काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो २०२६ आज (मंगलबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डको सहभागिता रहनेछ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादन प्रदर्शनमा राखिने छन् । यात्रुवाहक विद्युतीय सवारीसाधन पनि एक्स्पोको प्रमुख आकर्षण रहनेछन् ।
भृकुटीमण्डपको प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ । स्टलहरूमा सम्बन्धित ब्रान्डको पहिचान झल्किने गरी सजाइएको छ । यसपटकको एक्स्पोको मुख्य आकर्षण ४० वटा नयाँ ब्रान्ड तथा मोडलको सार्वजनिक हुनु हो । बिवाइडी, निसान, टाटा, टोयोटा, हुन्डाई, किया र महिन्द्राजस्ता स्थापित ब्रान्डसँगै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्ससजस्ता ब्रान्डले पनि सहभागिता जनाउँदैछन् ।
पारामाउन्ट मोटर्सको स्टलमा होङ्ची गुओली ब्रान्डको गाडी विशेष आकर्षणका रूपमा रहनेछ । पारामाउन्ट मोटर्सले एक्स्पोमा आठवटा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ ।
त्यस्तै, टोयोटाले आफ्नो स्टलमा दुईवटा नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । एक्स्पो अवधिभर गाडी खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट दिने घोषणा पनि टोयोटाले गरेको छ ।
एक्स्पोमा चारपांग्रे सवारीसाधनसँगै दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको पनि बलियो उपस्थिति रहनेछ । टिभिएस लगायतका कम्पनीले आफ्ना नयाँ स्कुटर तथा मोटरसाइकल प्रदर्शन गर्नेछन् ।
पछिल्लो समय नेपाली बजारमा लोकप्रियता बढाउँदै गएको विद्युतीय सवारीसाधन (ईभी) एक्स्पोको महत्वपूर्ण हिस्सा रहनेछ । ग्राहकले विभिन्न छुट तथा अफरमा आफूलाई मनपर्ने सवारीसाधन बुकिङ गर्न सक्ने व्यवस्था गरिएको नाइमाले जनाएको छ ।
वर्षायाममा विद्युत् आपूर्तिमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै एक्स्पोस्थलमा ठूला क्षमताका जेनेरेटरको ब्याकअपसमेत राखिएको छ । दर्शकको सुविधाका लागि प्रदर्शनी हलभित्र स्पष्ट दिशानिर्देश तथा पर्याप्त वासरुमको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार गत वर्ष पहिलोपटक आयोजना गरिएको एक्स्पोले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएपछि यसपटक यसको दायरा थप विस्तार गरिएको हो । ‘एक्स्पोमार्फत हामीले आफूलाई नयाँ संस्थाका रूपमा स्थापित गर्न सफल भयौं,’ उनले भनिन्, ‘गत वर्ष ४२ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका थिए। यसपटक त्यो संख्या बढेर ५५ पुगेको छ। ब्रान्डको सहभागिता बढ्नु पनि हाम्रो लागि महत्वपूर्ण सफलता हो ।’
उनका अनुसार नाइमा एक्स्पो सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नभई अटोमोबाइलप्रेमी, व्यवसायी तथा आम उपभोक्तालाई एउटै छानामुनि जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
‘अटोप्रेमीको एउटा हिस्सा बन्ने गरी नाइमा एक्स्पो आयोजना गर्दैछौं,’ वैद्यले भनिन्, ‘यसलाई अटोमोबाइल क्षेत्रको प्रविधि, नयाँपन र सम्भावनासँग नजिकबाट जोडिने अवसरका रूपमा विकास गर्न चाहन्छौं ।’
गत वर्ष एक लाखभन्दा बढीले एक्स्पो अवलोकन गरेको नाइमाले जनाएको छ । यसपटक भने गत वर्षभन्दा बढी अवलोनकर्ता भित्र्याउने लक्ष्य आयोजकको छ ।