बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले व्यवसायमा अन्यौल सिर्जना गर्छ : वैद्य
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नाइमाको उद्घाटन अध्यक्ष रितुसिंह वैद्य र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक, दिगो र व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएकी छन् । उनका अनुसार एक वर्षअघि २१ वटा सदस्य कम्पनीहरूबाट सुरु भएको नाइमामा हाल ३६ वटा सदस्य कम्पनीहरू आबद्ध भइसकेका छन् । अटोमोबाइल उद्योगलाई एउटै व्यावसायिक र जिम्मेवार प्लेटफर्ममा ल्याएर देशको गतिशीलता क्षेत्रको विकासमा योगदान पुर्याउनु संस्थाको मुख्य उद्देश्य रहेको उनले बताइन् । मन्तव्यका क्रममा अध्यक्ष वैद्यले अटोमोबाइल क्षेत्रमा भइरहेको ठूलो लगानी र रोजगारीको सुरक्षाका लागि सरकारले स्थिर र पूर्वानुमान योग्य नीति ल्याउनुपर्ने माग गरिन् । ‘बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले व्यवसायमा अन्यौल सिर्जना गर्छ,’ उनले भनिन्, ‘कुनै पनि नयाँ नीति वा नियम ल्याउनुअघि सरकारले यस क्षेत्रका सरोकारवालाहरूसँग पर्याप्त परामर्श गर्न आवश्यक छ ।’ नेपाल सरकारको स्वच्छ यातायात र दिगो विकासको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताउँदै अध्यक्ष वैद्यले विद्युतीय सवारी साधन, हाइब्रिड र अन्य अत्याधुनिक प्रविधिहरूलाई प्रोत्साहन गरिने जानकारी दिइन । उनले नेपालको आफ्नै स्वच्छ ऊर्जाको प्रयोग बढाएर पेट्रोलियम पदार्थमाथिको निर्भरता कम गर्नुपर्नेमा जोड दिइन। अध्यक्ष वैद्यले गतिशीलतालाई केवल सवारी साधनको खरिद-बिक्रीका रूपमा मात्र नहेरी यसलाई शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँचसँग जोड्नुपर्ने धारणा राखिन् । उनले भनिन, ‘गतिशीलता विलासिता होइन, यो राष्ट्रिय विकासको आधारभूत आवश्यकता हो । सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम र भरपर्दो पूर्वाधार नै हाम्रो प्राथमिकता हुनुपर्छ ।’ नेपालमा हुने ठूला अन्तर्राष्ट्रिय प्रदर्शनीहरूका लागि सुविधासम्पन्न एग्जिबिसन एन्ड कन्भेन्सन सेन्टरको अभाव रहेको तर्फ संकेत गर्दै उनले सरकारलाई यस्तो पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरिन् । यसले अटोमोबाइल मात्र नभई पर्यटन र अन्य व्यापारिक क्षेत्रलाई पनि फाइदा पुग्ने उनको विश्वास छ । भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने यस एक्स्पोमा ५५ वटा ब्रान्डका सवारी साधन र पार्टपूर्जाहरू प्रदर्शनीमा राखिएका छन् । यसै अवसरमा ४० भन्दा बढी नयाँ सवारी साधनहरू सार्वजनिक लन्च गरिनेछ । एक्स्पोमा प्रदर्शनीका साथै मोबिलिटी संवादमार्फत विज्ञहरू र नीति निर्माताहरूबीच नेपालको यातायात क्षेत्रको भविष्यबारे छलफल हुनेछ । अध्यक्ष वैद्यले सबै आम नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई एक्स्पो अवलोकन गरी नयाँ प्रविधिबारे जानकारी लिन र यस क्षेत्रको विकासमा सहभागी हुन निम्तो समेत दिएकी छन्।
आजदेखि नाइमा एक्स्पो सुरू, ५५ ब्रान्ड र ४० नयाँ मोडल प्रदर्शनीमा
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो २०२६ आज (मंगलबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डको सहभागिता रहनेछ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादन प्रदर्शनमा राखिने छन् । यात्रुवाहक विद्युतीय सवारीसाधन पनि एक्स्पोको प्रमुख आकर्षण रहनेछन् । भृकुटीमण्डपको प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ । स्टलहरूमा सम्बन्धित ब्रान्डको पहिचान झल्किने गरी सजाइएको छ । यसपटकको एक्स्पोको मुख्य आकर्षण ४० वटा नयाँ ब्रान्ड तथा मोडलको सार्वजनिक हुनु हो । बिवाइडी, निसान, टाटा, टोयोटा, हुन्डाई, किया र महिन्द्राजस्ता स्थापित ब्रान्डसँगै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्ससजस्ता ब्रान्डले पनि सहभागिता जनाउँदैछन् । पारामाउन्ट मोटर्सको स्टलमा होङ्ची गुओली ब्रान्डको गाडी विशेष आकर्षणका रूपमा रहनेछ । पारामाउन्ट मोटर्सले एक्स्पोमा आठवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । त्यस्तै, टोयोटाले आफ्नो स्टलमा दुईवटा नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । एक्स्पो अवधिभर गाडी खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट दिने घोषणा पनि टोयोटाले गरेको छ । एक्स्पोमा चारपांग्रे सवारीसाधनसँगै दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको पनि बलियो उपस्थिति रहनेछ । टिभिएस लगायतका कम्पनीले आफ्ना नयाँ स्कुटर तथा मोटरसाइकल प्रदर्शन गर्नेछन् । पछिल्लो समय नेपाली बजारमा लोकप्रियता बढाउँदै गएको विद्युतीय सवारीसाधन (ईभी) एक्स्पोको महत्वपूर्ण हिस्सा रहनेछ । ग्राहकले विभिन्न छुट तथा अफरमा आफूलाई मनपर्ने सवारीसाधन बुकिङ गर्न सक्ने व्यवस्था गरिएको नाइमाले जनाएको छ । वर्षायाममा विद्युत् आपूर्तिमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै एक्स्पोस्थलमा ठूला क्षमताका जेनेरेटरको ब्याकअपसमेत राखिएको छ । दर्शकको सुविधाका लागि प्रदर्शनी हलभित्र स्पष्ट दिशानिर्देश तथा पर्याप्त वासरुमको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नाइमा अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार गत वर्ष पहिलोपटक आयोजना गरिएको एक्स्पोले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएपछि यसपटक यसको दायरा थप विस्तार गरिएको हो । ‘एक्स्पोमार्फत हामीले आफूलाई नयाँ संस्थाका रूपमा स्थापित गर्न सफल भयौं,’ उनले भनिन्, ‘गत वर्ष ४२ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका थिए। यसपटक त्यो संख्या बढेर ५५ पुगेको छ। ब्रान्डको सहभागिता बढ्नु पनि हाम्रो लागि महत्वपूर्ण सफलता हो ।’ उनका अनुसार नाइमा एक्स्पो सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नभई अटोमोबाइलप्रेमी, व्यवसायी तथा आम उपभोक्तालाई एउटै छानामुनि जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । ‘अटोप्रेमीको एउटा हिस्सा बन्ने गरी नाइमा एक्स्पो आयोजना गर्दैछौं,’ वैद्यले भनिन्, ‘यसलाई अटोमोबाइल क्षेत्रको प्रविधि, नयाँपन र सम्भावनासँग नजिकबाट जोडिने अवसरका रूपमा विकास गर्न चाहन्छौं ।’ गत वर्ष एक लाखभन्दा बढीले एक्स्पो अवलोकन गरेको नाइमाले जनाएको छ । यसपटक भने गत वर्षभन्दा बढी अवलोनकर्ता भित्र्याउने लक्ष्य आयोजकको छ ।
यसरी हुँदैछन् ५५ ब्राण्डका स्टल निर्माण, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी धमाधम चलिरहेको छ । एक्स्पो सुरु हुन एक दिन मात्र बाँकी रहँदा विभिन्न अटोमोबाइल ब्रान्डहरू आफ्ना स्टल सजाउन व्यस्त छन् । प्रदर्शनी स्थलमा रातिसम्मै स्टल निर्माण तथा सजावटको काम भइरहेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा (भोली) साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो सञ्चालन हुँदैछ ।