विकासन्युज

एमएडब्लुले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने

काठमाडौं । एमएडब्लु वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको छ । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता  एमएडब्लुले छिट्टै इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने भएको हो । वातावरण र जनस्वास्थ्य दुवैका लागि फाइदाजनक भएको कारण बजार तथ्याङ्कले पनि उपभोक्ताहरूले विस्तारै विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइरहेका देखिएकाले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान ल्याउने लागिएको कम्पनीले बताएको छ ।  

नाफा वृद्धिमा प्रभु, एनसीसी र सनराइजको प्रतिस्पर्धा, ग्लोबल र एनआईसी एशियाबीच पहिलो बन्ने टक्कर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु गत आर्थिक वर्ष २०७८/०७९ को आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । जसमा विभिन्न ९ वटा वाणिज्य बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ९ वटा बैंकमध्ये ८ वटा बैंकको नाफा बढेको छ भने एक बैंकको नाफा सामान्य घटेको छ । गत वर्ष यी ९ वटा बैंकको नाफा २९.०५ प्रतिशतले वृद्धि भएर २४ अर्ब ८१ करोड ३९ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लोे आर्थिक वर्षको सोही अवधिमा यी ९ बैंकले १९ अर्ब २२ करोड ७५ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल भएको छ । ग्लोबल आइएमई बैंकलाई एनआईसी एशिया बैंकले पछ्याइरहेको छ । यी दुवै बैंकबीच पहिलो बन्न प्रतिस्पर्धा भइरहेको छ । तेस्रोमा प्रभु बैंक, चौंथोमा सिटिजन्स बैंक र पाँचौमा माछापुच्छ्रे बैंक रहेका छन् । गत वर्षको असार मसान्तसम्ममा सबैभन्दा कम नाफा आर्जन गर्नेमा लक्ष्मी बैंक रहेको छ । यता अघिल्लो वर्षको तुलनामा गत वर्ष भने सानिमा बैंकको नाफा सामान्य घटेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुदा नाफा २५ प्रतिशत बढेर ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३८.८६ प्रतिशत बढेर ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २५ करोड ८९ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, प्रभु बैंक लिमिटेडकोे गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५१.११ प्रतिशत बढेर २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.०७ प्रतिशत घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.७६ प्रतिशत बढेर २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३४.४३ प्रतिशत बढेर २ अर्ब १६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सनराइज बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४८.६९ प्रतिशत बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५१.५७ प्रतिशत बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, लक्ष्मी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.७६ प्रतिशत बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गरिमा विकास बैंकका ग्राहकलाई चितवनको सिराईचुली होटल र एनपिआई अस्पतालमा छुट

काठमाडौं । गरिमा विकास बैंकले ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग सम्झौता गरेको छ । बैंकले होटल र अस्पतालसँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता गरेको हो । यस सम्झौता पश्चात बैंकका ग्राहकले चितवनको सिराईचुली होटल होटलमा रुम तथा ब्रेकफास्टमा २५ प्रतिशतसम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यसका साथै बैंकका ग्राहकले एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १० प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकले सेवामा छुट पाउनको लागि कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ ।  यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

मौद्रिक नीति कार्यान्वयन गर्न चुनौतिपूर्ण छ : सिबिफिन

काठमाडाैं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालले अर्थतन्त्रलाई लयमा फर्काउनका लागि समय सान्दर्भिक नीतिहरु मौद्रिक नीतिले अवलम्बन गरेको बताएकाे छ । मंगलबार विज्ञप्ति जारी गर्दै सिबिफिनले यस्ताे बताएकाे हाे । यद्दपि, सिबिफिनकाे अनुसार मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाहरुको कार्यान्वयन भने चुनौतिपूर्ण हुनेछ । ‘बाह्य क्षेत्रका विविध घटनाक्रमको कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर देखिएको अवस्थामा आर्थिक स्थिरता कायम गर्न, मूल्यवृद्धि सीमाभित्र राख्न, विदेशी मुद्राको सञ्चितिलाई स्थिर राख्न, भुक्तानी सन्तुलन कायम गर्न, कमजोर उत्पादन प्रणालीका कारण चुलिदो आयातलाई प्रतिस्थापन गर्नका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन चुनौती खडा गरिरहेको छ,’ विज्ञप्तिमा भनिएकाे छ । बैकदरमा गरिएको वृद्धि, अनिवार्य नगद मौज्दात एवं वैधानिक तरलता अनुपातको सीमामा गरिएको वृद्धि, आयात गर्न राखिने मार्जिनलाई परिमार्जन गरी गरिने व्यवस्था, कर्जा प्रवाहको सीमामा संकुचन जस्ता विषयहरुले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा थप चुनौतिपूर्ण हुने देखिएको सिबिफिन बताउँछ । सिबिफिनले यसबाट बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीको प्रतिफलमा संकुचन हुन जाने सहजै अनुमान गर्न बताएकाे छ ।                  

‘रेडी टु गो’काे अवस्थामा बेतन कर्णाली, बिजुली बेचेर दैनिक ३ करोड कमाउने, आईपीओ पनि निकाल्ने

काठमाडौं । बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको चरणमा प्रवेश गर्ने तयारीमा छ । ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्नु अघि गरिने सम्पूर्ण कार्य सकेर निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । बेतन कर्णाली जलविद्युत आयोजनाका परियोजना प्रबन्धक उपेन्द्र न्यौपानेका अनुसार प्रि–कन्स्ट्रक्सका सबै काम भइसकेका छन् । उनका अनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को कार्य पनि अन्तिम चरणमा पुगेको छ । कम्पनीका अनुसार पश्चिम सुर्खेत र अछाम जिल्लाको सीमानामा बन्ने अर्धजलाशययुक्त जलविद्युत आयोजना अब ‘रेडी टु गो’ अवस्थामा छ । अब केही महिनापछि निर्माणको चरणमा प्रवेश गर्नेछ । ‘आयोजनाको डीपीआर पूरा भइसकेको छ, पूर्वाधार विकासका काम भइसकेका छन्, क्याम्प हाउस बनिसकेका छन्, पहुँच मार्ग पनि बनिरहेको छ, पीपीएको प्रक्रिया भइरहेको छ, परामर्शदार्ता छनोट गर्ने काम पनि भइरहेको छ, जग्गा अधिग्रहणको काम पनि भइसकेको छ, एक वर्षभित्रै निर्माण प्रक्रियामा जान्छ,’ उनले भने । परियोजनाका अनुसार ८९ मिटर अग्लो आयोजनाका ड्याम (बाँध) सुर्खेतको चौकुने र अछामको ढकारीका वडा नं. ६ अन्तर्गत मालुमेलातर्फ बन्दैछन् । त्यसबाट ८/८ मिटर डायमिटरका तीन वटा सुरुङ बनाइनेछ । सुर्खेत जिल्लाको चौकुने गाविसस्थित बेतान भन्ने स्थानमा निर्माण गर्न लागिएको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणकर्ता बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीको कुल लगानी ८८ अर्ब अनुमान गरिएको छ । कम्पनीको अधिकृत पूँजी २० अर्ब र जारी पूँजी १० अर्ब रुपैयाँ छ । कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चकयर्ताको कुल ४० प्रतिशत सेयर स्वामित्व छ । यस्तै कर्मचारी सञ्चयकोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनीको १० प्रतिशत र बाँकी २५ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा र अति विपन्न परिवारको सेयर स्वामित्व रहनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री (पीपीए)को तयारी गरिरहेको छ । आयोजनाको काम निर्माण भइसकेको पाँच वर्षमा निर्माण सक्ने लक्ष्य छ । आयोजना निर्माण भइसकेपछि बिजुली बेचेर दैनिक ३ करोड रुपैयाँ कमाउने लक्ष्य कम्पनीको छ ।

संसदीय समितिले सिसिटिभीको फरेन्सीक फुटेज हेर्यो, एमाले सांसद भन्छन् : कुनै प्रमाण भेटिएन

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गरिरहेको संसदीय समितिले प्रहरी मार्फत प्राप्त सीसीटिभी फुटेजको फरेन्सिक रिपोर्ट आज बिहान हेरेको छ । तर समितिले हेरेको रिपोर्टमा बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको प्रवेश गरेको कुनै प्रमाण नदेखिएको समितिका एकजना सदस्यले विकासन्यूजलाई बताए । ‘रिपोर्ट त हेर्यौं, तर, कुनै प्रमाण देखिएन,’ उनले भने, त्यहाँ छ भन्न खोजिएको छ, तर छैन, वास्तवमा देखिने गरेर छैन ।’ फोरेन्सिक रिपोर्ट प्राविधिक भएकाले त्यसको विषयमा स्पष्ट हुन समितिले विधि विज्ञान प्रयोगशालाका विज्ञलाई छलफलका लागि बोलाउने भएको छ । सोही अनुसार समितिको बैठक पुनः दिउसो ४ बजे बोलाइएको छ । बैठकमा क–कसलाई बोलाउने भन्ने जिम्मेवारी समितिलाई अध्यक्षलाई दिइएको सहभागी सदस्यले विकासन्युजलाई बताए । ‘दिउँसो ४ बजे बस्ने कुरा छ, क–कसलाई बोलाउने भन्ने जिम्मेवारी अध्यक्षलाई दिएका छौं,’ उनले भने । प्रहरीको फरेन्सीक रिपोर्टमा पनि प्रमाण नभेटिने बनाउन खोजिएको समितिमा सदस्य रहेका एमाले सांसदको भनाइ छ ।

ड्रागन खेतीबाट बितेर गएका पतिको सपना पूरा गर्दै पद्मा रावत

कर्णाली । घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि हुँदैन । त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भई हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा अस्थायी रुपमा बस्दै आएकी पद्मा रावतको जीवनमा प¥यो । विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको कोरोना रोगका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु प¥यो । विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमूना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुगे । त्यतिबेला भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा कोरोना व्यापकरुपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि बन्दाबन्दी गरिएको थियो । बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उनलाई कोरोना सङ्क्रमण देखियो । ‘कोरोना सङ्क्रमण देखिएपछि उहाँ आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभएको थियो । त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन ।’ पद्माले भनिन्, ‘दुर्भाग्यः अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो ।’ बीरबहादुरको निधनले परिवारको भरोसाको खम्बा ढल्यो । पति वियोगले उनलाई केही समय सम्हालिन गाहे भयो । असह्य पीडाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले । पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो । तरपनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उनलाई । पतिले लाखौं ऋण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो । उनको विछोडको पीडा एकातिर छँदैछ, अर्कोतिर त्यो ऋणको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उहाँको पतिको जीवनको सपना थियो । पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेशमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो । झनै कोरोना रोगले मृत्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरु चाहेर पनि भेट्न मान्दैनथे । पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो, रावतको परिवारलाई । त्यो बेला कोरोना रोग र त्यसबाट मृत्युको खबर सुन्नेहरु डरले नजिक नआएरै भाग्थे । कोभिड–१९ रोग लागेको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो । समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो । त्यसबेला उनले मृतक पतिको सत्गद् आफ्नो संस्कार अनुसार पनि गर्न पाइनन् । पतिको अवसानको अन्तिम क्षण त्यो मृत भौतिक अनुहार हेर्न नपाएरै टाढैबाट हात हल्लाएर विदाई गर्नुप¥यो । ‘पीडा र आँसुको आहालबाट तङ्ग्रिन गाहे त भयो नै । तथापि संसारलाई हेरें, अनि चित्त बुझाउँदै शोकलाई शक्तिमा बदलेर पतिको सपनालाई पूरा गर्ने दृढ सङ्कल्प मनमनै गरें,’ पद्माले भनिन्, ‘छोरा छोरी साथमै छन् । अब धेरै बिलौंना गरेर बाँकी जीवन चल्दैन भन्ने लाग्यो र त्यस दिनदेखि उहाँले बनाएको बाटोमा हिँड्न सुरु गरें ।’ दिवङ्गत बुढाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा करिब ३० कट्ठा क्षेत्रफलको जग्गा लिजमा लिएर ड्रागन फ्रुटको बिरुवा रोप्नका लागि ६३४ सिमेन्टको खम्बा ठड्याइसकेका थिए । विसं २०७८ वैशाख पहिलो सातासम्म करिब ८५ प्रतिशत काम भइसकेको थियो । पतिको निधनपछि फर्म सञ्चालकको जिम्मेवारीले ड्रागनका बिरुवा भने पद्माले रोपिन् । एउटा खम्बामा चारवटाको दरले रोप्दा ६३४ खम्बामा करिब दुई हजार ६०० ड्रागनको बिरुवा लगाइएको उनले बताइन् । उनका अनुसार बिरुवा लगाउँदा कसरी फल्छ र यसको गोडमेल कसरी गर्नुपर्दछ भन्ने त्यति सुझबुझ थिएन । प्राविधिक ज्ञान, आर्थिक अभाव र जनशक्ति व्यवस्थापन विना अन्धाधुन्दा खेती सुरु गरेको उनले बताइन् । पद्माले भनिन्, ‘यो कस्तो ठाउँमा बढी उत्पादन हुन्छ ? कति पानी चाहिन्छ ? काँटछाँट कसरी गर्ने ? कति पछि र कस्तो फल दिन्छ ? भन्ने कुराको हामीलाई त्यति ज्ञान नै थिएन । यो त उहाँलाई मात्र थाहा थियो ।’ बीरबहादुरले भने दाङ, चितवनलगायतका नेपालका विभिन्न ठाउँको ड्रागन फ्रुट खेतीको प्राविधिक र वातावरणीय पक्षको ज्ञान लिएर भारतको गुजरातबाट यसको बिरुवा ल्याएका थिए । त्यो प्राविधिक र वातावरणीय ज्ञान पद्मालाई जानकारी नहुँदै पतिको मृत्यु हुँदा खेती कसरी सुरु गर्ने भन्ने भेउ पाउन गाह्रो भयो । खेती सुरु गरेदेखि अहिलेसम्म ७० लाख बजेट लगानी भइसकेको पद्माले बताइन् । उनका अनुसार कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग लिएको छैन । केही आफ्नो र धेरै ऋणकै भरमा लगानी गरेर ड्रागन फ्रुट खेतीलाई यो ठाउँसम्म पु¥याइएको छ । हेल्भटासले भने सिँचाइमा सहयोग गरेको थियो । मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले करिब ३० कट्ठामा खेती गरिरहेको छ । वार्षिक तीन लाख भाडा तिर्ने गरी लिजमा लिएको उक्त जग्गा १५ वर्षका लागि सम्झौता गरिएको र हरेक वर्ष १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख गरिएको उनले बताइन् । ड्रागनको फल बजार जान थालेपछि भने पद्माको परिवारमा खुशी छाउन थालेको छ । उनी भन्छिन्, ‘प्रतिकेजी ८०० को मूल्यमा फ्रुट बजारमा बिक्री भइरहेको छ । यो बालबालिकाले आइसक्रिम जस्तो मानेर बढी खाने भएकाले बजारमा माग निकै छ तर हामीले पु¥याउन सकिरहेका छैनौंँ । अहिलेसम्म दुई क्विन्टल जति बिक्री गरिसक्यौंँ ।’ पद्मालाई १७ वर्षीय छोरी सपना बुढाले ठूलो सहयोग गर्दै आएकी छिने । एसइई नतिजाको पर्खाइमा बसेकी सपनाले बुबाको सपना पूरा गर्नेमा आफ्नो पनि हिस्सा रहेको बताइन् । ‘सायद बाबाले आफ्नो सपना पूरा गर्न मेरो नाम पनि सपना राख्नुभएको थियो’, उनले भनिन्, ‘त्यसैले यही खेतीलाई नमूना बनाएर बाबाको सपना पूरा गर्छु ।’ सपनाले आमासँग काम गर्दै यो खेतीका बारेमा धेरै सिकेको बताइन् । उनका अनुसार एउटा पिलरमा लगाइएको बिरुवाबाट तीन केजीसम्म फ्रुट फल्ने गर्छ र महिनामा दुई लट दिने यो फल जेठदेखि असोजसम्म फल दिन्छ । यस हिसाबले उनीहरुले सामान्यतया एक महिनामा तीन हजार ६०० र पाँच महिनामा १८ हजार केजी ड्रागन फ्रुट उत्पादन हुन्छ । फ्रुट उत्पादनसँगै ड्रागनको बेर्ना पनि फर्मले उत्पादन गरेर २०० मा बिक्री गर्दै आएको छ । आफूले बुझेअनुसार एक पटक लगाएको ड्रागनको बिरुवाले २० देखि ३० वर्षसम्म फल दिने सपनाले बताइन् । विगतमा कृषिबारे कुनै ध्यान नभएपनि एसईईको नतिजापछि ड्रागन फ्रुट खेती गर्न सहयोग पुग्ने प्राविधिक विषय लिएर उच्च शिक्षा पढ्ने लक्ष्य राखेको उनले जनाइन् । ड्रागन फ्रुट बिक्रीले बुढा परिवारलाई पछिल्लो समयमा घर खर्च चलाउन, बालबालिकाको पढ्न सहयोग पुगेको छ । अब भने आम्दानी बढेर यो खेतीका लागि लगानी गरिएको ऋण तिर्न मद्दत पुग्ने उनीहरुले अपेक्षा गरेका छन् । कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले एकल महिलाको प्रयासले गरिएको खेती वर्णन गर्न लायककै भएको बताए । उनले भने, ‘फर्मको उत्पादन र विकास यही रफ्तारमा गयो भने यसले आम्दानी राम्रो दिने देखिन्छ । वार्षिक छ लाख आम्दानी भन्दा कम हुँदैन ।’ उनले मालिका ड्रागन फ्रुट फर्मलाई ८० हजारसहित एकहाते ट्रयाक्टर पनि सहयोग गरिएको बताए । निर्देशक रोकायका अनुसार पद्मा रावतसहित कर्णाली प्रदेशमा अहिले आठ हेक्टर अर्थात पाँच विगाहा क्षेत्रफल जमीनमा ड्रागन फ्रुट खेती भइरहेको छ । ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हुनसक्छ । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रित हुन्छ । यसको काण्ड कमजोर हुने भएकाले खम्बा वा अन्य चिजको सहारा आवश्यक पर्दछ । कर्णाली प्रदेशमै बिना कुनै सहयोगमा एकल महिला पद्मा बुढाको एक प्रयासमा गरेको ड्रागन फ्रुट खेती दुई साताअघि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले अवलोकनको साथै उद्घाटन गरे । त्यहाँ पुगेका मन्त्री शाहीले एकल महिलाको एकल प्रयासले भएको सफलताको उच्च प्रशंसा गरे । ‘कृषिका माध्यमबाट कर्णालीको अर्थतन्त्र र आत्मनिर्भरता बढाउन योगदान दिने कृषि व्यवसायीहरुमा रावत एक उदाहरणीय पात्र हुन्,’ उनले भने, ‘सरकारले व्यावसायिक खेती गरेर कर्णाली प्रदेशलाई माथि उठाउन सहयोग पु¥याउने कृषकहरुलाई विशेष प्रोत्साहन दिन्छ ।’ मन्त्री शाहीले स्वाभिमानी र पौरखी व्यक्तिहरुका कारण कृषि क्षेत्रको व्यावसायिकता बढ्ने जनाउँदै फर्मका सञ्चालक रावतलाई ड्रागन फ्रुट उत्पादनपछि बिक्रीमा समस्या हुन नदिने आश्वासन दिए । उनका अनुसार बिक्री वितरणमा समस्या भएमा प्रदेश सरकारले सहजीकरण गरिदिने छ । काम गर्दै सिकेको ज्ञान र बाध्यात्मक रुपले थपिएको जिम्मेवारीले गरेको खेती भएकाले व्यावसायिक बन्न केही समय लाग्ने उनको बुझाइ छ । ‘पूर्वमन्त्री तथा ड्रागन व्यवसायी लोकेन्द्र विष्ट मगरले दाङमा गरेको ड्रागन फ्रुट खेतीको अवलोकन गरियो,’ उनले भने, ‘त्यहाँको ड्रागन फ्रुट सेतो रङको रहेछ । दाना भने ठूलो रहेछ ।’ उक्त खेती अवलोकन गर्न र त्यहाँको अनुभव लिन शुल्क तिर्नु परेको क्षणबारे सुनाउँदै उनले आफू व्यावसायिक बन्न नसकेको अनुभूति प्रकट गरे । ड्रागन फ्रुट खेतीको वरिपरि बलियो बार नहुँदा चोरहरुले फल चोर्न थालेको उनले दुखेसो पोखे । उनका अनुसार कर्णाली प्रदेश सरकारले चालु आव २०७९/८० मा सिँचाइका लागि एउटा बोरिङ खन्दिने वचन दिएको छ । रासस

आइएमई पेबाट उडान टिकट काट्दा क्यासब्याकसँगै बोनस पनि पाइने

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्धित ‘आइएमई पे’ ले हवाई उडान टिकटमा पुनः बोनस अफर ल्याएको छ । आईएमई पेले साउन ४ गतेदेखि लागू हुने गरी उक्त अफर ल्याएको हो । यससँगै, आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २ सय रुपैयाँ बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्नेछन् । आइएमई पेको बारेमाः नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।