ह्युन्डाईको ‘दशैं तिहार, १० गुणा उपहार’ : धनगढीका अभिषेक चौधरीले जिते १० लाख रुपैयाँ
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं-तिहार अफर 'दशैं तिहार, १० गुणा उपहार' अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ । धनगढीका अभिषेक चौधरीले ह्युन्डाई क्रेटा खरिद गरी स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँ जित्ने पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका छन् । कम्पनीले चौधरीलाई विजेता घोषित गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ । गत भदौ २ गतेदेखि सुरु भएको यो अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी, हरेक ह्युन्डाई गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । ह्युन्डाई नेपालले सम्पूर्ण ग्राहकलाई नजिकको शोरुममा गइ 'दशैं तिहार, १० गुणा उपहार' अफरको लाभ लिन आमन्त्रण गरेको छ ।
टाटा मोटर्सको दशैं-तिहार अफर : गाडीमा पाँच लाखसम्म छुट र माल्दिभ्स कपल ट्रिपको अवसर
काठमाडौं । दशैं-तिहारको अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकका लागि ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन (आईसिई) मोडेलसम्म आकर्षक छुट र सुविधा प्रदान गर्ने जनाएको छ । ग्राहकहरूले टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडी छनोट गर्न सक्नेछन् । कम्पनीका अनुसार यी मोडेलहरूले यात्रामा सहजता, आधुनिकता र आत्मविश्वास दिनेछन् । त्यस्तै पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा पनि विशेष अफर उपलब्ध हुने बताइएको छ । इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकलाई जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुट प्रदान गरिनेछ । साथै, लक्की ड्रमार्फत एक भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने अवसर पाउनेछन् । यस्तै, पेट्रोल र डिजेल मोडेल रोज्ने ग्राहकका लागि नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा दिइने कम्पनीले जनाएको छ । यो अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । सिप्रदी ट्रेडिङले देशभरका सबै शोरुममार्फत यो अफर लागू गरेको छ ।
भन्सारका यार्डमा १७९ सवारीसाधन थन्किए
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँच पास नभएर थन्किएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले एकीकृत जाँच चौकीमा ७५ वटा चार पाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १०४ थान चार पाङ्ग्रे सवारीसाधन भन्सार जाँच पासको प्रक्रियामा रहेका जानकारी दिए । ‘आयातकर्ताले चाडपर्व लक्षित गरेर चार पाङ्ग्रे सवारीसाधनको जाँच पास प्रक्रिया अघि बढाउँदै आउनुभएको छ,’ उनले भने, ‘भन्सारको यार्डमा रहेका सवारीसाधन क्रमशः भन्सार जाँच पासको प्रक्रियामा अघि बढ्नेछन् ।’ कार्यालयका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा चार पाङ्ग्रे सवारीसाधनको भन्सार जाँच पास प्रक्रिया अघि बढिसकेको छ भने एकीकृत जाँच चौकीमा रहेका सवारीसाधनको पनि आवश्यक प्रक्रिया अघि बढेको छ । वीरगञ्ज नाका हुँदै चालु आवको २ महिनामा ७अर्ब १६ लाख रुपैयाँ बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । गत आवको २ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १ अर्ब ७५ करोड रुपैयाँ बढीका सवारीसाधन र त्यसमा प्रयोग हुने सामग्री (पार्टपूजा) आयात भएका हुन् । गत आवको २ महिनामा ५ अर्ब २५ करोड रुपैयाँका सवारीसाधन तथा सामग्री आयात भएको थियो ।