट्र बैंकले पहिलो पटक चार्टर्ड एकाउन्टेन्टलाई गभर्नरको रुपमा पाएकोमा खुशी व्यक्त गरे । ‘हामी सीएहरुको लागि धेरै खुशीको कुरा हो । पहिलो पटक गभर्नरमा चार्टड एकाउन्टेन्ट पायौ’ ढुंगानाले भने–‘डुपुटी गभर्नरबाट अवकास पाउनु भएको मान्छे, अनुभवी हुनुहुन्छ । वित्तीय क्षेत्रको साथै अर्थतन्त्र पनि बुझ्नु भएको छ । उहाँको नेतृत्वमा राष्ट्र बैंकले राम्रो काम गर्ने विश्वास गर्न सकिन्छ ।’ विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता, ‘भविष्य कोरौं, एक लाख जितौं’ सिटिजन्सन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पनि नयाँ गभर्नरको नियुक्ती बैकिङ क्षेत्र उत्साहित भएको बताए । ‘उहाँ उर्जाशिल व्यक्ति हुनुहुन्छ । विषय राम्रोसँग बुझेको मान्छे हुनुहुन्छ । उहाँलाई गभर्नरमा नियुक्त गरेर सरकारले शानदार निर्णय गरेको छ । यसले बैंकिङ क्षेत्रमा उर्जा थपेको छ’ पोखरेलले भने । माछापुच्छे बैंकमा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नजरमा महाप्रसाद अधिकारी सबैभन्दा उत्तम व्यक्ति हुन् । ‘सरकारले एकदमै सहि निर्णय गर्यो । आजको दिनमा उहाँ नै सबैभन्दा सक्षम मान्छे हुनुहुन्छ’ कोइरालाले भने–‘बैकिङ पनि बुझेको, राष्ट्र बैंक बुझेको, राष्ट्रिय अर्थतन्त्र पनि बुझेको, विश्व अर्थतन्त्र पनि बुझेको र अहिलेको परिवेश पनि बुझेकोले मैले उहाँ गभर्नरको लागि ठिक मान्छे भनेको हुँ ।’ अर्थमन्त्रीसँग विचार मिल्ने, सत्तारुढ दलकाे पनि विश्वासमा लिएर काम गर्न सक्ने खुबी भएकोले महाप्रसादको कार्यकाल सफल हुने ज्योति विकास बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बताउँछन् । ‘उहाँलाई बैकिङ बुझ्न, राष्ट्र बैंक बुझ्न समय चाहिदैन । उहाँ कुशल प्रशासक पनि हुनुहन्छ’ ज्ञवालीले भने–‘एउटा व्यक्तिले सबै काम गर्न सक्दैन । तर गभर्नरको लागि उहाँ सबैभन्दा उपयुक्त पात्र हो ।’
नवनियुक्त गभर्नर अधिकारी भन्छन्ः सबैसँग मिलेर काम गर्छु
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले अहिलेको विषम परिस्थितिमा सबैसँग मिलेर काम गर्ने बताएका छन् । सरकारले गभर्नरमा नियुक्त गरेलगत्तै विकासन्युजसँग कुरा गर्दै अधिकारीले अहिले विषम परिस्थिति रहेकोले सबैसँग मिलेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका हुन् । ‘अहिलेको परिस्थिति नै अलिक भिन्न प्रकारको छ, कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण विश्व आर्थिक मन्दीको अवस्था छ, यसको आर्थिक असर नेपालमा पनि देखिएको छ, यो परिस्थितिमा सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवाला सवैसँग समन्वय गरेर अघि बढ्छु,’ अधिकारीले भने । आज बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । गभर्नरको कार्यकाल ५ वर्षको हुन्छ । गत ५ चैतमा तत्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालले अवकाश पाएपछि सो पद रिक्त थियो ।