विकासन्युज

मदिराको आयातमा कडाई गरेपछि बजारमा डुब्लिकेट मदिराको बिगबिगी

काठमाडौं । सरकारले औपचारिक रुपमा मदिराको आयातमा प्रतिवन्ध लगाएपछि बजारमा डुब्लिकेट मदिराको बिगबिगी बढेको जनाइएको छ । नेपाल मदिरा पैठारी संघले आज एक विज्ञप्ति निकाल्दै बजारमा अन्तर्राष्ट्रिय ब्राण्डका मदिराहरुको बिगबिगी देखिन थालेको बताएको हो । बजारमा देखिएको डुब्लिकेट मदिराले आम जनस्वास्थ्यमा प्रतिकुल असर पार्नसक्ने संघले जनाएको छ । संघका अनुसार भारतमा मदिरामा भएको अधिकतम मूल्य र नेपालमा पाइने मूल्यमा ठुलो अन्तर भएकाले भारतीय बजारबाट ठुलो परिमाणमा मदिरा तस्करी हुन लागेको छ । साथै नेपालमा वार्षिक रुपमा सिल बन्द भएका मदिरा १ करोड २० लाख अमेरीकी डलर बराबरको मात्रै हुने गरेको र सो अयात भनेको नेपालबाट बाहिरिने कूल विदेशी मुद्राको जम्मा ०.१० प्रतिशत मात्रै हो । १ करोड २० लाख अमेरीकी डलर खर्च गरेर मदिरा आयात गर्दा सरकारले ३ अर्ब ३० करोड बराबरको राजस्व आम्दानी गर्ने गरेको संघको दाबी रहेको छ । नेपालमा घुम्न आउने पर्यटकहरुले अन्तर्राष्ट्रिय ब्राण्डका मदिराहरु नै उपभोग गर्न खोज्ने र अहिले सरकारले लगाएको प्रतिवन्धका कारण पर्यटन क्षेत्रलाई नै नकरात्मक प्रभाव पार्न खोजेको संघको भनाइ रहेको छ । साथै संघले सरकारले मदिरा आयातमा लगाएको प्रतिवन्ध छिट्टै नै नहटाए यसले प्रतिकुल प्रभाव पार्ने कुरा आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । मदिरामा लगाएको आयात प्रतिवन्धका कारण होटल, रेष्टुरेन्ट र बारहरुले आफ्नो आम्दानी क्षमता गुमाउँदै गएको र कामदारहरु हटाउन पर्ने अवस्था सिर्जना हुनसक्ने बताउँदै संघले त्यस्तो परिस्थिति आएमा व्यापक बेरोजगारीको स्थिति पैदा हुने जनाएको छ । अहिले सरकारले कार, मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिवन्ध श्रावण १ गतेबाट ४५ दिनका लागि थप गरेको छ । सरकारले लगाएको आयात प्रतिवन्धका कारण सम्पुर्ण मदिरा व्यवसाय क्षेत्र प्रभावित हुन पुगेको हो।      

प्रिमियममा आईपीओ जारी गर्दै एक दर्जन कम्पनी, कुनको मूल्य कति ?

काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनी धितोपत्र बजारमा आकर्षित हुन थालेका छन् । त्यसमा पनि अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम थपेर बजारमा आईपीओ जारी गर्ने कम्पनीको संख्या तुलनात्मक रूपमा बढ्दो छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा हालसम्म विभिन्न ३१ कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति मागेका छन् । जसमा विभिन्न ३ कम्पनीले प्रिमियमा आईपीओ निष्काशन गर्ने भएका छन् । अधिकांश कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारी गरेपनि सेवोनमा भने ३ कम्पनीले मात्रै अनुमति मागेका हुन् । सर्वाेत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग, घोराही सिमेन्ट, नेपाल विद्युत प्राधिकरण, सोनापुर मिनरल्स एण्ड आयल, हिमालयन रि इन्स्योरेन्स, कान्तिपुर टेलिभिजन नेटवर्क प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा छन् । बीमा क्षेत्रका आईपीओ निष्काशन गर्न बाँकी रहेका विभिन्न ५ कम्पनी पनि प्रियिमयमा निष्काशन गर्ने तयारीमा छन् । बीमा कम्पनीहरुमा आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफको आईपीओ आउन बाँकी छ । रिलायबल नेपाल लाइफले भने प्रिमियममा आईपीओ निष्काशन गर्नका लागि अनुमति माग्दै सेवोनमा आवेदन दिइसकेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँमा सेयर निष्काशनको अनुमति मागेको छ । यदि बोर्डले अनुमति दियो भने कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर निष्कानश गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । त्यस्तै, सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न असार २८ गते सेवोनमा आवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि २४ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा योग्य संस्थापक लगानीकर्ताहरुले न्यूनतम ५०१ रुपैयाँ देखि ७५१ रुपैयाँ ५० पैसा मूल्य भित्र रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । यता रिलायन्स स्पीनिङ्गले पनि बुक बिल्डिङ्ग मार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गर्न सेवोनसँग अनुमति मागेको छ । यदि कम्पनीले अनुमति पायो भने योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता न्युनतम ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म मूल्य भित्रर रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । त्यस्तै, घोराही सिमेन्टले पनि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने तयारी गरिहरेको छ । कम्पनीले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीको उक्त सेयरको प्रिमियम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ । कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्तालाई प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरमा निष्काशन गर्नेछ । तर कम्पनीले हालसम्म सेवोनको अनुमतिका लागि आवेदन दिएको छैन् । नेपाल विद्युत प्राधिकरणले पनि प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्राधिकरणलाई प्रिमियममा सेयर जारी गर्ने व्यवस्था गरेको थियो । सम्भवतः प्राधिकरणको चुक्ता पूँजीको ३० प्रतिशत सेयर निष्काशन गर्ने तयारी छ । सोनापुर मिनरल्स एण्ड आयलले पनि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २ करोड कित्ता सेयर निष्काशन गर्ने निर्णय गरेको छ । दाङ जिल्लामा अवस्थित सोनापुर पश्चिम नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । त्यस्तै, हालै मात्र सञ्चालमा आएको हिमालयन रि इन्स्योरेन्स कम्पनीले पनि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभाले नै प्रिमियम मूल्यमा सेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । त्यस्तै, कान्तिपुर टेलिभिजन नेटवर्कले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले १ सय रुपयैयाँ अंकित मूल्य दरमा प्रिमियम मूल्य थप गरेर ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । हालसम्म अरुण भ्याली, शिवम् सिमेन्ट, रुरु जलविद्युत परियोजना लगायतका कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरिसकेका छन् भने विभिन्न कम्पनीले प्रिमियम मूल्यमा एफपीओ पनि जारी गरिसकेका छन् ।

सांसदलाई मास्क लगाउन सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा मास्क लगाउन आग्रह गरेका हुन् । ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु,’ उनले भने । सोमबार मात्रै नेपालमा ५६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ जसमा एक जनाको मृत्यु भएको छ ।

डेनमार्क, स्पेन र रुसका लागि राजदूत नियुक्त

काठमाडौं । डेनमार्क, स्पेन र रुसका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त गरेकी हुन् । भण्डारी डेनमार्कका लागि नेपाली राजदूतमा रामस्वार्थ राय, स्पेनका लागि डा। शर्मिला पराजुली ९ढकाल० र रुसी महासंघका लागि मिलनराज तुलाधारलाई नियुक्त गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले भारतका लागि आवासीय राजदूत डा। शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत राजदूत नियुक्त गरिएको जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा मिस नेपाल प्रियंका रानी जोशी 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा मिस नेपाल प्रियंका रानी जोशी नियुक्त भएकी छिन् । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजरबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बेसडरमा जोशीलाई नियुक्ती गरिएको बताए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

पेरुमा मंकीपक्स समुदायस्तरमै फैलियो

लिमा । पेरुमा मंकीपक्सको सङ्क्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन् । उनले पेरुमा अहिलेसम्म दुई सय ३ जनामा यो सङ्क्रमण पाइएको भन्दै यो सङ्क्रमण समुदाय स्तरमा नै फैलिएको पाइएको बताएका छन् । यहाँ देखिएका यी सङ्क्रमितहरु अधिकांश पेरुको राजधानी शहर लिमाका छन् । त्यस्तै लिमाका छिमेकी प्रान्त कल्लाओका रहेका सुआरेजले जनाएका छन् । पेरुको सरकारले मंकीपक्सको परीक्षणका लागि अलग्गै ल्याबको स्थापना गरेको छ र यसको सङ्क्रमणसम्बन्धी सूचना दिने पनि अलग्गै संयन्त्र राखिएको छ । सो संयन्त्रअनुरुप मंकीपक्ससम्बन्धी परीक्षणको नतिजा २४ घन्टा भित्रै दिने गरिएको उनले बताएका छन् । यो सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरुलाई बताएअनुसार ती सङ्क्रमितहरुमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए ।

बेष्ट फाइनान्सको गलकोट शाखाबाट बैंकिङ कारोबार शुरु

काठमाडौंं । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले बागलुङको गलकोटमा शाखा बिस्तार गरी बैंकिङ कारोबार शुभारम्भ गरेको छ । सबै प्रकारका आधुनिक वित्तिय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तिय सेवा प्रदान गरिने फाइनान्सले बताएको छ । गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६ औं शाखा हो ।

करारमा आफ्ना मान्छे राखेकाे भन्दै १० दिनदेखि नगरपालिकाको काम ठप्प

काठमाडौं । स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरुले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ । सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरु गत १० दिन यता निर्वाचित जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरुलाई निकालेको भन्दै आन्दोलन गरेका हुन् । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिँदा नगरसहित वडाको कामकाज प्रभावित बनेको छ । कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निस्कासनमा परेका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । निस्कासनमा परेका कर्मचारीहरुले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन् । नगरपालिकाका मेयर केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यक नपरेकोले हटाएको बताए । उनले नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यत्तिका मात्रामा कर्मचारी राख्न नसक्ने बताए । करार म्याद थप नहुने दाबी गरे । इनरुवा नगरपालिकाले सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ । विवादको समाधानका लागि मेयर भण्डारीले भने २० गतेसम्मको समय माग गरेका छन् ।