नाइमा मोबिलिटी एक्स्पो अघिल्लो वर्षभन्दा भव्य हुन्छ
साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करण ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को आयोजना गर्दैछ । अटो व्यवसायी र गाडी प्रेमीहरूले यो एक्स्पोलाई मेला महाकुम्भका रूपमा लिने गरेका छन् । अटोमोबाइल क्षेत्रलाई देशको गतिशीलताको मेरुदण्ड मानिन्छ । गत वर्षदेखि नाइमाले नेपालीमा अटो शो गर्न थालेको हो । नाइमाले पहिलो संस्करणभन्दा दोस्रो संस्करण भव्य, सभ्य र व्यवस्थित हुने दाबी गरेको छ । वास्तवमा यो एक्स्पो अघिल्लो वर्षको तुलनामा कत्तिको भव्य हुनेछ ? ग्राहक र अवलोकनकर्ताले के नयाँ अनुभव गर्न पाउनेछन् ? यिनै विषयमा केन्द्रित रहेर विकासन्युजका नरेन्द्र विष्टले नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालससँग कुराकानी गरेका छन् । नाइमा मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण हो । पहिलो संस्करणको सफलतापछि यसपालि तपाईंहरूले के-कस्ता नयाँपन थप्नुभएको छ ? अवलोकनकर्ताहरूले यसपालि के फरक पाउनेछन् ? वास्तवमा पहिलो संस्करण देख्नुभएका अवलोकनकर्ताहरूका लागि यो दोस्रो संस्करण निकै बृहत् र परिष्कृत लाग्नेछ । पोहोरको सिकाइलाई हामीले यसपालि कार्यान्वयनमा ल्याएका छौं । पहिलो कुरा त आकारमै वृद्धि भएको छ । अघिल्लो पटक ४७ वटा स्टलहरू थिए भने यसपालि ५२ वटा स्टलहरू छन् । सहभागी ब्रान्डहरूको संख्या ५५ भन्दा बढी पुगेको छ । र सबैभन्दा उत्साहजनक कुरा त ४० वटा नयाँ मोडलका सवारी साधनहरू यसै एक्स्पोमार्फत पहिलोपटक नेपाली बजारमा लन्च गरिँदैछ । हामीले पूर्वाधार र व्यवस्थापनमा पनि निकै सुधार गरेका छौं । पोहोर पार्किङको केही समस्या देखिएको थियो । त्यसलाई सम्बोधन गर्दै यसपालि ६ दिनै नेपाल पुलिस क्लबको ब्लु प्याभिलियन भित्र व्यवस्थित पार्किङको व्यवस्था मिलाएका छौं । साथै लर्निङ सेसनमा मानिसहरूको निकै रुचि देखिएकाले यसपालि ६४५ जना क्षमताको विशाल अडिटोरियम हलमा विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रम राखेका छौं । जहाँ प्रवेश निःशुल्क गरिएको छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको हामीले यसपालिलाई डिसाबिलिटी फ्रेन्ड्ली बनाउन विशेष अपाङ्गता मैत्री डेस्क र भोलुन्टियरहरूको व्यवस्था गरेका छौं । एक्स्पोलाई व्यवस्थित बनाउन धेरै मिहिनेत देखिन्छ । यसपालिको मुख्य आकर्षण वा भनौं केन्द्रबिन्दु चाहिँ केलाई मान्ने ? एक्स्पोको मुख्य आकर्षण भनेकै ५५ वटा अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरू एउटै छानामुनि उपलब्ध हुनु हो । यसमा २६ वटा प्यासेन्जर भेहिकल (कार, जीप), १८ वटा दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटर) र ८ वटा कमर्सियल भेहिकल (ट्रक, बस) का ब्रान्डहरू छन् । ग्राहकले एउटै ठाउँमा धेरै विकल्पहरू तुलना गर्न पाउनेछन् । ४० वटा नयाँ मोडल लन्च हुनु आफैमा ठुलो कुरा हो । साथै हाम्रा बैंकिङ र इन्स्योरेन्स पार्टनरहरूले दिने विशेष सुविधाहरू पनि आकर्षणका केन्द्र हुन् । स्टलहरूको व्यवस्थापन र डिजाइनमा केही नयाँपन छ कि पुरानै छन् ? हामीले यी स्टलहरूलाई प्रिमियम स्टलका रूपमा परिभाषित गरेका छौं । यसको निश्चित लम्बाई, चौडाई र उचाईको मापदण्ड तोकिएको छ। यी स्टलहरू निकै ओपन र फ्लेक्सिबल छन् । जसले गर्दा धेरै भीडभाड भएको महसुस हुँदैन र अवलोकनकर्ताले गाडीको वरिपरि घुमेर राम्रोसँग अध्ययन गर्न पाउँछन् । भृकुटीमण्डपको पुरै एरिया हामीले बुक गरेका छौं । जसले गर्दा पानी पर्दा पनि नभिज्ने र सबै स्टलमा सहज पहुँच पुग्ने गरी अपाङ्गतामैत्री प्लेटफर्महरू निर्माण गरिएको छ । तपाईंले ४० वटा नयाँ मोडल लन्च हुने भन्नुभयो । के ती सवारी साधनहरू नेपालमै पहिलोपटक देखिने हुन् ? विशेषगरी दुई पाङ्ग्रेमा कस्ता नयाँ उत्पादनहरू छन् ? ४० वटै मोडलहरू नेपाली बजारका लागि बिल्कुलै नयाँ हुन् । यसमा प्यासेन्जर कारदेखि लिएर कमर्सियल र मोटरसाइकलसम्म छन् । कतिपय मोडलहरू त सरप्राइजका रूपमा राखिएका छन् । जुन एक्स्पोकै दिन सार्वजनिक हुनेछन् । दुई पाङ्ग्रेमा पनि नयाँ ईभी स्कुटर र उच्च क्षमताका बाइकहरू प्रदर्शनमा रहनेछन् । नाइमाले स्थापनाकालदेखि नै अटो क्षेत्रलाई कसरी हेरिरहेको छ ? हाम्रो समाजमा अझै पनि गाडीलाई विलासिताको वस्तु मान्ने सोच छ, यसमा तपाईंको धारणा के छ ? सवारीसाधन अब विलासिता होइन, यो एक अत्यावश्यक आवश्यकता हो । हाम्रो नारा नै मोबिलिटी फर अल हो । देशको गतिशीलता जति बढ्छ, आर्थिक गतिविधि त्यति नै तीव्र हुन्छ । गतिशीलताले रोजगारी सिर्जना गर्छ र देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा टेवा पुर्याउँछ । एक वर्षको दौरानमा हामीले के अनुभव गरेको छौं भने अब मानिसहरूले सवारी साधनलाई जीविकोपार्जनको माध्यम र एउटा एसेटका रूपमा बुझ्न थालेका छन् । यो लायबिलिटी होइन । त्यसैले हामीले पूर्वाधार विकास र सहज बैंकिङ कर्जाका लागि बारम्बार आवाज उठाइरहेका छौं । पछिल्लो समय सडकमा विद्युतीय सवारीसाधन (ईभी) को लहर देखिएको छ । नाइमामा आबद्ध कम्पनीहरूले ईभीको मागलाई कसरी सम्बोधन गरिरहेका छन् ? नाइमामा हाल ३६ वटा प्रमुख आयातकर्ता कम्पनीहरू आबद्ध छन् । नेपालमा आयात हुने प्रमुख ईभी, आईसीई (पेट्रोल/डिजेलबाट चल्ने) र हाइब्रिड सवारी साधनका आयातकर्ताहरू हामीसँग हुनुहुन्छ । अहिले सरकारको नीति ईभीमैत्री भएकाले र भन्सारमा केही सहुलियत प्राप्त भएकाले ईभीको आयात बढेको देखिनु स्वाभाविक हो । नाइमाले सधैं इनेबलिंग इन्भायरोमेन्टको वकालत गर्छ । हाम्रा सदस्य कम्पनीहरूसँग सबै प्रकारका अत्याधुनिक प्रविधियुक्त सवारी साधनहरू उपलब्ध छन् । बजारमा अहिले ईभी र परम्परागत इन्जिन गाडीहरूबीच के-कस्तो प्रतिस्पर्धा छ ? ग्राहकले के रोजिरहेका छन् ? यसलाई प्रतिस्पर्धा भन्दा पनि फ्रीडम अफ चोइसका रूपमा हेर्नुपर्छ । ग्राहकले आफ्नो आवश्यकता र भूगोल अनुसार गाडी रोज्न पाउँछन् । कसैलाई लामो दुरी वा अफ-रोडका लागि पेट्रोल/डिजेल गाडी नै चाहिएला, कसैलाई सहरभित्रका लागि ईभी उपयुक्त होला । नाइमाले सधैं ग्राहकलाई बुझेर मात्र निर्णय लिन आग्रह गर्छ । तुलनात्मक रूपमा अहिले ईभी आयातकर्ताहरूको संख्या र उत्साह बढी देखिए पनि हाइब्रिड र पेट्रोल/डिजेल गाडीहरूको आफ्नै महत्त्व र बजार छ । एक्स्पोमा आउने ग्राहकका लागि छुट र फाइनान्सिङका के-कस्ता सुविधाहरू छन् ? एक्स्पो एउटा महोत्सव हो । यहाँ सहभागी ५५ वटै ब्रान्डले स्पेसल अफर सार्वजनिक गर्नेछन् । फाइनान्सिङका लागि यसपालि हामीसँग तीनवटा बैंकिङ पार्टनरहरू छन् । ग्लोबल आइएमई बैंक (को-स्पोन्सर), सिद्धार्थ बैंक र एनएमबी बैंक । गत वर्ष एउटा बैंक मात्र थियो । आवश्यकता महसु्स गरी यसपटक हामीले दुईवटा बैंक थपेका हौं । मानिसहरूले डाउन पेमेन्ट गरेर किस्ताबन्दीमा गाडी किन्न चाहने हुनाले बैंकहरूले त्यहीं तत्कालै परामर्श र प्रक्रिया अगाडि बढाउनेछन् । साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स पार्टनरका रूपमा रहेकाले बीमाको काम पनि त्यहीं हुनेछ । अर्को विशेष अफर युनियन पेमार्फत टिकट काट्दा ५० प्रतिशत क्यासब्याक पाइनेछ । पठाओले एक्स्पो आउन र जानका लागि विशेष डिस्काउन्टेड राइड दिने व्यवस्था गरेका छाैं । धेरै मानिसहरू गाडी किन्न एक्स्पो नै कुर्नुहुन्छ । उनीहरूले शोरुममा भन्दा एक्स्पोमा गाडी किन्दा के फाइदा पाउँछन् ? सबैभन्दा ठुलो फाइदा भनेको समयको बचत र तुलना हो । एउटै ठाउँमा दुई घण्टा समय दिँदा तपाईंले बजारका सबै विकल्पहरू देख्न पाउनुहुन्छ । शोरुम-शोरुम धाउनु पर्दैन । अर्को कुरा एक्स्पोमा कम्पनीहरूले दिने अफरहरू शोरुमको भन्दा अझ आकर्षक र तत्काल निर्णय लिन सहयोग गर्ने खालका हुन्छन् । त्यहाँ विज्ञहरूको टिम हुन्छ । जसले तपाईंको आवश्यकता बुझेर सही सल्लाह दिन्छ । नाइमाले अटो व्यवसायीहरूका चुनौतीहरूका बारेमा पनि कुरा उठाइरहेको छ । अहिलेको मुख्य चुनौती के हो ? हाम्रो प्रमुख माग भनेको स्थिर नीति हो । अटो व्यवसायमा ठुलो पुँजी लगानी हुन्छ । यो वर्ष एउटा नीति अर्को वर्ष अर्कै नीति हुँदा लगानी जोखिममा पर्छ । कम्तीमा ५ देखि १० वर्षका लागि पूर्वानुमान योग्य नीति हुनुपर्छ । हामीले यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग निरन्तर छलफल गरिरहेका छौं । अर्को मुद्दा लोन टु भ्यालु रेसियो हो । अहिले ८० प्रतिशतसम्म लोन हुनुपर्छ भन्ने हाम्रो माग छ । मध्यम र न्यून आय भएका मानिसहरूले थोरै डाउन पेमेन्टमा गाडी लिएर त्यसलाई आम्दानीको स्रोत बनाउन सकून् भन्ने हाम्रो चाहना हो । बैंकहरूमा तरलता हुँदाहुँदै पनि कसिलो नीतिका कारण बजार चलायमान हुन सकेको छैन । हामीले सरकारलाई १४ बुँदे मागपत्र पनि बुझाएका छौं । बैंक कर्जा लिने ग्राहकहरूको क्षमता र बजारको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? नेपालमा गाडी किनेर त्यसैबाट कमाएर किस्ता तिर्ने एउटा ठुलो जमात छ । त्यसैले गाडी अब एउटा एसेट हो । यद्यपि हाम्रो प्रतिव्यक्ति आय अझै कम भएकाले गाडी किन्ने पहुँच सबैमा नहुन सक्छ । तर नाइमाका सदस्यहरूले सस्तो ह्याचब्याकदेखि महँगो लक्जरी गाडीसम्मका विकल्पहरू दिएकाले ग्राहकको इच्छाअनुसार गाडी छान्न सक्ने अवस्था छ । अहिलेको उपभोक्ताहरू निकै सचेत छन् । नाइमा एक्स्पो सकिनेबित्तिकै नाडाको पनि अटो शो हुँदैछ । के यो दुई संस्थाबीचको टकराव हो कि स्वस्थ प्रतिस्पर्धा ? यसलाई टकरावका रूपमा हेर्नु हुँदैन । हामी एक-अर्काका परिपूरक हौं । नाडाको २८०० भन्दा बढी सदस्य भएको लामो इतिहास छ । नाइमा चाहिँ आयातकर्ता र उत्पादकहरूको विशिष्टीकृत संस्था हो । भृकुटीमण्डपको सीमित क्षेत्रफलका कारण हामीले हाम्रै कतिपय सदस्यहरूलाई पनि स्टल दिन सकेनौं । त्यसैले उद्योगको मागअनुसार हामीले भविष्यमा कमर्सियल भेहिकल वा अन्यका लागि छुट्टै एक्स्पो गर्ने सोच पनि राखेका छौं । एउटै संस्थाले मात्रै यो सबै क्षेत्रको माग धान्न सक्ने अवस्था छैन । त्यसैले यो उद्योगकै हितमा छ । नाडा शो र नाइमा एक्स्पोमा के फरक छ ? नाइमाले आफूलाई कसरी युनिक बनाएको छ ? नाइमा एक्स्पोको मुख्य विशेषता भनेको यो दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको मात्रै शुद्ध प्रदर्शनी हो । यहाँ पार्टपुर्जा वा अन्य सहायक सामग्री भन्दा पनि मुख्य सवारी साधनमै केन्द्रित छ । लर्निङ सेसनलाई निकै महत्त्व दिएका छौं । जहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय एक्सपर्टहरू आउनुहुन्छ । हामीले यसलाई नेपालकै सबैभन्दा व्यवस्थित र बृहत् अटो एक्स्पोका रूपमा प्रमाणित गर्न खोजेका छौं । यसपालिको एक्स्पोमा कति अवलोकनकर्ता आउने र कति कारोबार हुने अपेक्षा छ ? हामीले करिब डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेका छौं । हामी व्यापारको प्रत्यक्ष ट्र्याक त राख्दैनौं, तर पोहोरको भन्दा बढी बुकिङ हुने र कारोबार हुनेमा हामी विश्वस्त छौं । पोहोर बुकिङ गर्ने ग्राहकहरू क्वालिटी कस्टमर थिए र ती बुकिङहरू वास्तविक व्यापारमा परिणत भए । यसपालि पनि ग्राहकको गुणस्तर र संख्या दुवै बढ्ने अपेक्षा गरेका छाैं । यो एक्स्पोपछि नेपालको अटो बजार कुन दिशामा जाला ? ग्राहकलाई के भन्न चाहनुहुन्छ ? एक्स्पोपछि कुन ब्रान्ड र मोडलमा ग्राहकको बढी रुचि छ भन्ने कुरा सडकमा देखिन थाल्नेछ । यो एक्स्पो व्यापार मात्र होइन, एउटा कम्प्रिहेन्सिभ लर्निङ स्थल हो । ग्राहकले मैले बुझेर, जानेर र सोधेर गाडी किनेँ भन्ने अनुभूति गराउनु नै हाम्रो सफलता हो । म सबैलाई भृकुटीमण्डप आउन र अटोमोबाइलको नयाँ प्रविधिसँग साक्षात्कार गर्न आह्वान गर्दछु ।
पूर्वी नेपालका घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सुनसरीको कप्तानगञ्जसहित पूर्वी नेपालका केही जिल्लामा देखिएका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाडाले सामाजिक सद्भाव कायम राख्दै संवाद र लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्न सबै पक्षसँग अपिल गरेको हो । अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्रको एकता, सहिष्णुता र भाइचाराको भावना जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ । नाडाले संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार र माग शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट राख्ने अधिकार सुनिश्चित गरेको भए पनि हिंसा, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि कुनै पनि रूपमा स्वीकार्य नहुने जनाएको छ । विज्ञप्तिमा यस्ता घटनाले शान्ति–सुरक्षामा मात्र नभई उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्ने उल्लेख गरिएको छ । विशेषगरी व्यवसायिक वातावरण प्रभावित हुँदा निजी क्षेत्र थप चिन्तित बनेको नाडाको भनाइ छ । नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियाअनुसार संवाद र आपसी समझदारीमार्फत समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ । साथै, नेपाल सरकार र सम्बन्धित निकायलाई शान्ति–सुरक्षा कायम गर्दै जनधनको संरक्षण, सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ । नाडाले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।
अब एनएमबी बैंकले सेकेन्ड ह्यान्ड ईभी किन्न कर्जा दिने
काठमाडौं । एनएमबी बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पुराना (सेकेन्ड ह्यान्ड) विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । हरित बैंकिङप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै बैंकले नेपालभर प्रयोगमा रहेका चारपांग्रे विद्युतीय सवारीसाधन खरिदका लागि नयाँ वित्तीय योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार ‘प्रि–ओन्ड ईभी फाइनान्सिङ’ योजनामार्फत व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका ग्राहकले सहज रूपमा कर्जा लिन सक्नेछन् । छिटो प्रक्रिया र ग्राहकमैत्री सेवालाई प्राथमिकता दिइएको यो योजनाअन्तर्गत देशभर रहेका एनएमबी बैंकका शाखा वा बैंकका डिजिटल माध्यममार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एनएमबी बैंकले हरित वित्तीय सेवामा आफ्नो अग्रणी भूमिका थप मजबुत बनाउने उद्देश्यसहित यो योजना ल्याएको जनाएको छ । बैंकले वातावरणमैत्री यातायातलाई प्रोत्साहन दिँदै बढीभन्दा बढी ग्राहकलाई विद्युतीय सवारीसाधन प्रयोगतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ । हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ वटा विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।