कोरोला नाकाबाट ईभीको ओइरो, २ सातामै उठायो २ अर्ब बढी राजस्व

काठमाडौं । नेपाल-चीन उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा २ अर्ब २ करोड ९६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौमा पूर्णरुपमा सञ्चालनमा आएको यहाँको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।  यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व सङ्कलन भएको हो । यहाँ दैनिक औसत भन्सार राजस्व १३ करोड ६६ लाख रुपैयाँ बढी अनुपातमा राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ । यसअघि यहाँको भन्सार कार्यालयले बर्सेनि सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तु राजस्व १० देखि १५ लाख रुपैयाँमै सीमित रहन्थ्यो । यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो रहेको हो । सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको हो । यस भन्सार कार्यालयमा चीनबाट कोरला नाका हुँदै भित्रिएका एक हजार १०९ विद्युतीय सवारी साधनमध्ये ९६५ को भन्सार जाँचपास भइसकेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । भन्सार कार्यालय न्हेचुङमा हाल १४४ विद्युतीय सवारी साधनको भन्सार जाँच पाँस हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ ।  यसैगरी कोरला नाकाबाट मालवस्तु आयात गरिएका ३७५ मालबाहक कन्टेनरमध्ये सबैको भन्सार जाँचपाँस भई गन्तव्यतर्फ प्रस्थान गरेका भन्सार प्रमुख खड्काले उल्लेख गरे। यहाँको भन्सार कार्यालयका कर्मचारी दसैँ बिदामा घरतर्फ प्रस्थान गरिसकेका छन् । असोज १८ गते अर्थात पूर्णिमासम्म दसैँको सार्वजनिक बिदा भएको र दसै मनाएर कार्यस्थलमा फर्किन दुई दिन समय लाग्ने भएकाले सम्भवत २१ गतेदेखि पुनः भन्सारका नियमित कार्यसम्पादन सुरु हुने भन्सारका नायब सुब्बा उत्तम राईले जानकारी दिए।  नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै मुस्ताङमा व्यापारिक चहलपहलसमेत बढेको छ । नाका सञ्चालनले यहाँको आन्तरिक व्यापार व्यवसाय राम्रो चलेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।  यसैगरी नाकामा स्थानीय नागरिक र सवारी चलाउन जान्ने युवाहरुले राम्रो आम्दानी गरेको अध्यक्ष गुरुङको भनाइ छ ।  नाकाको सीमापारी भन्सारमा लोड अनलोड गर्ने तथा त्यहाँ चीनको भन्सारमा ल्याएका विद्युतीय सवारी साधन चलाएर बाहिर निकाल्ने युवाहरूले मनग्ये आम्दानी गर्ने बाटो खुलेको उनले उल्लेख गरे । 

दशैंमा हुन्डाईको 'हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम' अभियान सुरु

काठमाडौं । दशैंका अवसरमा हुन्डाई गाडी प्रयोगकर्ताका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई गाडीको आधिकारिक विक्रेता) ले 'हुन्डाई हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम' अभियान सञ्चालन गर्ने भएको छ । असोज ११ देखि १४ गतेसम्म बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत मुख्य राजमार्गका विभिन्न स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध हुनेछ । कम्पनीका अनुसार हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र तनहुँलगायत ११ स्थानमा दक्ष प्राविधिकमार्फत २६–प्वाइन्ट निःशुल्क चेकअप सुविधा दिइनेछ । साथै, गाडीका लागि आवश्यक लुब्रिकेन्ट र कुलेन्ट निःशुल्क उपलब्ध गराइनेछ भने विद्युतीय सवारीका लागि पोर्टेबल डीसी चार्जर पनि उपलब्ध हुनेछ । २०१४ देखि सञ्चालनमा आएको यो अभियान हुन्डाईको बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ । चाडपर्वको यात्रामा ग्राहकलाई सुरक्षित, सहज र झन्झटरहित बनाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

'चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर होटल, रेष्टुरेण्ट, कफीसप खोल्न सकिने र त्यसबाट रोजगारी सिर्जन हुने मन्त्री घिसिङले उल्लेख गरे ।  चेन्ज डिजिटलले काठमाडौंको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक रहेको बताए ।  चार्जिङ स्टेसन व्यवसाय गर्नका लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै घिसिङले नेपालमा उत्पादित जलविद्युत खपतका लागि घरायसी, उद्योग, कलकारखाना लगायतका सबै क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिने बताए । यसबाट आयात घट्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परी अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनले थपे ।  सरकारले विभिन्न नीति तथा योजना मार्फत विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सन् २०३० सम्ममा कूल निजी सवारी साधनको ९० प्रतिशत र सार्वजनिक सवारी साधनको ७० प्रतिशत विद्युतीय सवारी पुर्याउने लक्ष्य राखिएको छ ।  सन् २०३५ मा यो प्रतिशत बृद्धि गरी क्रमश : ९५ र ९० प्रतिशत पुर्याउने लक्ष्य छ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका करिब ८०० सयवटा चार्जिङ स्टेसन सञ्चालित छन् ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत भायबिलिटी ग्याप फण्डिङ्ग सहयोगमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ । केन्द्रबाट १८ वटा कम्पनीसँग ४५ वटा आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ ।