सिप्रदीको कपन वर्कसप अब सौर्य ऊर्जाबाट चल्ने, ८६.४ किलोवाटको प्लान्ट सञ्चालन

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट क्षमताको रूफटप सोलार पीभी प्लान्ट सञ्चालनमा आएको छ ।

उक्त सोलार प्लान्टको उद्घाटन सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सिप्रदीका सीईओ श्रेष्ठले विद्युतीय सवारीसाधनको बिक्री तथा वितरणमा मात्र सीमित नभई यसको सम्पूर्ण प्रयोग र सर्भिसिङ प्रक्रियालाई वातावरणमैत्री र दिगो बनाउने कम्पनीको प्रतिबद्धता रहेको बताए ।

उनका अनुसार कपन ईभी वर्कसपमा सौर्य ऊर्जा प्लान्ट स्थापना हुनु सोही प्रतिबद्धताको महत्वपूर्ण कदम हो ।

अब ईभी चार्जिङदेखि मर्मत तथा सर्भिसिङसम्मका काममा स्वच्छ ऊर्जाको प्रयोग गर्न सकिने उनले बताए ।

प्राइम रिन्युएबल्सका अध्यक्ष गर्गले विद्युतीय सवारीसाधनलाई ऊर्जा प्रदान गर्ने स्रोत पनि स्वच्छ हुनुपर्ने बताए ।

उनले सौर्य ऊर्जामार्फत ईभी इकोसिस्टमलाई थप दिगो र कार्बन उत्सर्जनमुक्त बनाउने उद्देश्य रहेको बताए ।

सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्ससँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोगको सम्भावना प्रस्तुत गरेको उनको भनाइ छ ।

उनका अनुसार परियोजनाले विद्युत् खर्च घटाउन सहयोग गर्नुका साथै अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रको कार्बन उत्सर्जन घटाउन पनि योगदान पुर्याउनेछ ।

सम्झौता भएको तीन महिनामै निर्माण सम्पन्न गरी प्लान्ट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको छ । यसबाट वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।

उत्पादित स्वच्छ ऊर्जाले कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान पुर्याउने कम्पनीको दाबी छ ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला ईभीसँगै त्यसको चार्जिङ, मर्मत तथा सर्भिसिङमा समेत स्वच्छ ऊर्जाको प्रयोग आवश्यक रहेको कम्पनीहरूले बताएका छन् ।

सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्यले नेपालको कर्पोरेट क्षेत्रमा व्यावसायिक सौर्य ऊर्जाको एकीकरणका लागि नयाँ उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

स्वच्छ ऊर्जा उत्पादन र अटोमोबाइल सर्भिसिङलाई एकै ठाउँमा जोडिएको यस परियोजनाले नेपाललाई शून्य उत्सर्जनतर्फ लैजाने लक्ष्यमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

Share News