बजाजका दुई नयाँ विद्युतीय स्कुटर नेपालमा, मूल्य २ लाख ८१ हजार

काठमाडौं । बजाज अटो लिमिटेडले नेपालमा चेतक विद्युतीय स्कुटरका दुई नयाँ मोडल सी२५०१ र सी३५०३ सार्वजनिक गरेको छ । नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा यी स्कुटर सार्वजनिक गरिएको हो ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएका नयाँ स्कुटरले बजाजको विद्युतीय सवारीसाधनको सूची थप फराकिलो बनाएको कम्पनीले जनाएको छ । 

सी२५०१ मा ११३ किलोमिटरसम्मको दूरी

चेतक सी२५०१ मा २.५ किलोवाट घण्टाको लिथियम–आयन ब्याट्री जडान गरिएको छ । यसले एकपटकको चार्जमा प्रमाणित आईडीसीअनुसार ११३ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ । यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा शून्यदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने द्रुत चार्जिङ प्रणाली छ । रङ्गीन एलसीडी पर्दा, ब्लुटुथ जडान, संगीत चलाउने तथा रोक्ने सुविधा, पछाडि चलाउने सुविधा र २५ लिटरको सिटमुनिको भण्डारण क्षमता उपलब्ध छ ।

सी२५०१ ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल र मिस्टी यल्लो गरी ६ रङमा उपलब्ध हुनेछ। यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

सी३५०३ मा १५१ किलोमिटरसम्मको यात्रा

चेतक सी३५०३ मा ३.५ किलोवाट घण्टाको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ । यसले एकपटकको चार्जमा १५१ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

सी३५०३ मा डिजिटल एलसीडी पर्दा, ब्लुटुथ जडान, फोन तथा सन्देश आएको सूचना र ३५ लिटरको सिटमुनिको भण्डारण क्षमता रहेको छ । घोडाको नालजस्तो आकारको डीआरएल बत्तीले यसको पुरानो शैलीको आकर्षणलाई आधुनिक डिजाइनसँग जोडेको कम्पनीले जनाएको छ ।

सी३५०३ इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ । यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

हरित यातायात प्रवर्द्धनमा जोड

लन्च कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले चेतकको नयाँ मोडलसँगै नेपालमा हरित यातायातको क्षेत्रमा बजाजको उपस्थिति थप विस्तार भएको बताए ।

गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि नयाँ दुई मोडलमार्फत थप ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

चेतक सी२५०१ र सी३५०३ नेपालभरका छनोट गरिएका बजाज विक्रेतामार्फत बुकिङका लागि उपलब्ध छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ स्कुटर प्रत्यक्ष रूपमा हेर्न तथा अनुभव गर्न विशेष प्रदर्शनी क्षेत्रसमेत राखिएको छ ।

बजाज नेपालले विद्युतीय सवारीसाधनका ग्राहकलाई सहज र भरपर्दो सेवा दिन आफ्नो सेवा सञ्जालमार्फत निरन्तर सहयोग उपलब्ध गराउने जनाएको छ ।

Share News