नेपाल बैंकले ल्यायो सहुलियत कर्जा योजना, कुनकाे व्याजदर कति ?
काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंकले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा नयाँ कर्जा योजनाहरु ल्याएकाे छ । यस याेजना अन्तर्गत बैंकले घर कर्जा, नयाँ लघु उद्यम तथा सम्वृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा सस्ताे व्याजदरमा दिने भएकाे हाे । बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच वर्ष अवधिकालागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ । लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ्ग क्षेत्रकै न्युन ब्याजदर हो । यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाख रूपैयाँदेखि ९९ लाख रूपैयाँसम्मको लागी लघु उद्यम कर्जा र १ करोड रूपैयाँदेखि ३ करोड रूपैयाँसम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागी सम्वृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने छ । दुबै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजीकर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ । घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसकाे वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो । यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ । नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८६ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याई कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।
कर्मचारी सञ्चय कोषको ऋण अब अनलाईनबाटै तिर्न सकिने, सिधै तीन बैंकमा जम्मा हुने
काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा अब अनलाईनबाटै भुक्तानी गर्न सकिने भएको छ । कोषले आफुले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाईन माध्यम ‘कनेक्ट आईपीएस ई पेमेन्ट’ प्रणाली मार्फत गर्ने व्यवस्था मिलाएकाे हाे । यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआईसी एशिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ । यस डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्थासँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्ट आईपीएसबाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंक वित्तिय संस्थाहरुका खाताबाट गर्न सकिने छ । यससँगै अबदेखि ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टरसम्म पुग्नुपर्ने बाध्यता पनि रहने छैन । यसका निम्ति ऋणीले कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋणीले www.connectips.com मा गई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । ऋणीले भुक्तानी गर्नुपर्ने कर्जा छनोट गरी मोबाईल/युसीआईएन नम्बर तथा ऋणीको नाम लगायताका मागिएका आवश्यक विवरण भरी भुक्तानी गर्ने रकम दाखिला गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न सक्दछन् भने कोषको हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआईसी एसिया बैंकमा रहेका तोकिएको खातामा सो रकम सोझै जम्मा हुनेछ । यससँगै कोषको आफ्नो प्रणालीमा पनि भुक्तानी सफल भएको जानकारी प्राप्त गर्न सकिनेछ । कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच गत वर्ष श्रावणमा नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो । सो सम्झौता अनुरुप गत वर्ष श्रावणदेखि नै कोषले प्रदान गर्ने धितो कर्जा लगयातका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ जसमा असार मसान्त २०७७ सम्म एनपीआई मार्फत ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको ३२ हजार भन्दा बढी भुक्तानीहरु भैसकेका छन् । यससँगै अनलाईनबाट कर्जा भुक्तानीको सुरुवात कोषको डिजिटाइजेसन तर्फको अर्को कोषेढुङ्गाको रुपमा लिइएको छ भने यसका साथै कोषले विभिन्न संस्थाहरुबाट कोषमा हुने कर्मचारीहरुको योगदानमा आधारित मासिक भुक्तानी लगायतका संकलन पनि निकट भविष्यमा अनलाईन मार्फत गर्ने योजना रहेको जनाएको छ । सम्बन्धित समाचारः कर्मचारी सञ्चय कोषका ऋणीले माछापुच्छ्रे बैंकबाट ऋण तिर्न सक्ने कर्मचारी सञ्चय कोषका ऋणीले अब घरबाटै किस्ता तिर्न सक्ने कर्मचारी संचय कोषका ऋणीले हिमालयन बैंकबाट ऋण तिर्न सक्ने
ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटार र खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी दुई शाखारहित बैंकिङ्ग सेवा सहित बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २०३ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले नेपालभर ७० वटा जिल्लामा फैलिएको २५७ शाखा, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा, २३४ एटिएम र देश बाहिर ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।