काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले अहिलेको विषम परिस्थितिमा सबैसँग मिलेर काम गर्ने बताएका छन् ।
सरकारले गभर्नरमा नियुक्त गरेलगत्तै विकासन्युजसँग कुरा गर्दै अधिकारीले अहिले विषम परिस्थिति रहेकोले सबैसँग मिलेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका हुन् ।
‘अहिलेको परिस्थिति नै अलिक भिन्न प्रकारको छ, कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण विश्व आर्थिक मन्दीको अवस्था छ, यसको आर्थिक असर नेपालमा पनि देखिएको छ, यो परिस्थितिमा सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवाला सवैसँग समन्वय गरेर अघि बढ्छु,’ अधिकारीले भने ।
आज बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । गभर्नरको कार्यकाल ५ वर्षको हुन्छ । गत ५ चैतमा तत्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालले अवकाश पाएपछि सो पद रिक्त थियो ।