मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा

काठमाडौं । टेस्लाको सेयर सोमबारको प्रारम्भिक कारोबारमा ६ प्रतिशतले बढ्यो जब कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले करिब १ अर्ब डलर बराबरको टेस्लाको सेयर खरिद गरेको खुलासा गरे । यो खरिदलाई मस्कले कम्पनीको भविष्यप्रति देखाएको पछिल्लो ठूलो विश्वासको संकेतका रूपमा हेरिएको छ । यो सेयर खरिद मस्कको २०२० को सुरुवातपछिको पहिलो खुला बजार खरिद हो– जुन टेस्लाका लागि महत्त्वपूर्ण समयमै आएको हो । कम्पनी हाल आफैलाई कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्स पावरहाउसमा रूपान्तरण गर्ने महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न दौडिरहेको छ, यद्यपि कार बिक्री सुस्ताउँदै गएको चुनौती पनि छ । यो कदमले मस्कको टेस्लामा अझ बढी नियन्त्रण चाहने लक्ष्यलाई पनि बलियो बनाएको छ । यसअघि करिब एक हप्ताअघि मात्रै कम्पनीको बोर्डले मस्कका मागलाई सम्बोधन गर्ने गरी १ ट्रिलियन डलर बराबरको क्षतिपूर्ति योजना प्रस्ताव गरेको थियो, जसले कम्पनीका वित्तीय र सञ्चालन लक्ष्यहरूलाई उच्च स्तरमा राखेको छ । सोमबारको नियामक विवरण अनुसार मस्कले शुक्रबार २५.७ लाख सेयर खरिद गरेका थिए, प्रति सेयर ३७२.३७ देखि ३९६.५४ डलरसम्म तिरेर ।  ‘यो मस्कले पुनः टेस्लामा पुरै ध्यान केन्द्रित गर्न लागेको स्पष्ट संकेत हो... वर्षको कमजोर सुरुवातपछि टेस्ला-मस्कको कथा पुनः सही ट्रयाकमा फर्किएको देखिन्छ,’ हग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ इक्विटी विश्लेषक म्याट ब्रिट्जम्यानले भने । मस्कले निरन्तर टेस्लामा आफ्नो सेयर हिस्सेदारी र मतदान शक्ति बढाउन माग गर्दै आएका छन् । उनले पहिले भनेका थिए कि यदि उनले २५ प्रतिशत मतदान शक्ति पाउन सकेनन् भने एआई र रोबोटिक्सका उत्पादनहरू टेस्लाबाहिर बनाउने उनको प्राथमिकता हुनेछ । एलएसईजीका तथ्यांकअनुसार डिसेम्बरसम्म मस्कसँग करिब १३ प्रतिशत सेयर हिस्सेदारी थियो । सोमबार लगातार तेस्रो दिन टेस्लाको सेयर बढिरहेको भए पनि यो वर्ष हालसम्म यसको मूल्य २ प्रतिशत घटेको छ, जसले यसलाई ‘म्याग्निफिसेन्ट सेभेन’ ठूला टेक कम्पनीहरूबीच कमजोर प्रदर्शन गर्ने सेयर बनाएको छ । टेस्लाको पछिल्लो त्रैमासिक नतिजामा कम्पनीको नाफामा दबाब जारी रहेको देखिएको छ किनभने विद्युतीय कारको माग सुस्त भएको, लागत बढेको र प्रतिस्पर्धा तीव्र भएको छ । तर, टेस्लाको बोर्ड अध्यक्ष रोबिन डेन्होल्मले शुक्रबार भनेका थिए कि मस्कको राजनीतिक गतिविधिले बिक्रीमा असर गरेको भन्ने चिन्ता निराधार छ । उनका अनुसार मस्क केही महिना ह्वाइट हाउसमा व्यस्त रहेपनि अहिले पुनः कम्पनीमा ‘फ्रन्ट एन्ड सेन्टर’ अर्थात् पूर्ण रूपमा सक्रिय भएका छन् । इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति

जेनजी आन्दोलनमा काठमाडौंमा एक हजारभन्दा बढी सरकारी गाडी जले

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा मात्रै एक हजारभन्दा बढी सरकारी सवारीसाधनमा आगजनी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । विभिन्न सरकारी निकायहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार आन्दोलनका क्रममा ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे गरी कुल १ हजार ०४२ वटा सरकारी सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् । यद्यपि, अधिकारीहरूले दुईपांग्रे सवारीसाधनको संख्यालाई तुलनात्मक रूपमा न्यून भएको बताएका छन् । सरकारी तथा निजी सवारीसाधनमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको कुल आर्थिक क्षतिको मूल्याङ्कन गर्न अझै केही समय लाग्ने सरकारी अधिकारीहरूको भनाइ छ ।  विवरणअनुसार सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारीसाधन नष्ट भएका छन् । त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा गाडी जलेका छन् ।  यस्तै, शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी आगजनीबाट नष्ट भएका छन् । भदौ २३ गतेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि उच्चपदस्थ कर्मचारीहरूले सरकारी सवारीसाधनहरूलाई कार्यालय परिसरमै पार्किङ गर्न निर्देशन दिएका थिए । तर, भदौ २४ गते आन्दोलन अझ हिंसात्मक बनेपछि सिंहदरबार परिसरभित्र र बाहिरका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट र आगजनीका घटना घटेका थिए ।  त्यसक्रममा आगो लागेका सवारीसाधनहरू अहिले पनि सरकारी कार्यालय परिसरहरूमा देखिन सकिन्छ । 

अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न नाडाको आह्वान

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले हालै देशभर भएका आन्दोलन र प्रदर्शनहरूले मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रमा गहिरो प्रभाव पारेको भन्दै चिन्ता व्यक्त गरेको छ । नाडाले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाउन बाध्य भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।  साथै घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाले देशमा शान्ति र स्थायित्वको वातावरण कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संघले अटोमोबाइल उद्योगलाई देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला ठहराउँदै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको र कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढाएको जनाएको छ ।  ‘देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पारेको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा चुनौती थपिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। नाडाले हरेक जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट खोज्न सकिने विश्वास व्यक्त गर्दै सरकारलाई व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न, अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न आह्वान गरेको छ । संस्थाले सदस्य कम्पनीहरूको हित र उपभोक्ताको विश्वास सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्दै मुलुकलाई स्थायित्वतर्फ अघि बढाउन सबै सरोकारवालालाई सकारात्मक संवाद र जिम्मेवार नेतृत्वको आग्रह गरेको छ । नाडाले नयाँ सरकारले आउँदो ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेको छ ।