काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा सवारी कर्जा योजना सार्वजनिक गरेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) एक्स्पो २०२६ लाई लक्षित गर्दै बैंकले उक्त विशेष कर्जा योजना ल्याएको हो । बैंकका अनुसार योजनाअन्तर्गत हाल कायम सवारी कर्जाको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । यो विशेष ब्याजदर भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । त्यसपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाइएको छ ।
बैंकका अनुसार ग्राहकले कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा गरेको अवस्थामा २४ घण्टाभित्र सवारी कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारीसाधन खरिद गर्न सहज र छिटो कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।
उक्त सवारी कर्जा सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखामार्फत उपलब्ध हुने जनाइएको छ । नाइमा एक्स्पो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले यो विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजारअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई थप सुविधा र अवसर प्रदान गर्ने उद्देश्यले विशेष सवारी कर्जा योजना ल्याइएको बैंकले जनाएको छ ।