साढे ५ लाख युरोको फेरारी, आलोचनाबीच दुई महिनामै बिक्री लक्ष्य पूरा

काठमाडौं । इटालियन लक्जरी कार निर्माता फेरारीको पहिलो पूर्ण विद्युतीय कार ‘लुचे’ले सार्वजनिक भएको करिब दुई महिनामै कम्पनीले सन् २०२६ का लागि राखेको बिक्री लक्ष्य पूरा गरेको छ । फेरारीले लुचेका लागि सन् २०२६ मा ५०० भन्दा कम युनिट बिक्री गर्ने लक्ष्य राखेको थियो ।  फाइनान्सियल टाइम्सले दुई स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार मे २५ मा सार्वजनिक गरिएको लुचेले जुलाईको सुरुमै उक्त लक्ष्य पूरा गरिसकेको थियो । बजारमा आएको केही सातामै फेरारीले आफ्नो पहिलो इलेक्ट्रिक कारका लागि राखेको प्रारम्भिक बिक्री लक्ष्य भेट्टाएको हो । यद्यपि, फेरारीले बिक्री भएको युनिटको ठ्याक्कै संख्या सार्वजनिक रूपमा पुष्टि गरेको छैन । लुचेको सुरुवाती मूल्य करिब ५ लाख ५० हजार युरो अर्थात् करिब ६ लाख २६ हजार अमेरिकी डलर छ । लुचे आम विद्युतीय कारको बजारभन्दा निकै माथि सीमित र अत्यन्तै सम्पन्न ग्राहक लक्षित कार हो । डिजाइनमै ठूलो प्रश्न लुचेको बिक्रीको कथा अझ रोचक हुनुको कारण यसको डिजाइन पनि हो । फेरारीका परम्परागत कारहरू प्रायः होचा, आक्रामक र स्पोट्र्स कारको स्वरूपमा देखिन्छन् । तर लुचे भने चार ढोका र पाँच सिट भएको ठूलो ग्रान्ड टुरर शैलीको कार हो ।  यही कारण यसको डिजाइन सार्वजनिक भएपछि फेरारीका परम्परागत प्रशंसक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट मिश्रितदेखि नकारात्मक प्रतिक्रियासमेत आएका थिए । तर डिजाइनमा देखिएको यो परिवर्तन संयोग भने होइन । लुचेको डिजाइनमा फेरारीसँग सहकार्य गरिरहेका चर्चित डिजाइनर जोनी आइभ र मार्क न्युसनसमेत संलग्न छन् । आइभ एप्पलको डिजाइन प्रमुखका रूपमा लामो समय काम गरेका व्यक्ति हुन् । फेरारीले लुचेको डिजाइनलाई केवल आकर्षक देखाउनेभन्दा पनि उच्च प्रदर्शन र विद्युतीय प्रविधिको आवश्यकतासँग मिल्ने गरी विकास गरेको बताउँदै आएको छ । १ हजारभन्दा बढी हर्सपावर लुचे केवल देखावटी लक्जरी कार भने होइन । फेरारीका अनुसार यसमा १ हजारभन्दा बढी हर्सपावर उत्पादन गर्ने विद्युतीय पावरट्रेन प्रयोग गरिएको छ । यसको ब्याट्री क्षमता १२२ किलोवाट–घण्टा छ । कारले ३१० किलोमिटर प्रतिघण्टाभन्दा बढी उच्च गति लिन सक्ने कम्पनीको दाबी छ । त्यस्तै, ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब २.५ सेकेन्डमै हासिल गर्ने क्षमता लुचेमा छ । एकपटक पूर्ण चार्ज गर्दा ५३० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने दाबी पनि फेरारीको छ । अर्थात् फेरारीले विद्युतीय कार बनाउँदा परम्परागत रूपमा आफ्नो पहिचान बनेको ‘स्पोट्र्स कारको प्रदर्शन’लाई छोड्न खोजेको देखिँदैन । बलियो माग चीनबाट लुचेको प्रारम्भिक मागमा चीनको बजारले महत्त्वपूर्ण भूमिका खेलेको रिपोर्टहरूमा उल्लेख छ । चीन विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी बजार भएकाले फेरारीका लागि पनि त्यहाँका उच्च आय भएका ग्राहक महत्त्वपूर्ण बनेका छन् । प्रारम्भिक माग चीनबाट बलियो देखिनु फेरारीको पहिलो ईभीका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । अमेरिकालगायत अन्य बजारमा पनि उच्च आय भएका ग्राहकबाट लुचेप्रति रुचि देखिएको रिपोर्टमा उल्लेख छ । यसले फेरारीको विद्युतीय कारको ग्राहक आधार परम्परागत फेरारी खरिदकर्ताभन्दा बाहिर पनि विस्तार हुन सक्ने सम्भावना देखाएको छ । फेरारीका लागि किन महत्त्वपूर्ण छ लुचे ? फेरारीका लागि लुचे एउटा नयाँ मोडल मात्र होइन । यो कम्पनीको पूर्ण विद्युतीय युगमा प्रवेशको पहिलो ठूलो कदम हो । दशकौंदेखि पेट्रोल इन्जिनको शक्ति, आवाज र ड्राइभिङ अनुभव फेरारीको ब्रान्ड पहिचानसँग जोडिँदै आएको छ । यस्तो अवस्थामा पूर्ण विद्युतीय कार ल्याउनु कम्पनीका लागि ठूलो रणनीतिक परिवर्तन हो । तर फेरारीले ईभी बजारमा प्रवेश गर्दा ठूलो संख्यामा कार बेच्ने रणनीति लिएको छैन । कम्पनीले आफ्नो विशेष लक्जरी र सीमित उत्पादनको पहिचान कायम राख्दै विद्युतीय प्रविधिलाई प्रयोग गर्न खोजेको देखिन्छ । २०३० सम्म करिब २ हजार ५०० लुचे बेच्ने योजना फाइनान्सियल टाइम्समा उद्धृत विवरणअनुसार फेरारीले सन् २०३० सम्म करिब २ हजार ५०० वटा लुचे बिक्री गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। यो हिसाबले वार्षिक औसत करिब ६०० वटा लुचे बिक्री हुने देखिन्छ । फेरारीको कुल वार्षिक बिक्रीको तुलनामा यो निकै सानो हिस्सा हो । त्यसैले २०२६ का लागि राखिएको ५०० भन्दा कम युनिटको प्रारम्भिक लक्ष्य बजारमा आएको करिब दुई महिनामै पूरा हुनु कम्पनीका लागि महत्त्वपूर्ण संकेत हो । लुचे सार्वजनिक हुँदा यसको डिजाइनले ठूलो बहस जन्मायो । कतिपय फेरारी प्रशंसकले यसलाई परम्परागत फेरारीको शैलीबाट निकै टाढा गएको कारका रूपमा हेरे । तर प्रारम्भिक बिक्री लक्ष्य भने अपेक्षाकृत छिटो पूरा भयो । यसले फेरारीका लागि एउटा रोचक अवस्था सिर्जना गरेको छ, सामाजिक सञ्जालमा आलोचना धेरै देखिए पनि वास्तविक खरिदकर्ताबीच यसको माग कमजोर देखिएन । अझ महत्त्वपूर्ण कुरा यो हो कि आधा मिलियन युरोभन्दा बढी मूल्य पर्ने कारका लागि केही सय युनिटको माग पनि सामान्य कार बजारको हिसाबले होइन, अत्यन्तै सम्पन्न ग्राहकबीचको मागका रूपमा बुझ्नुपर्छ ।

चिनियाँ राष्ट्रपतिले चढ्ने गाडी नाइमा एक्स्पोमा

साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोट्र्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को दोस्रो संस्करण ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को आयोजना हुँदैछ । एक्स्पो नजिकिएसँगै अटो व्यवसायीहरू स्टल निर्माणमा जुटेका छन् । यसपटकको एक्स्पोमा ४० वटा नयाँ ब्राण्डहरू लन्च हुँदैछन् । जसमध्ये ८ वटा ब्राण्ड मात्रै विशाल ग्रुपअन्तर्गतको एमजी गाडीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले तयारी गरिरहेको छ । वास्तवमा यो एक्स्पोमा पारामाउन्ट मोटर्सले कुन ब्राण्ड सार्वजनिक गर्दैछ ? ग्राहक र अवलोकनकर्ताले एमजीको स्टलमा के नयाँ अनुभव गर्न पाउनेछन् ? यिनै विषयमा केन्द्रित रहेर विकासन्युजका नरेन्द्र विष्टले पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीसँग कुराकानी गरेका छन् ।  यसपटकको एक्स्पोमा पारामाउन्ट मोटर्सले​​​​​ कुन-कुन गाडीहरू प्रदर्शनीमा राख्दैछ ? यसपटक हामीले चारवटा मुख्य ब्रान्डहरू प्रदर्शनीमा राख्नेछौंं । जसमा एमजी, होङ्ची गुओली, वुलिङ र लिन्क एण्ड कोको सहभागिता रहन्छ । यी चारवटा ब्रान्डका लागि हामीले चारवटा छुट्टाछुट्टै प्रिमियम स्टलहरूको व्यवस्था गरेका छौं । होङ्ची गुओली र लिन्क एण्ड को ब्राण्ड नेपालका लागि बिल्कुलै नयाँ हुन् । एमजी ब्रान्डमा यसपटक के-के नयाँ देख्न पाइनेछ ? एमजीमा हाम्रा नियमित मोडलहरू एमजी जेडएस ईभी, एमजी फोर र एमजी फाइभ त हुने नै छन् । त्यसबाहेक हामीले दुईवटा नयाँ मोडल लन्च गर्दैछौं ।  एउटा हाइब्रिड मोडल र अर्को यू नाइन नामको इलेक्ट्रिक पिकअप । एक्स्पोमा यी दुवै मोडल हाम्रो विशेष आकर्षणका रूपमा रहनेछन् ।  वुलिङ ब्रान्डका कुन–कुन नयाँ गाडीहरू थपिँदैछन् ? वुलिङमा हामीले पहिलेदेखि नै एयर ईभी बिक्री गर्दै आएका थियौं । यसपटक हामी थप तीनवटा नयाँ मोडल ल्याउँदैछौं । जसमा बिङ्गो (सानो ४ ढोके गाडी), क्लाउड ईभी (५ सिटर लक्जरी एमपीभी) र बाओजुन (इलेक्ट्रिक एसयूभी) रहेका छन् ।  नेपालका लागि नयाँ ब्रान्ड होङ्ची गुओलीको बारेमा केही बताइदिनूस् न, यसको चर्चा किन बढी छ ? होङ्ची गुओली चीनको निकै पुरानो र प्रतिष्ठित प्रिमियम ब्रान्ड हो । यो कतिसम्म विलासी छ भने चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो आधिकारिक गाडीका रूपमा यसै ब्रान्डलाई प्रयोग गर्नुहुन्छ । उहाँमात्र नभई चीनका विगतका राष्ट्रप्रमुखहरूले पनि यसैलाई रोज्नुहुन्थ्यो । नेपालमा हामीले यसका दुईवटा मोडल ई–एचएस ९ (लक्जरी एसयूभी) र ई-क्यूएम ५ सार्वजनिक गर्दैछौं । चिनियाँ भाषामा होङ्ची गुओलीको शाब्दिक अर्थ रातो झण्डा भन्ने हुन्छ । होङ्ची गुओलीले आईसीई इन्जिन, हाइब्रिड र बिईभीगरी तीनवटै पावर ट्रेनका कार उत्पादन गर्दै आइरहेको छ । यसको मूल्य नाइमा एक्स्पोमा राख्नेछौंं । लिन्क एण्ड को ब्रान्डका गाडीहरू के-कस्ता छन् ? यो हाम्रो लाइट कमर्सियल भेहिकल ब्रान्ड हो । यसमा हामीले जी १०० मोडलको इलेक्ट्रिक पिकअप ट्रक ल्याउँदैछौं । यसको भारवहन क्षमता १.५ टन छ भने यसमा ४२ किलोवाटको ब्याट्री र १० फिट लामो डाला उपलब्ध छ । यस पटक कतिवटा गाडीहरू लन्च हुँदैछन् र स्टलको तयारी कस्तो छ ? हामी सबै ब्रान्डका गरी कुल ८ वटा नयाँ मोडल सार्वजनिक गर्दैछौं । एमजीका २, वुलिङका ३, होङ्ची गुओलीका २ र लिन्क एण्ड कोको १ । स्टल निर्माणको काम सुरु भइसकेको छ । यसपटक हामी निकै प्रिमियम अनुभव दिने गरी स्टलहरू बनाउँदैछौं । काम धमाधम भइरहेको छ ।  ग्राहकहरूका लागि विशेष आकर्षण र सुविधाहरू के-के छन् ? ग्राहकहरूले नयाँ प्रविधि, विशेषगरी एमजीको हाइब्रिड टेक्नोलोजी र विश्वस्तरीय विलासी गाडीहरू नजिकबाट हेर्न पाउनुहुनेछ । अटो शोको समयमा विशेष मूल्य र आकर्षक अफरहरू पनि हुनेछन्, जसको घोषणा हामी नाइमामै गर्नेछौं ।  गाडी खरिद गर्न चाहने ग्राहकका लागि बैंक फाइनान्सिङको के व्यवस्था छ ? हाललाई हाम्रो कुनै विशेष बैंकसँग मात्र टाइअप त छैन, तर ग्राहकहरूले आफ्नो अनुकूलताअनुसार जुनसुकै बैंकबाट पनि फाइनान्सिङ गराउन सक्नुहुन्छ । आवश्यकता अनुसार हामी आगामी दिनमा बैंकहरूसँग सहकार्य पनि बढाउँदै लैजानेछौं । 

एउटा फोटोले दिलाउन सक्छ नयाँ एथर स्कुटर, नाइमा एक्स्पोमा दिइँदै मेगा अफर

काठमाडौं । एथर इनर्जी नेपालले यही साउन २६ गतेदेखि आयोजना हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’लाई लक्षित गर्दै ‘मेगा गिभअवे’ अभियान संचालन गरेको छ । गत वर्ष आयोजना गरिएको यस अभियानमा सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि कम्पनीले यस वर्ष पनि यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो ।  कम्पनीका अनुसार यस अभियान अन्तर्गत एक भाग्यशाली सहभागीले एथरको नयाँ इलेक्ट्रीक स्कुटर जित्ने अवसर पाउनेछन् । अर्थात् अब सामाजिक संजालमा एउटा फोटो, एउटा पोस्ट सेयर गर्दा लक्की ड्रबाट एथरको नयँँ स्कुटर पाउने छन् । यद्यपि, कम्पनीले विजेताले कुन स्कुटर पाउँछन् भन्ने चाहिँ खुलाएको छैन । कम्पनीका अनुसार यस अभियानमा सहभागी हुन ४ प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिला एथर इनर्जी नेपालको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्नेछ । नाइमा मोबिलिटी एक्स्पोमा एथरेको स्टल (हल सी स्टल नम्बर सी२) भिजिट गरी स्टलमा राखिएको एथर स्कुटरसँग एउटा आकर्षक फोटो खिच्नुपर्नेछ । उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दा @AtherEnergyNepal लाई ट्याग गर्नुका साथै आफ्ना दुई जना साथीहरूलाई पनि ट्याग गर्नुपर्नेछ । यी चरण पूरा गर्ने सहभागीहरू स्वतः लक्की ड्रमा समावेश हुने कम्पनीले जनाएको छ । भृकुटीमण्डपमा आयोजना हुने यस एक्स्पोमा एथरको स्टललाई प्रविधिमैत्री र अन्तरक्रियात्मक बनाइएको छ । जहाँ आगन्तुकहरूले एथरका नवीनतम प्रविधि, स्मार्ट फिचरहरू, तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष रूपमा अवलोकन तथा अनुभव गर्न पाउनेछन् ।  विद्युतीय सवारीका पारखी तथा नयाँ ईभी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले विभिन्न डेमो र गतिविधिहरू प्रस्तुत गर्ने जनाएको छ ।